Logo

काठमाण्डौ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च, के गर्दैछ सरकार ?



असार २८, काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमित पुष्टि हुनेको संख्यामा कमि आएको छ । सरकारले परिक्षणको दायरा बढाउन नसक्दा भएका संक्रमितहरु पनि नभेटिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । अर्कोतिर देशैभर लकडाउन खुकुलो बनाइदा लापरबाही पनि बढिरहेको छ ।

सरकारले असार १५ गतदेखि कोरोना भाइरसको पिसिआर परिक्षण दैनिक १० हजारका दरले गर्ने घोषणा गरेको थियो । तर उक्त घोषणाअनुसार परिक्षणको संख्या बढाउन सकेन । बरु संक्रमितको संख्या तीब्र गतिमा बढ्दा पनि कुनै बेला दैनिक ७ हजार पिसिआर परिक्षण भएकोमा अहिले ४ हजारको हाराहारीमा भइरहेको छ । अर्कोतिर लकडाउन खुकुलो भएसँगै भिडभाड बढ्दा जोखिम थप बढेको छ । देशैभरका मुख्य सहरमा मानिसको भिड बढेको छ भने काठमाण्डौ उपत्यका भित्रिने नाकाहरु अस्तव्यस्त छन् ।

पछिलो समय साना देखि ठुला सपिङ मलहरु संञ्चालन भएका छन । तर सरकारले भने जसरी मापदण्ड पूरा भएको छैन । सामाजिक दुरी पनि कायम गरिएको छैन । आधारभूत मापदण्ड पालना गर्नुपर्ने सर्वसाधारण पनि सरकारलाई नै दोष दिएर उम्किने गरेका छन् । कोरोना संक्रमणको त्रास सबैमा छ, तर सचेतना अपनाउन भने कोही पनि चाहदैनन् ।

त्यसो त सबैको अवस्था उस्तै छैन । श्रमिक र मजदुर वर्गमा पर्नेहरु काम गर्न नपाउँदा दैनिक गुजारा टार्नै नसक्ने अवस्थामा पुगेको भन्दै बाध्य भएर सार्वजनिक स्थानमा निस्कनुपरेको गुनासो गर्छन् ।

यस्तो अवस्थामा नेपालमा कोरोना संक्रमण अझै धेरै मानिसमा फैलिनसक्ने चिन्ता जनस्वास्थ्यविदहरुले गरेका छन् । उपत्यका आउने नाका मात्र नभएर बिदेशबाट आएका नागरिकको उचित व्यवस्थापन सरकारले गर्न नसक्दा कोरोनाको खतरा झन बढेको छ । पछिलो समय उपत्यकामा १० प्रतिशतले परिक्षणको संख्या घट्दै गएको छ ।

संक्रमितको संख्या बढेसँगै परिक्षणको संख्या पनि बढाउनुपर्नेमा सरकारले त्यसो नगरेको जनस्वास्थयका जानकार डा. समिरमणि दीक्षित बताउँछन् । उनले उपत्यकामा मात्रै दैनिक १० देखि १५ हजारको संख्यामा परिक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

पछिल्ला दिनमा सरकारले कोरोना परिक्षणको संख्या घटाएको छ । जसका कारण संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्लो एक हप्तामा दिनप्रतिदिन संक्रमितको संख्या घटिरहेको छ । तर सरकारले परिक्षणको संख्या बढाउने हो भने संक्रमित पनि धेरै भेटिने विज्ञहरुको दावी छ ।

सरकारको जवाफ :

पछिल्ला दिनमा काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ । बाहिरि जिल्लामा संक्रमण घट्दै गए पनि उपत्यकामा बढ्नुले खतरा देखिएको सरकारको ठहर छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले काठमाण्डौमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नमुना सङ्कलनलाई तिव्रता दिइएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सवै नमुना संकलनको नजिता नआएकाले काठमाण्डौमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको पुष्टि हुन बाँकी रहेको बताए ।

महाशाखाका निर्देशक पाण्डेले कोरोना सङ्क्रमणको दर घट्दै गएको र काठमाण्डौ उपत्यकामा बढ्दै गएको आशङ्कामा १२ वटा ठाउँबाट नमुना सङ्कलन गरिएको जानकारी दिए । अहिलेसम्म तीन हजार जनाको नमुना परीक्षण गर्दा जम्मा तीन जना व्यक्तिमा सङ्क्रमण देखिएको, उनीहरु अन्य कतैबाट नआएको पाइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

डा. पाण्डेले नेपालमा कोरोना सङ्क्रमितमध्ये शून्य दशलमव ३ प्रतिशतमा मात्रै लक्षण देखिएको जानकारी पनि दिए ।



प्रतिक्रिया दिनुहोस्