Logo

भारतीय समाचार च्यानलमाथिको बन्देज तत्काल नहट्ने, सरकारद्वारा भारतलाई औपचारिक पत्र



काठमाडौं, २९ असार । भारतीय समाचार च्यानलहरुमाथिको बन्देज तत्काल नहट्ने भएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्काल बन्देज नहट्ने बताएका हुन् ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा आइतबार उनले भारतीय न्युज च्यानलहरु नसुध्रिएसम्म र परिस्थिति अनुकुल नभएसम्म बन्देज कायम राख्न आग्रह गरिएको जानकारी दिएका हुन् । राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्देज लगाइएको उनले बताए ।

भारतको जी न्युजलगायत समाचार च्यानलहरुले नेपालबारे गलत सामाग्री प्रसारण गरेका थिए । जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ याङ्कीलाई जोडेर आपत्तीजनक सामाग्री निर्माण गरी प्रसारण गरेको थियो । यसको सर्वत्र आलोचना भएको थियो ।

यसैगरी सरकारले भारत सरकारलाई औपचारिक पत्र लेखी भारतीय सञ्चारमाध्यमको गतिविधिबारे आपत्ती जनाएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दुतावासमार्फत् भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेको हो । पत्रमा भारतीय सञ्चारमाध्यममा नेपाली रानजीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैनिक सामाग्री प्रसारण र प्रकाशनप्रति आपत्ती जनाइएको छ ।

पत्रमा भनिएको छ, ‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ, नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।’



प्रतिक्रिया दिनुहोस्