Logo

‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन- ईश्वर पोखरेल, उपप्रधानमन्त्री



काठमाडौं, २९ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कसैको कर्मी कमजोरी देख्देवित्तिकै राजीनामा माग्नु सही नभएको तर्क गरेका छन् । उनले चुनावमा केपी शर्मा ओली अबको प्रधानमन्त्री भनेर भोट मागिएको स्मरण समेत गराए । उनले नेपालको राजनीतिमा भारत या चीन जस्ले हस्तक्षेप गरेपनि चुप नलाग्ने बताए । यीनै सेरोफेरोमा उपप्रधानमन्त्री पोखरेलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

अहिले सबैको ध्यान प्रधानमन्त्री केपी शर्मा ओलीतिर छ, उहाँको कार्यकालमा जनताले के पाए, कोभिड नियन्त्रणमा कति सफल हुनुभयो ?
सबैभन्दा पहिला केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सरकार परिवर्तन भएको थिएन, प्रणालीमा परिवर्तन भएको थियो । त्योसँग मिल्ने हिसाबले यसको आधार कार्य गर्नुपर्ने जरुरी थियो । त्यसमा मुलतः तीनवटा विषय थिए । परिवर्तित प्रणाली अनुरुप कानुनहरुलाई संगतिपूर्ण बनाउनुपर्ने थियो । संरचनाहरु बनाउनुपर्ने जरुरी थियो । र, त्यस अनुरुप नीति बनाउनुपर्ने थियो । त्यो आधार कार्य पहिलो काम हो । दोस्रो वर्ष त्यसमा उभिएर कामहरुको प्रारम्भ गरियो । र, तेस्रो वर्ष त्यो प्रारम्भ गरिएका कामहरुको प्रतिफल प्राप्त गर्ने हिसाबले अगाडि बढ्दै थियौं । त्यही बीचमा कोभिड संक्रमणको एउटा डरलाग्दो स्थिति आइलाग्यो । त्योसँग जुध्ने काम गर्दैछौं ।
नेकपाका शीर्ष नेताहरुले त प्रधानमन्त्रीले भनेजस्तो काम गर्न सक्नुभएन त्यसकारण उहाँले दुवै पद छोड्नुपर्छ भन्नुभएको छ, तपाईं के भन्नुहुन्छ ?
यसमा पद छोड्ने नछोड्ने भन्ने कुरा विधि, पद्धति र संगतिपूर्ण रुपमा आउनुपर्छ । कसैलाई त्यस्तो लाग्यो । अहिले हामी बैठकमा छलफल गरिरहेका छौं । त्यो छलफलमा सबै नेताहरुले त्यस्तो भन्नुभयो भन्ने त होइन । तर, केही नेताहरु भन्नु पनि भएको छ । केपी ओली नेकपा संसदीय दलको नेता भएर त्यसको नाताले प्रधानमन्त्री बन्नुभएको हो । अर्को आम निर्वाचनमा पनि पूर्व मेचीदेखि पश्चिमसम्म अबको प्रधानमन्त्री केपी ओली भनेर ब्यानर अगाडि सारेका हौं । अरु पनि नेताहरु हुनुहुन्थ्यो । उहाँहरु पनि चुनाव लड्नुभएको हो । शीर्ष नेताहरु पनि हुनुहुृन्छ । तर, एउटा तथ्य र वास्तविकता के हो भने ‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको हो । यो बिर्सन मिल्दैन । दोस्रो उहाँ संसदीय दलको नेता भएर प्रधानमन्त्री हुनुभएको हो । तेस्रो उहाँ प्रधानमन्त्री भएपछि के के काम भए भनेर मैले अगाडि बताइसकेको छु । यी आधारमा प्रधानमन्त्री बन्नुभएको व्यक्तिलाई अहिले छोड भन्नुमा के लजिक, के आधार त्यसैले यो एउटा आधार पुष्टि नभएको, औचित्यहिन र नैतिक हिसाबले पनि भन्न नसकिने कुरा हो ।
देशमा संकट भएको बेलामा सबैलाई मिलाउन, पार्टीलाई एक बनाउन र जनताको काममा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुभएन नि ?
