Logo

राम र अयोध्या भारतको नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने- ठोरी नै अयोध्या



काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या गलत भएको तर्क गर्दै वास्तविक अयोध्या नेपालमा भएको बताएका छन् । अयोध्या नै नेपालमा भएको भन्दै राम पनि भारतीय नभएको बताएका छन् । उनले अयोध्या वीरगञ्जको पश्चिमतर्फको ठोरीमा भएको र राम पनि त्यहींको भएको बताएका हुन् ।

आज २०७ औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भानुभक्तको बीर्खे टोपी लगाएका उनले भने, ‘अयोध्या भनेको वीरगञ्जभन्दा पश्चिमपट्टीको गाउँ हो । वास्तवमा अहिले खडा गरिएको अयोध्या होइन ।’ दशरथले पुत्रीष्टी यज्ञ रिडीको पण्डित भएको उल्लेख गर्दै राम पनि अयोध्याको नभएको बताए ।

भारतले भन्दै आएको अयोध्याबाट त्यहाँका राजा जनकपुरसम्म कसरी विवाह गर्न आइपुगे भनी प्रश्न गरे । भारतले अहिले भनेको अयोध्याबाट राम जनकपुरसम्म आउन सम्भव थिएन भनी तर्क गरे । मोबाइललगायत सञ्चार सुविधा नभएको बखत कसरी भारतले भनेको अयोध्याबाट जनकपुरसम्म सम्पर्क भयो भनी प्रश्न गरे । अयोध्या वीरगञ्ज नजिकै भएकाले सीताको विवाह अयोध्याका राजकुमार रामसँग हुनु अनौठो नभएको तर्क गरे ।

प्रधानमन्त्री ओलीले भारतले सांस्कृतिक तथ्यहरुमा अतिक्रमण गरेको बताए । सांस्कृतिक हिसाबले नेपाल थिचिएको उनको भनाई थियो ।
अयोध्या भारतको उत्तर प्रदेशमा रहेको छ । अयोध्यामा राम मन्दिरको मुद्दाले भारतको राजनीतिमा ठुलो असर पारेको छ । हिन्दुहरुले राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको भन्दै भत्काइदिएका थिए । उक्त घटनापछि त्यहाँ दंगा भड्किएको थियो । तर, दुई दशकपछि राम मन्दिर निर्माणको पक्षमा फैसला आएको छ ।

नेपालको जनकपुर र भारतको अयोध्याबीच सांस्कृतिक सम्बन्ध स्थापित गरी रामायण सर्किटको सोच बनाएर काम भइरहेको छ । जनकपुर र अयोध्याबीच बस सेवा सञ्चालनमा छ ।-Photo: PM Secretariat



प्रतिक्रिया दिनुहोस्