Logo

अहिलेका ओली, उहिलेका ओली



समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भारतप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफ्नो सरकार ढाल्न खोजेको भन्दै भारतको आलोचना समेत गरे । भारतको राज्य संयन्त्र नै सरकार ढाल्न लागेको भन्दै त्यस्तो कल्पना नगर्न चेतावनी दिएका थिए ।

तर, ओलीको विगतमा भारतसँग सुमधुर सम्बन्ध थियो । भारतीय राजनीतिज्ञ देखि उच्च अधिकारीहरुसँग उनको सिधा सम्पर्क थियो । पहिलोपटक मृगौला प्रत्यारोपण नै भारतमा गरेका थिए । उनको त्यतिबेला बाक्लो आवतजावत र सम्बन्ध प्रगाढ थियो । जुन अहिले निकै बदलिएको छ । भारतको असल मित्र भइकन पनि ओलीले भारतको नेपाल मामलामा रहेको स्वार्थलाई क्षति पुर्याएको भन्दै विषय उठिरहेको छ । टाइम्स अफ इन्डियाले त प्रचण्डभन्दा ओली भारतसँग सुमधुर सम्बन्ध रहेको नेपालका नेता भएको तर उनैले भारतको नेपाल मामलाको स्वार्थमा क्षति पुर्याउन भुमिका खेलेको लेख्यो ।

यसरी कुनैबेलाका भारतका असल मित्रसँग कसरी दुरी बढ्यो ? भारतलाई नै चुनौती दिन पुगे ? भारतलाई फाइदा पुग्ने गरी भुमिका खेलेका ओली कसरी उसैलाई चुनौती दिन थाले यसको विश्लेषण भारतमा मात्र नभई नेपालभित्र पनि हुनथालेको छ । आखिर उनले विगतमा भारतलाई लाभ हुने कुन कुन विषयमा सहयोगी बनिदिएको थिए त ।

घटना-१
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा २९ माघ २०५२ सालमा भारतसँग महाकाली सन्धी गरेर दिल्लीबाट फर्किए । संविधान अनुसार सन्धी संसदको दुवै सदनले दुई तिहाई मतले पारित गर्नुपर्ने व्यवस्था भएकाले वैधानिकता पाइसकेको थिएन । सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले मिलेर मात्र उक्त मत पुग्थ्यो । तर, तत्कालिन एमालेभित्र सन्धी पारित गर्नेबारे मतभेद भयो ।

एमालेका तत्कालिन महासचिव र प्रभावशाली नेता केपी शर्मा ओली सन्धी पारित गर्नुपर्ने पक्षमा उभिए । तर, बामदेव गौतमलगायतको समुह विपक्षमा उभियो । गौतमले सन्धी राष्ट्रघाती भएको विषय उठाए । महाकाली नदीको मुहान नटुंगाई सन्धी देशको हितमा नभएको अडान राखे । सन्धीबारे अध्ययन गर्न साद सदस्यीय महााली सन्धी अध्ययन कमिटी समेत गठन भयो । ओली त्यसका संयोजक बनाइए जसले सन्धी ठिक रहेको भन्दै पारित गर्नुपर्ने सुझाव दिए । कमिटीमा चार सदस्य पारित गर्न नहुने पक्षमा थिए । यतिसम्मकी सन्धीमा थप सुधारको अडानमा रहेका नेताहरुलाई चुनौती दिदै ओलीले भनेका थिए, सन्धीमा सहमति गर्दाताका हस्ताक्षर गर्न महासचिव र आफू भाङ खाएर गएका थियौं ? ओलीकै अडानले सन्धीका पक्षमा मतदान गर्न एमाले तयार भयो । ह्वीप नमान्नेमाथि कारबाही गरियो ।

ओलीले महाकाली, पश्चेश्वर र शारदा नदीसम्बन्धी बहुउद्देश्यीय परियोजनाको एकीकृत सम्झौताले देशलाई वार्षिक एक खर्बभन्दा बढी आम्दानी हुने सार्वजनिक रुपमै बोलेका थिए ।