जनतालाई के भइरहेको भन्ने कुरा त मलाई, तपाईं वा केही के लाग्यो भन्ने कुरा बाहिरै छन् । कोही नेताले यस्तो छ भनेर अतिरिक्त ढंगले बढाइ चढाइ गरेर पनि बढ्ने होइन । कसैलाई चित्त बुझेन भनेर खुम्च्याएर खुम्चिने पनि होइन । हामीले गरेका काम कुरा सबै बाहिरै छन् । अर्को नेताहरुलाई सबै मिलाउने भन्ने कुरा जहाँसम्म छ । हामी के कुरामा मिल्ने भन्दा हाम्रो उद्देश्य, कजबाट निर्देशित हुनुप¥यो । हामी कुन उद्देश्य, लक्ष्यबाट निर्देशित छौं ? त्यसबाट मिल्ने हो । अब ती कुराबाट हामी बिमुख छौ कि छैनौं ? आज गर्नुपर्ने काममा केन्द्रित छौं कि छैनौं । त्यसैले प्रधानमन्त्रीलगायत हामी सबै नेताहरुले उद्देश्यमा केन्द्रित रहेर के गर्छौ भनेका थियौं, त्यसलाई परिभाषित गर्नुपर्छ । त्योभन्दा फरक ढंगले नालीबेली गर्न थाल्यौं भने त्यसले बिग्रह पैदा गराउँछ ।
माधवकुमार नेपाल र प्रचण्डले त प्रधानमन्त्री एकलकाटे हुनुभयो । कुनै नियुक्ति, सरुवा, बढुवा, मन्त्रिमण्ड विस्तारदेखि कुनै काममा छलफल गर्नुभएन एक्लै गर्नुभयो भन्नुभएको छ नि ?
नेकपा केन्द्रीय कमिटिको बैठक २०६७ माघ १४ देखि १९ गतेसम्म भयो । साढेचार सदस्य रहेको केन्द्रीय कमिटि बैठक ४, ५ दिनसम्म लगातार बैठक ग¥यौं । त्यो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्थ्यो । त्यो प्रतिवेदन उहाँले तयार गरेर प्रस्तुत गर्नुभएको हो । त्यो प्रतिवेदन हल सर्वसम्मत पारित गरेको थियो । त्यसमा नेकपाको सरकार बनेपछि के के काम भए भनेर उल्लेख गरिएको छ । सातवटा महत्वपूर्ण कामहरु उल्लेख भएका छन् । आउँदा दिन यो सरकारले यी काम गर्ने भनेर नीतिगत निर्णय गरेको छ । त्यसयता जम्मा ६ महिना बित्दै छ । केन्द्रीय कमिटि बैठक भनेको सचिवालय र स्थायी कमिटिभन्दा पनि माथि हो । महाधिवेशन नभएको बेलामा सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटि हो । अनि ६ महिना अगाडि पार्टीको केन्द्रीय कमिटिले गरेको नीतिनिर्देशन काम भइरहेको छ भने यो बीचमा केपी ओलीले के त्यस्तो उत्पात र गम्भीर अपराध गर्नुभयो ? र, प्रधानमन्त्री पदबाटै हट्नुपर्ने भयो ? त्यसैले यो भनाइ संगतिपूर्ण होइन ।
माधवकुमार नेपालले त केपी शर्मा ओली भनेको दम्भ र अहंकारी हुन्, आपूmले जे गरेपनि ठि हुने अरुका कुरालाई माइनसन गर्ने भन्नुभएको छ नि ?
