Logo

रातभर पानी पर्यो, जलमग्न भएको छ- कृष्णबहादुर कटवाल, प्रजिअ, महोत्तरी



काठमाडौं, २९ असार । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले रातभर पानी परेकाले केही जोखिम बढेको बताएका छन् । महोत्तरीमा कतिपय स्थानमा डुबान भएको जानकारी दिए । उनीसँग रेडियो एनआरएनका लागि ऋषि धमलाले यसै सेरोफेरोमा गरेको कुराकानीः
महोत्तरी जिल्लाको अवस्था केही ताजा अपडेट बताउनुस् त ?
यहाँ रातभरि नै पानी परेको छ । यहाँको सबैभन्दा समस्या भनेको रातु खोला हो । रातु खोलाको पानीको लेभल बढेको छ । तर, त्यस्तो औधी खतरामै चाहीं पुगिसकेको छैन ।
त्यसोभए महोत्तरी जिल्ला डुबानबाट खतरामुक्त छ ?
अहिलेसम्मलाई खतरा मुक्त नै भन्नुपर्छ ।
जलमग्न भएर समस्या भएको छैन ?
जलमग्न त भएको छ । समस्या पनि छ तर जनधनको क्षति नभइसकेकाले अहिले नै खतरा भन्न मिलेन । रातु खोलाको सतह योभन्दा बढ्यो भने जलमग्न हुन्छ । अहिलेसम्म जन, धन, चौपायमाथि क्षति नभएकाले खतरा मुक्त भनेका छौं । एक, दुईवटा घरमा सामान्य क्षति पुगेको छ । त्यसलाई व्यवस्थापन गर्नका लागि हामीले सम्बन्धित गाउँपालिका, नगरपालिका र वडा कार्यालयलाई भनिसकेका छौं । राहत र उद्दारको काम पनि भइरहेको छ ।
जलेश्वर बजारमै बाढी पस्दा पनि जन, धनको क्षति भएको छैन ?
बाढी जलेश्वर बजारमै पसेको छ । तर, त्यसले अहिलेसम्म क्षति पुर्याइसकेको छैन । तराईको कुरा गर्ने हो भने पोहोर पनि डुवान भएको हो । अहिले पनि डुवान नभएको होइन भनेको अहिले नै क्षति पुर्याइसकेको छैन । अब यो भन्दा बढी डुवान भयो भने खतरा उत्पन्न हुन्छ ।
त्यसोभए यस पटक मधेसमा बाढी, पहिरोको प्रभाव देखिएन ?
त्यसो भन्न खोजेको होइन । बाढी पहिरोको प्रकोप नै छैन भनेको होइन ।
विगतलाई हेरेर भन्नुपर्दा नि ?
अझै पनि बढ्ने सम्भावना छ नि । मैले त पोहोरको अवस्थालाई हेरेर भनेको हो । पोहोर यही बेलामा ढुंगा नै चलाउनुपर्ने अवस्था भएको थियो । अहिले डुंगा चलाउनुपर्ने अवस्था भइसकेको छैन भनिएको हो । तर, भोलि हुँदैन भन्ने सम्भावना छैन । डुवानको जोखिम त वर्षाभरि भइरहन्छ ।
त्यसोभए अहिलेसम्म डुवानकै कारण कोही पनि विस्थापित भएका छैनन् ?
अहिलेसम्ममा केही साना घरहरु ढलेका छन् । तिनीहरुको उद्दार र राहतको लागि हामीले सम्बन्धित गाउँपालिका र नगरपालिकालाई भनिसकेका छौं । अहिले नै हाहाकार भएको स्थिति छैन र त्यो सम्भावना टरेको पनि छैन ।
खतराको सम्भावना छ, राहत र उद्दारको लागि कस्तो गृहकार्य गर्दै हुनुहुन्छ ?
त्यसको लागि हाम्रो प्रतिकार्य योजना छ । त्यो बमोजिम हामीले हिजो पनि विपद् व्यवस्थापनको बैठक बसेका छौं । त्यसमा सम्बन्धित गाउँपालिका, नगरपालिका मेयरज्यू, अध्यक्षज्यू र वडाका प्रतिनिधिहरुलाई जहाँजहाँ समस्या भएको छ । त्यो ठाउँमा राहत, उद्दारको लागि जिल्ला प्रशासन, सुरक्षा निकायका को को जानुपर्ने के गर्दा छिटो समस्या समाधान गर्न सकिन्छ भनेर ब्यापक छलफल भएको छ । बिपद् परेका ठाउँमा खोजी, उद्दारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सतर्कताका साथ रहने छ । पुनःस्थापन र राहतको लागि सम्बन्धित गाउँपालिका, नगरपालिकाले सम्पूर्ण व्यवस्थापन गर्ने र ठाउँको खोजी गरेर उचाइ भएका ठाउँका स्कुलहरुमा लगेर राख्ने कुरा भएको छ । त्योसँगसँगै हामीले प्रत्येक प्रहरी बिटहरुमा खबर गर्ने त्यसपछि यहाँका स्थानीय एफएमहरुलगायत सञ्चारमाध्यमहरुलाई सूचनाको लागि सक्रिय बनाउने । त्यस्तै रातु खोलामा पानीको बहाब बढ्यो भने हाम्रो मापन केन्द्र छ, त्यसले बढेको जानकारी दिने । त्यो सँगै रातु खोलामा पानीको बहाब बढेको जानकारी जनस्तरमा पु¥याउने, सतर्क रहन आह्वान गर्ने । रातु खोलाको बाढी जलेश्वर आइपुग्न ३, ४ घण्टा लाग्छ त्यतिबेलासम्म सुरक्षित स्थानतिर लाग्ने । धन, जनको क्षति हुनबाट जोगाउन जनतालाई सूचना सम्प्रेषण गर्ने संयन्त्र हामीले तयार गरेका छौं ।
त्यसोभए महोत्तरी जिल्लामा अहिलेसम्म कुनै समस्या छैन भन्न सक्नुहुन्छ ?
समस्या छैन भन्न सकिँदैन, यहाँ समस्या छ । जस्तो अहिले रतुवारा भन्ने ठाउँमा जलेश्वरबाट बर्दिवास निस्किने भित्री बाटो छ । त्यो बाटो अहिले नै अबरुद्ध छ । त्यहाँ रातु खोलाले एउटा तटबन्दनलाई कटान गरेको छ । त्यो ठाउँमा अलिकति पानी घट्यो भने बोरामा बालुवा भरेर तटबन्द बनाउने जिम्मा हामीले सुरक्षाकर्मीलाई दिइसकेका छौं । सय जना सुरक्षाकर्मीले बोरामा बालुवा भरेर त्यो कटान भएको ठाउँमा हाल्ने कार्यक्रम छ । पानीको बहाब बढ्यो र कटान गरिरह्यो भने अरु क्षति पु¥याउँछ । अर्को बरुजा भन्ने ठाउँमा पनि रातुले सबै कटान गरेको छ । त्यसलाई व्यवस्थापन गर्न डोजरलाई स्टेनबाइ राखिएको छ । अहिले चाहीं पानी परिरहेको हुनाले काम थाल्न सकिएको छैन । योभन्दा पानी बढ्यो भने यहाँको स्थिति खतरा छ । त्यसकारण महोत्तरीमा समस्या छैन भन्न मिलेन ।



प्रतिक्रिया दिनुहोस्