Logo

लकडाउनको अवधिमा एक हजार भन्दा बढी महिला हिंसा



काठमाडौं, असार ३० । लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लकडाउन अवधिका तीन महिनामा एक हजार एक सय १९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको अभिलेख राखेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । इन्सेकद्वारा असार २९ गते जारी लकडाउनका तीन महिनाको आवधिक प्रतिवेदनमा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा समेटिएका तथ्यांक २०७६ चैत ११ गतेदेखि २०७७ असार १० गतेसम्मका रहेका पनि इन्सेकले जनाएको छ । यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार १ सय १९ जना पीडित भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४ सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भए । त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ ।लकडाउनको अवधिमा जबर्जस्तीकरणी २ सय ४६, जबर्जस्ती करणी प्रयास ६ सय ६७, घरेलु हिंसा ४ सय ६९, बोक्सीको आरोप तीन, मानव बेचविखन तथा ओसारपसार चार र बहुविवाहका ४० ओटा घटना भएका छन् ।



प्रतिक्रिया दिनुहोस्