यसमा कतिपय व्यक्तिका आफ्ना आफ्ना शैलीगत कुराहरु हुन्छन् । शैलीमा ४, ५ वटा कुराहरुलाई ख्याल गर्नुपर्छ । त्यो जे बोलिन्छ विचारलाई व्यवहारसँग मिलाउने शैली, सिद्धान्त र विचार व्यवहारमा मिलाउने । तथ्यहरुबाट सत्यको खोजी गर्ने । कुनै आग्रहको आधारमा सत्यहरुको ऐलान गर्ने होइन । तथ्यहरुको आधारमा सत्यको खोजी गर्नुभनेको शैलीको कुरा हो । तेस्रो आफ्ना गल्ती कमजोरी छन् भने आत्मालोचित हुने हो । चौथो आमजनता र कार्यकर्तासँग एकाकार हुने । हामी कम्युनिस्ट पार्टीका मान्छेले प्रधानमन्त्रीदेखि नेता, कार्यकर्तासम्म कम्युनिस्ट शैलीमा विचारलाई व्यवहारमा मिलाउने हो । यो चिज प्रधानमन्त्री केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायत हामी सबैले गर्नुपर्छ । यदि त्यसमा कमीकमजोरी छन् भने सच्याउनुपर्छ । यति ठूलो कम्युनिस्ट पार्टीभित्र विविध अनुभव, अध्ययन, त्याग, विशिष्टता भएका नेताहरु हुनुहुन्छ । सबैमा आफ्ना आफ्ना शैलीहरु छन् । ती आन्दोलनलाई हानी पु¥याउने खालका छन् भने ती आलोचनाका विषय हुन् । जहाँसम्म आन्तरिक मतभिन्नता छन् त्यसलाई एकआपसमा छलफल गरेर टुंग्याने हो । अब त्यसलाई सत्रुबद्ध ढंगले जाइलागेर समाधान हुँदैन । कुनै पनि नेताहरुका केही कमजोरी छन् भने त्यसलाई मित्रबद्ध ढंगले कुराकानी गर्नुपर्छ । तर, कसैको कमजोरी देखिनेबित्तिकै तिमी यो पद छोड भन्ने राम्रो होइन ।
प्रधानमन्त्री विरुद्ध त स्थायी समिति, केन्द्रीय समिति सचिवालय सबैतिर बहुमत छ नि ?
हाम्रो पार्टी कमिटिमा त्यो केन्द्रीय कमिटि, स्थायी कमिटि वा सचिवालयमा होस् । कुनै मतामतको स्थिति भएको छैन । विभिन्न विषयमा बहस, छलफलहरु भएका छन् । त्यसमा आफ्ना आफ्नो मान्यताहरु प्रस्तुत भएका छन् । कसको कति के भनेर तपाईंंहरु जनतामाझ भ्रम सिर्जना गर्दैहुनुहुन्छ, त्यो भ्रम विलकुलै छैन ।
अहिलेसम्म स्थायी कमिटि, केन्द्रीय कमिटि र सचिवालयमा प्रधानमन्त्री बहुमतमा हुनुहुन्छ जनतालाई आश्वस्त पार्नुहोस् न ?
म जनतालाई आवश्त पार्दैछु तपाईंले जोड दिनै पर्दैन । केपी ओली संसदीय दलको सर्वसम्मतिको नेता भएर प्रधानमन्त्री बन्नुभएको छ । उहाँ संसदीय दलको नेता भएकोमा औपचारिक, वैधानिक ढंगले कही कतै च्यालेन्ज छैन । यसको अर्थ के हो ? कुराहरु उठेका होलान् ।
केपी ओलीले दुवै पद छोड्नुपर्छ भनेर प्रचण्डले बारम्बार भन्नुभएको छ नि ?
तपाईंसँगको अन्तर्वार्तामा के भन्नुभयो त्यो हेरौं । तर, केपी ओलीले पदबाट राजीनामा दिनुपर्छ, प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्नुपर्छ भनेर कसैले पनि औपचारिक प्रस्तावको रुपमा ल्याउनुभएको छैन । कुराकानी गर्ने सिलसिलामा कुराहरु उठेको हुन सक्छ । यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर । त्यो औचित्यपूर्ण, विधिसम्मत र नैतिक धरातल सुहाउँदा हुनुपर्छ । हो, हाम्रो पार्टी ठूलो छ । विभिन्न पृष्ठभूमि, अध्ययन, अनुभव बटुलेका नेताहरु हुनुहुन्छ । त्यसकारण विचार, बहस, छलफल गर्ने आफ्ना शैलीहरु हुन्छ । यसमा एउटा भनाइ पनि छ, ‘ठूला घरको ठूलै चाला’ भन्ने । त्यसैले फुटेका, जुटेका, जितेका हारेका सबै अनुभव बटुलेका नेताहरु गैरजिम्मेवार कुरा बोल्नुहुन्छ भन्ने म पत्याउँदिन ।
स्थायी कमिटि बैठकमा सबै नेताहरुले खुलमखुला रुपमा प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्छ भनेका छन् नि ?
