Logo

पट्रोलपम्प सञ्चालनका लागि परेको १०२५ आवेदन किन भयो रद्द ?



काठमाडौं, २९ असार । पेट्रोल पम्प सञ्चालनका लागि परेको सबै आवेदन रद्द गरिएको छ । नेपाल आयल निगमको ०७७ असार १६ गते बसेको सञ्चालक समिति बैठकले बिक्रेता बन्न देशका विभिन्न भागबाट परेका १ हजार २५ आवेदन रद्द गर्ने निर्णय गरेको हो ।

हाल पेट्रोलपम्प सञ्चालन भइरहेका स्थानबाट अधिकांश आवेदन परेकाले त्यसलाई रद्द गर्ने निर्णय गरिएको नेपाल आयल निगमले जनाएको छ । त्यस्तै, निगमको पूर्वाधार र जनशक्ति अभावले पनि यस्तो निर्णय लिन दबाब परेको आयल निगमको भनाइ छ ।

निगमले गत वर्ष वैशाख १७ देखि भदौ १० गतेसम्म आवेदन संकलन गरेको थियो ।

पेट्रोलपम्प सञ्चालनका लागि मापदण्ड तय गरिएका छन् । एक पेट्रोलपम्पदेखि अर्को पेट्रोलपम्पसम्मको दूरी र पूर्वाधारलगायतका मापदण्ड किटान गरिएको भए पनि त्यसको पालना भएको छैन । काठमाडौं उपत्यकामै सबैभन्दा धेरै पेट्रोलपम्प मापदण्डविपरीत सञ्चालन भए पनि निगम रमिते बन्दै आइरहेको छ ।

मापदण्डअनुरूप आवेदन नपरेको भन्दै निगम व्यवस्थापनले यसपटक भने स्वागतयोग्य निर्णय गरेको सरोकारवालाले बताएका छन् । तर निगमले उपयुक्त स्थानमा भने जुनसुकै बेला आवेदन खुला गरेकाले कतै आर्थिक चलखेलका लागि यस्तो गरिएको हो कि भन्ने आशंका पनि कतिपयले गरेका छन् ।

कहाँबाट कति परेको थियो आवेदन ?

नेपाल आयल निगमका अनुसार, हाल पेट्रोल पम्प सञ्चालन रहेकै स्थानबाट अधिकांश आवेदन परेका थिए । प्रदेश १ का १३ जिल्लामध्ये १ सय ८८ वटा आवेदन परेका थिए । जबकि, प्रदेश १ का १० जिल्लाबाट ६९ वटा आवेदन पर्दा ३ जिल्ला सुनसरी, मोरङ र झापाबाट त्योभन्दा धेरै १ सय १९ वटा आवेदन परेका थिए । यसमा पनि मुख्य सहरबाट धेरै आवेदन परेका थिए ।

कुल निवेदनको ३६ प्रतिशत प्रदेश २ बाट परेको आयल निगमले जनाएको छ । सबैभन्दा धेरै जनघनत्व र सवारी साधन रहेको वागमतीबाट भने १२ आवेदन परेको थियो । त्यस्तै, गण्डकीबाट २७, प्रदेश ५ बाट २ सय ८, कर्णालीबाट १८ र सुदूरपश्चिम प्रदेशबाट ३९ वटा परेका थिए ।-साँघुबाट सुयोग शर्माको रिपोर्ट



प्रतिक्रिया दिनुहोस्