Logo

ओलीको राजीनामा मागेका प्रचण्ड पछि हटेकै हुन् ?



काठमाडौं, २८ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवन पुगेर हिजो र आज महत्वपूर्ण अभिव्यक्ति दिए । उनले हिजो माडी पुगेर पार्टी एकताका लागि अन्तिम समयसम्म पहल गर्ने बताए । आज उनले सबै मिलेर नाकाबन्दीको सामना गरेको र नक्शा जारी गरेको स्मरण गराए । उनले पार्टीभित्र र बाहिर कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी भन्ने नभएको तर्क गरे ।

प्रचण्डको स्पष्ट संकेत प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ थियो । ओलीले नयाँ नक्शा जारी गरेको जस एकलौटी लिन खोजेको र राजीनामा माग्नेहरुलाई राष्ट्रघाती देखाउन खोजेको विषय आइरहँदा प्रचण्डको भनाई आएको हो । प्रचण्डले सडकमा ओलीको समर्थनमा सडकमा केही कार्यकर्ता निस्किएको घटनाप्रति संकेत गर्दै जिन्दावाद र मुर्दावाद भन्ने के हो ? भनी प्रश्न गरे ।

आफू र ओलीलाई एउटै शक्तिले उचाल्न खोजेको बताए । त्यो शक्ति को हो स्पष्ट नपारेपनि यसमा पार्टी फुटाउने खेल रहेको उनको भनाई थियो । यसरी प्रचण्डले ओली हटाउन तत्काल कडा कदम नचाल्ने संकेत गरे ।

प्रचण्डले ओली पक्षधरप्रति कटाक्ष गरे । उनले पार्टी एकतामा बारम्बार जोड दिए । दुवै दिनको कार्यक्रममा बोल्दा आफूलाई एकताको पक्षधरका रुपमा प्रस्तुत गरिरहे । आफूले कम्युनिस्ट पार्टीको एकताका लागि त्याग गरेको समेत दोहोर्याए । अब कम्युनिस्ट पार्टीमा पुच्छर झुण्डन हुँदैन समेत भनेको स्मरण गराए । उनले एकताको विषयमा बारम्बार जोड दिइरहँदा नेकपाभित्र ओलीको राजीनामा माग्ने समुह शिथिल हुँदै गएका छन् ।

ओलीले देशवासीका नाममा सम्बोधन गर्दै महामारीसँग जुध्न र बाढीपहिरोको उद्धारमा जुट्न भनेकै भोलिपल्ट प्रचण्ड बाढी नीरिक्षण गर्न चितवन पुगेका थिए । यसलाई अर्थपूर्ण मानिएको छ । ओलीको राजीनामा मागिएपछि स्थायी कमिटी बैठक बारम्बार स्थगित भएको छ । २ साउनका लागि सारिएको बैठक हुने नहुनेमा अझै अन्यौल छ । अर्कोतर्फ ओलीविरोधी समुह विस्तारै कमजोर भएको आँकलन गरिदैछ । यति हुँदाहुँदै प्रचण्डले ओलीको राजीनामा मागिएपनि अब त्यो विषय पुरानो भइसकेको भनेका छैनन् । यद्यपि अहिलेको गतिविधिले ओलीको राजीनामाबाट प्रचण्ड पछि हटेको सन्देश प्रवाह भइसकेको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्