यसमा आँखामा आँखा जुधाएर जे भएको हो त्यही भन्न चाहन्छु । हो साथीहरु छलफल गर्ने सिलसिलामा कुराहरु आदि, इत्यादि, गम्भीर खालका त्रुटी भयो भने एउटा जिम्मेवार व्यक्तिले जिम्मेवारी लिनुपर्छ भन्ने कोणबाट कुरा आएका हुन् । ठूलो पार्टी भएकाले केही कुराहरु आक्रोशपूर्ण ढंगले पनि आएको होला । केही आग्रह, पूर्वाह ढंगले होला केही गलत कुरालाई संकेत गर्न पनि खोजिएको होला । तर, यही आधारमा केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्ने भन्ने होइन । फेरि केपी ओली कसरी अध्यक्ष हुनुभयो भन्ने पनि कारण छ । दुई पार्टी एक भएपछि पूर्व एमालेका अध्यक्ष अध्यक्ष केपी ओली, पूर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई मिलाएपछि मर्यादा क्रममा पहिलो अध्यक्ष केपी ओली दोस्रो पुष्पकमल दाहाल प्रचण्ड बनाइयो । फेरि अहिले आएर कार्यकारी अध्यक्ष भनेर गाँसिएको छ ।
प्रचण्ड कार्यकारी अध्यक्ष भनेर गत मंसिर ४ मा सम्झौता भएको होइन ?
तपाईंले यसमा अतिरिक्त मेहनत नै गर्नुपर्दैन म भनिहाल्छु नि । नेकपा एक भएदेखि अहिलेसम्म कुनै एउटा अध्यक्ष कार्यकारी अर्को शेरेमुनिअल भनेर कतै लेखेको छ ? दुईवटै अध्यक्ष कार्यकारी हुन् । जहाँसम्म मंसिर ४ को कुरा छ । त्यसमा २०७५ जेठ २ गतेको जुन सहमति थियो । त्यो सहमतिमा अगाडि बढ्नका लागि केही अस्पष्टता नरहोस् भन्नका लागि दुवै अध्यक्ष त्यसमा केपी ओली एक नम्बर, प्रचण्ड दुई नम्बर । मंसिर ४ कुरा भन्दैछु मैले । त्यसपछि एउटा अध्यक्ष मुलतः सरकारको कामलाई नेतृत्व गर्ने र अर्को अध्यक्षले कार्यकारीको हैसियतले पार्टीको कामलाई अगाडि बढाउने । २०६७ मंसिर ४ को कुरा भनेको २०७५ साल जेठ २ गतेको थप ब्याख्या हो । किन भने दुई अध्यक्षमध्ये एउटा कार्यकारी र अर्को सेरेमुनिअल भनेर कहिल्यै भनेको पनि छैन, सोचेको पनि छैन । त्यो हुँदा पनि होइन । दुवै अध्यक्ष कार्यकारी हुन् ।
तपाईंहरुले बालुवाटारमा बसेर कार्य दल बनाएर केपी ओलीलाई सेरेमोनियल अध्यक्ष बनाउने भनेको होइन ?
त्यो कार्यदलका कुरा केही पनि होइन । हामीहरु दुवै अध्यक्षसहित अन्य साथीसँग बसेका थियौं । त्यहाँ छलफलहरु भए, हामीहरुले दुई अध्यक्ष आफूलाई लागेका कुराहरुको सुझावहरु दियौं । किन भने केटाकेटी ख्यालठट्टा गरेर पार्टी एकता भएको होइन । यो राष्ट्रको आवश्यकता, जनता र कार्यकर्ताको चाहना थियो र एकता भयो । अब त्यो एकताको प्रक्रियामा ध्यान नपुगेको भए हिजो ध्यान नपुगेका कुरामा हेक्का राख्नुपर्छ ।
अब स्थायी समिति बैठक केपी ओलीलाई दुवै पदमा यथावत राखेर अगाडि बढाउने सम्भावना छ ?