ओलीले महाकाली सन्धीमा भुमिका खेलेको इतिहास साक्षी छ । तर, नदीको मुहान नटुंगाई गरेको सम्झौताले नेपाललाई नोक्शान पुग्यो । जसका कारण कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय टुंगिएन । भारतले नै उक्त भुमि प्रयोग गरिरह्यो । यही विषयलाई जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जोडतोडका साथ संसदमा उठाए । उनले महाकाली सन्धी गर्नेलाई देश बेचुवा भने । सन्धी गर्दा मुहान टुंगो नलगाई गरेको भन्दै देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने सम्मको अभिव्यक्ति दिए ।

घटना नं-२
२०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर उत्रिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि ११ मे २०१८ मा जनकपुर पुगे । उनले मोदीको स्वागत गरे । रामायण सर्किटको उद्देश्यका साथ नेपाल र भारतबीच परियोजना बढाइयो । त्यही उद्देश्यका लागि ओली र मोदी दुवैले जनकपुर अयोध्या जनकपुर बस सेवाको उद्घाटन गरे ।

मोदीसँग कुममा कुम जुधाएर ओलीले हरियो झण्डा देखाएर बस सेवाको शुरुवात गरेका थिए । उक्त उद्घाटनमा ओलीले जनकपुर र अयोध्याबीचको सिधा सम्बन्धलाई ऐतिहासिक क्षण भनेका थिए । दुई देशबीच धार्मिक पर्यटनको विकासमा पनि टेवा पुग्ने भनेका थिए । ११ मे २०१८ कै दिन ओली र मोदीले जानकी मन्दिरमा एक साथ सम्बोधन गरेका थिए त्यो पनि उस्तै पोशाकमा । यसलाई राजनीतिक रुपमा पनि अर्थपूर्ण मानिएको थियो ।

तर, २९ असारमा ओलीको बालुवाटारबाट अयोध्याबारे अभिव्यक्ति आयो । उनले भारतले भन्दै आएको अयोध्या वास्तवमा नेपालको ठोरीमो भएको बताए । भारतमाथि सांस्कृतिक अतिक्रमणको समेत आरोप लगाए ।

घटना नं-३
यस आन्दोलनमा गणतन्त्रमा पुग्छौं भने कुरा वयलगाडा चढेर अमेरिका जान्छौं भने जस्तै हो । सम्भव छैन । भ्रमको खेती गर्न चाहने दुष्ट मतीका क्रियाकलाप, ओलीले २०६२ सालमा दिएको अभिव्यक्ति हो यो । उनले गणतन्त्र आउँछ भन्ने विश्वास गरेका पनि थिएनन् र दिलाएका पनि थिएनन् । तर, देशमा गणतन्त्र आयो ।

यतिसम्मकी बामदेव गौतमले देश अब गणतन्त्रमा गयो नेपाली काँग्रस पनि जाओस् भनी सार्वजनिक रुपमा बोल्दा कारबाही भोग्नुपरेको थियो । एमालेको पार्टी बैठकमा कारबाहीको प्रस्ताव र समर्थकमा ओली र विष्णु पौडेल थिए । गौतमले कारबाही भोगे तर देश गणतन्त्रमा गयो । आन्दोलन सफल भयो ।

ओली गणतन्त्र नेपालका दुई तिहाई सरकारको प्रधानमन्त्री पनि बने । उनले हालैमात्र संघीय लोकतान्त्रिक गणतन्त्रको पद्धति र प्रणालीको रक्षार्थ आफू खरो रुपमा प्रस्तुत हुने अभिव्यक्ति दिए । उनले गणतन्त्र खतरामा पर्न लागेको भन्दै सचेत र सजग रहनुपर्ने बताउँदै आएका छन् ।

यसरी पहिलेका ओली र अहिलेका ओलीमा यु टर्न देखिएको छ । उनले हिजो जे बोलेका र गरेका थिए अहिले त्यसको ठिक विपरित आफूलाई प्रस्तुत गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्