Logo

पहिरोमा परी वेपत्तालाई भोलिसम्ममा खोजिसक्छौं- जीवनप्रसाद आचार्य, प्रजिअ, संखुवासभा



काठमाडौं, २९ असार । संखुवासभामा पहिरोले ठुलो जनधनको क्षति भएको छ । अहिले पनि त्यहाँ उद्धार कार्य जारी छ । वेपत्ताको खोजी भइरहेको छ । यसै सेरोफेरोमा रेडियो एनआरएनका लागि ऋषि धमलाले संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यसँग गरेको कुराकानीः
संखुवासभामा बाढीपहिरोको कसरी उद्धार भइरहेको छ ?
घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । उहाँहरुले बेपत्ता भएका मानिसहरुको खोजी तथा जोखिममा परेकाहरुको उद्दार गर्ने काम गरिरहनुभएको छ । अहिले जोखिममा परेका ८२ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको छ भने बेपत्ता भएकाको खोजी भइरहेको छ । उद्दारमा थप सहयोगका लागि जिल्ला सदरमुकामबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी ७० जनाको टिम घटनास्थलतर्फ केही पुगिसकेको र केही पुग्ने अवस्था छ ।
संखुवासभामा भीषण पहिरो गएको छ, अहिलेसम्म राजनीतिक पार्टीका नेताहरुबाट उद्दारमा सहयोग भएको छ कि छैन ?
अहिलेसम्म हामीलाई स्थानीय जनप्रतिनिधि र स्थानीय वासीले खोजी तथा उद्दारमा सहयोग गरिरहनुभएको छ । त्यस्तै राजनीतिक दलका प्रतिनिधिहरुले पनि उद्दारमा सहयोग समन्वय गरिरहेको अवस्था छ ।
मैले नेपाली कांग्रेसका नेता दीपक खड्कासँग कुराकानी गरेको थिएँ, उद्दारको लागि उहाँहरुको सहयोग छ कि छैन ?
उहाँबाट पनि एकदमै सहयोग र समर्थन भएको छ । सबै राजनीतिक पार्टीका नेता तथा प्रतिनिधिहरुले हामीहरुसँग समन्वय गरेर अहिलेको यो आपतकालीन घडीमा जोखिममा परेका संखुवासभावासीहरुलाई उद्दार, पुनस्र्थापना र व्यवस्थापन गर्न सकिन्छ भनेर जुटिरहनुभएको छ । त्यसैगरी शीर्ष नेताहरुले पनि चिन्ता र चासो व्यक्त गरिरहनुभएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरु उद्दारको लागि परिचालित हुनुपर्छ ?
घटनास्थलमा गाउँपालिकाका अध्यक्ष, वडाका प्रतिनिधिहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासँग सहकार्य गरेर जुटिरहनुभएको छ ।
संखुवासभाको कुरा गर्दा जनताहरुले खान पाएका छन् कि छैनन् ?
जुन ठाउँमा घटना घट्यो त्यसपछि उहाँहरुलाई २ घण्टाको दुरीमा स्थानन्तरण गरिएको छ । त्यहाँ जाँदा उहाँहरुले आफूसँग भएको र बोक्न मिल्ने केही खानेकुरा बोकेर जानुभएको छ । अब उहाँहरुको उद्दार, राहत र टेण्टको व्यवस्थापनको लागि हामीले मन्त्रालयमा समन्वय गरेर हेलिकप्टरबाट आवश्यक सामाग्रीहरु ल्याउन व्यवस्था गरेका थियौं । तर, मौसमको प्रतिकूलताका कारण ती सामाग्रीहरु हामीले घटनास्थल पु¥याउन सकिरहेका छैनौं । संभवतः आज मौसमले साथ लियो भने ती आवश्यक सामाग्रीहरु त्यहाँ पु¥याइने छ ।
उद्दारको लागि कति समय लाग्ला, बेपत्तालाई कहिलेसम्म फेला पर्न सक्नुहुन्छ ?
बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । नेपाली सेना र नेपाल प्रहरीले त्यसको खोजी कार्यलाई जारी राखेको छ । थप मद्दतका लागि हामीले सदरमुकामबाट पनि थप सुरक्षा बल पठाइएको छ । सकेसम्म एक दुई दिनभित्रै बेपत्ता भएकालाई फेला पार्न सफल हुनेछौं ।
संखुवासभाको स्थिति के छ बताउनुस् ?
अहिले पनि यहाँ सामान्य पानी परिरहेको छ । रातभरि पनि परिरहेको थियो । अहिलेसम्मको सूचना अनुसार हिजोको बाहेक अन्य ठाउँमा कुनै पहिरो गएको वा घटना घटेको छैन । त्यसकारण हिजोको त्यो घटनाबाहेक नयाँ घटना भएको जानकारी आएको छैन । र, हामी यहाँका विषयगत कार्यालयहरु, राजनीतिक दलका जनप्रतिनिधिहरु र कार्यकर्ताहरु हिजोको घटनास्थलमै लागेको अवस्था छ ।
उद्दार र खोजी कार्यमा सुरक्षाकर्मीहरुको सहयोग छ होइन ?
सुरक्षाकर्मीहरु एकदमै सक्रियताका साथ लागिरहनुभएको छ ।
नेपाली सेना पनि उद्दार र जोखी कार्यमा आइसकेको छ ?
नेपाली सेना केही घटनास्थल पुगिसकेको छ र केही थप बलको लागि त्यसतर्फ लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्