यसमा केपी ओलीले पटक–पटक नेताहरुकै बीचमा भन्नुभएको छ, ‘प्रधानमन्त्री बन्नको लागि अर्को आम निर्वाचन पर्खनुहोस्, पार्टी अध्यक्ष बन्नको लागि महाधिवेशन पर्खनुहोस्’ । अब यसबीचमा भएका कमीकमजोरी छन् भने आपसमा बसेर छलफल गरेर कहाँनेर सच्याउने हो त्यतातिर लाग्नुपर्छ ।
त्यसोभए अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन ?
कुनै पनि चिज सहरमा, लहडमा, आक्रोशमा, बदलामा हुनुहुँदैन । त्यो भनेको केपी ओली एउटा विधि र प्रक्रियाबाट प्रधानमन्त्री हुनुभयो । अर्को पार्टी अध्यक्ष दुईवटा पार्टी मिलेर दुवैलाई अध्यक्ष राख्दा हुनुभयो । अनि यो चिजलाई बिर्सेर योबाट हट् ऊबाट हट भनेर हामी कसैले भन्छौं भने त्यो कस्तो सुनिन्छ ? त्यसले पार्टी, देश र आन्दोलनको हित गर्छ ? केपी ओली प्रधानमन्त्री भएकाले प्रचण्डसहित बसेर राष्ट्रियताको बारेमा सबैदलसँग एक स्वर बनाएर राष्ट्रिय पोजिसन बनाउन सफल हुनुभयो ।
माधव नेपाल र झलनाथ खनालले हामीले कुरा नउठाएका भए नीति कार्यक्रममा आउने थिएन हाम्रो कारणले राखेको भन्नुभएको छ नि ?
यसमा धेरै भन्न चाहन्न । उहाँहरुको योगदान, उहाँहरुले खेलेको भूमिका सबैको सामुन्नेमा छन् । भोलि थाहा नपाउने पनि पाइहाल्छन् । त्यो हाम्रो सचिवालयको बैठक नीति कार्यक्रमको लागि थियो । नीति कार्यक्रम भनेको सरकारको नीति कार्यक्रम हो । राष्ट्रपतिले पढेर सुनाउनुभन्दा अगाडि प्रधानमन्त्रीले नीति कार्यक्रममा यो यो चिज आउँछन् भनेर भन्नुभयो । त्यही सिलसिलामा नक्साको कुरा पनि उल्लेख गर्नुपर्छ भन्नुभयो । त्यसपछि सर्वसम्मतिले पारित भयो त्योभन्दा पहिला नीति कार्यक्रम टुंगिसकेको पनि थिएन । त्यसपछि साझा सहमति भयो र सर्वसम्मतिले पारित भएको हो । अब त्यो चिजलाई कसैले मैले उठाएको भनेर व्यक्तव्य दिनुपर्ने जरुरतै थिएन । अर्को कोही नेताले मैले उठाउन लागेको थिएँ पहिला भन्नुपर्ने केही जरुरतै छैन । यस्ता कुराले हामी नेताहरुको हैसियतलाई देखाउँछ । अनि केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि जो अगुवा छ उसलाई सम्झने कुरा आउँछ । हामी बोल्न लाग्दैथियौं उसलाई जस गयो भन्ने कोणबाट कुरा आउँछ भने त्यसले राम्रो सन्देश जाँदैन ।
प्रधानमन्त्री केपी ओलीलाई एक भएर समर्थन दिनेगरी निस्कन सक्नुहुन्छ ?
त्यो नै हुन्छ ।
दुवै पद राख्ने गरी ?
त्यही हुन्छ । अर्कोतिर गएर बिग्रहको बाटो हिड्न हामी तयार हुन्छौं ?
तर, प्रचण्डले त केपी ओलीलाई एक पद छोडाउछु भन्नुभएको छ नि ?
