काठमाडौं, असार ३० । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।
कोरोनाका कारण विदेशी भूमिमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका हुन्। कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा सरकारले २३ मुलुकबाट नेपाली फिर्ता ल्याएको हो।
स्वदेश फर्किएकामध्ये झण्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा गएका रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्। कोरोनाका कारण विदेशमा रोजगारी गुमाउनेको संख्या लाखौं रहे पनि ती कामदार फिर्ताका लागि सरकारले ध्यान दिन सकेको छैन। केही रोजगारदाताले टिकट दिएर फर्किए पनि अधिकांश कामदार आफै पैसा तिरेर स्वदेश फर्किएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार कोरोनाका कारण दुई लाख १८ हजारले रोजगारी गुमाएका छन्।
सर्वोच्च अदालतले असार १ गते अति समस्यामा परेका कामदारलाई कोषबाट र कागजात नभएका तर अति समस्यामा परेकालाई सरकारी खर्चबाट उद्घार गर्न आदेश दिएको थियो। सर्वोच्चले आदेश दिएपनि एक महिना पुग्नै लाग्दा श्रम मन्त्रालयले कामदार फर्काउने निर्देशिका पास गर्न नसकेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।




प्रतिक्रिया