प्रचण्ड कमरेडको कुरा के हो भन्ने म त प्रत्यक्ष बसेर बुझिरहेको छु नि ।
यसबारेमा तपाईं प्रचण्डसँग कुरा गर्नुभएको छ ?
किन गरेको छैन ? हेर्दै जाऔं न अहिले धेरै कुरा किन गर्नु । जुन जे कुरा आउँछ त्यही दिन त्यो प्रष्ट बोलौला नि । तपार्इंं अभैm पनि म प्रष्ट रुपमा भन्छु, केपी ओली प्रधानमन्त्री पनि रहनुहुन्छ, पार्टी अध्यक्ष पनि रहनुहुन्छ ।
उहाँले दुईमध्ये एक पद छोड्नुभएन भने प्रचण्ड र माधव नेपालले पार्टी फुटाए भने नि ?
पार्टी फुटाएर दुर्भाग्य निम्त्याउने काम हामीमध्ये कसैले पनि गर्दैनौं ।
त्यसोभए स्थायी समितिबाट निस्किँदा सग्लो भएर निस्कनुहुन्छ ?
बिलकुल सग्लो भएर निस्कन्छौं ।
नेकपा एकीकृत छ भनेर कसैले विश्वास गर्दैन नि ?
पार्टीभित्र बहस चल्यो । बहस हुँदा केही छचल्कियो । कतिपय कुरा बाहिर आउँदा नभएका रंगरोगन लागेर आउँछन् । त्यसलाई कतिलाई दुःखी तुल्याएको छ । कतिलाई मनोरञ्जन भएको छ । कतिलाई खुच्यौं भइराखेको छ । हाम्रो बहस, छलफल केही अस्वस्थ र अमैत्रीपूर्ण जस्तो देखिएको छ । काम गर्दा ढंग, विचार नपु¥याएको कुरामा आलोचना हुन्छ त्यो त स्वाभाविक हो ।
स्थायी समिति प्रचण्ड र माधव नेपालको गठन बन्दन बलियो छ नि ?
त्यो गठबन्दन होइन । केही निश्चित विषयमा केही नेताहरु सँगै बस्न सक्नुहुन्छ । त्यसैले सम्बन्धहरु पुनर्गठित हुन्छन् । बनेका बिग्रन्छन्, बिग्रेकासँग बन्छन् । अहिले कतिपय विषयमा प्रचण्ड, माधव, झलनाथ कमरेडहरु बसेर छलफल गर्नुभएको होला । त्यसले के फरक पार्छ ।
नेपालको राजनीतिमा कहिले भारतले कहिले चीनले खेलिरहेको हुन्छ अहिले चीनको चाहनाअनुसार नेकपा लागेको छ नि ?
हामी नेपाली हौं । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी हो । हामी हाम्रो सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वाधिनताको पक्षमा छौं । हामी जति भारतलाई एउटा असल छिमेकीको रुपमा हेर्छौ त्यसरी नै चीनलाई पनि हेर्छौं । हाम्रो आन्तरिक मामलामा कसैले हस्तक्षेप गरेको रुचाउँदैनौं । ंराष्ट्रिय एकतामा खलल पुर्याउने गरी भारतले चाहे पनि रुचाउँदैनौं र चीनले चाह्यो भने पनि रुचाउँदैनौं । चीनले होस् या भारतले हस्तक्षेप गर्दछन् भने हामी रुचाउँदैनौं ।
चिनियाँ राजदूतले राष्ट्रपतिदेखि नेकपाका नेताहरुको घरघरमा गएर कोपी ओलीलाई सहयोग गर्न सुझाउनुभयो नि ?
उहाँहरुलाई मात्रै होइन मलाई पनि भेट्नुभएको छ । त्यो भेटमा चिनियाँ राजदूतले स्पष्ट भन्नुभएको छ, ‘तपाईंहरुको आन्तरिक मामला तपाईंहरुले नै मिलाउने हो, हामी हस्तक्षेप गर्न चाहन्नौं खाली नेपालमा राजनीतिक स्थिरता चाहन्छौं’ भनेर ।-File Photo



प्रतिक्रिया दिनुहोस्