Logo

पौडेलको ओलीलाई प्रश्न-भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने ?



काठमाडौं, ३० असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी बोल्दै हिंडेको भन्दै आलोचना गरेका छन् । उनले गफ गरेर नभई काम गरेर देखाउन ओलीलाई चुनौती दिएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतको अवस्थाबारे पौडेलसँग ऋषि धमलाले गरेको कुराकानीः
तनहुँमा पनि ठूलो बाढीपहिरो गएको छ, त्यसलाई कसरी लिनुभएको छ ?
तनहुँमा एकदमै घनघोर वर्षा भएर गाउँगाउँमा जनधनको क्षति पुर्याएको छ । तनहुँसँगै लमजुङमा पनि ठूलो वर्षा भएको छ । त्यो क्षेत्रमै एकदमै घनघोर वर्षा भएका कारण ठूलो जनधनको ठूलो क्षति भएको छ । तनहूँका कतिपय ठाउँहरुमा घरहरु पुरिएका छन् । कतिको ज्यानै गएको छ । यहाँका मादी, सेतीलगायत अरु रिस्ती खोलाहरुले धेरै ठाउँठाउँमा कटान गरेको धेरै ठूलो क्षति पुर्याएको छ । खेतहरु धेरै बगाएको छ, त्यसमा अझ घरहरु पनि भत्किएर जीउधनको धेरै ठूलो क्षति भएको छ । कतिपय मानिसहरु घरमै पुरिएका छन् । यसरी अत्यन्तै ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्न चाहन्छु । पहिरोमा परी मृतात्माको चीर शान्तिको कामना अनि पीडित परिवारप्रति समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अहिले त्यहाँका स्थानीय सरकार, प्रदेश सरकार, जनप्रतिनिधिहरु, प्रशासन र हाम्रा पार्टीका साथीहरु पनि हिजो बिहानैदेखि उद्दार र राहतमा लाग्नुभएको छ । त्यसैगरी पहिरोमा परी बेपत्ता भएका मानिसहरुको खोजीको लागि सबैजना लागिरहनुभएको छ ।
दश जनाको मृत्यु भइसकेको छ, दुई जना अभैm बेपत्ता छन् तर, उद्दार र राहत कार्यमा दलीय परिचालन चुस्त देखिएन नि ?
नेपाली कांग्रेस पार्टीका स्थानीय नेता तथा कार्यकर्ता र त्यहाँका जनताप्रतिनिधिहरु एकदमै सक्रिय ढंगले परिचालित हुनुभएको छ । स्थानीय सरकार र प्रदेश सरकार पनि लागेको छ । त्यहाँको प्रशासन, राजनीतिक नेता, कार्यकर्ता र जनप्रनिधिहरुलगायत सुरक्षाकर्मीहरु एकदमै सक्रिय ढंगले परिचालित हुनुभएको छ । त्यहाँका गाउँपालिका, नगरपालिका मेयर, उपमेयर र वडाका प्रतिनिधिहरु हिजो बिहानैदेखि एकदमै खटेर उद्दार, राहत र बेपत्ताको खोजी कार्यमा जुट्नुभएको छ । यसरी उद्दार कार्यमा यो पार्टी, ऊ पार्टी नभनी सबै जना एकजुट भएर खट्नुभएको छ । उद्दार, राहत र खोजी कार्यमा कुनै कमी भएको छैन ।
हाम्रो प्राकृतिक विपत्ती त छँदैछ अब सरकारले चालेको कदम कत्तिको प्रभावकारी छ त ?
केन्द्रीय सरकारले यस्तो विपत्तिको बेलामा विशेष राहत प्याकेज अगाडि ल्याउनुपर्छ । बाढीले बगाएर घरबारबिहीन भएका मानिसहरुका लागि राहत प्याकेज कार्यक्रम ल्याउनुपर्छ । जसको घरै बाढीले बगाएको छ । खाने, लगाउने, बस्ने ठाउँको अभाव छ । उनीहरुलाई सुरक्षित ठाउँमा पुनस्थापना गर्नुपर्ने हुन्छ । जसको भएभरको सपत्ति बगाएको तिनीहरुको लागि विशेष राहत प्याकेज ल्याउनुपर्छ । स्थानीय तहका जनप्रतिनिधिहरु त लागिनै रहनुभएको छ । अहिलेसम्म कोरोना महामारीको रोकथामको लागि पनि खटेर लाग्नुभएको थियो । फेरि बाढीपहिरोको प्रकोप थपिएको छ । कोरोनाको महामारी टार्न विकास बजेट पनि खर्च भइराखेको छ । अर्को सलहको त्रास पनि फैलियो । यसरी एकपछि अर्को गर्दै मानिसमाथि विभिन्न प्राकृतिक आपत्तिहरु आइलागेका छन् । यस्तो बेलामा बढी प्रभावित क्षेत्रमा केन्द्रीय सरकारले विशेष राहत प्याकेज कार्यक्रमको घोषणा गर्नुपर्छ ।
पाँच दिनदेखि लगातार परेको पानीले ७ हजारभन्दा बढी विस्थापित भएका छन्, उनीहरुले खानसम्म नपाएको समाचार छ अब के गर्ने ?
विगत ४-५ दिनदेखि देशैभरि अविरल वर्षा भएको छ । त्यसले देशका विभिन्न ठाउँ जस्तो म्याग्दी, जाजरकोटमा त झन् यति धेरै क्षति भएको छ त्यसको सिमै छैन । अहिलेसम्म त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले आफ्नो साधन, स्रोतले भ्याएको गरेका छन् । तर, त्यहाँ केन्द्रीय सरकार पनि जानुप¥यो । केन्द्रीय राज्यको राहत ती ठाउँमा पुग्नुपर्यो ।
तराईको महोत्तरी जिल्लामा डुबानको समस्या देखियो नि ?
यता पहाडतिरबाट विशाल पानी र पहिरो गएपछि तराईका जमीनहरु डुबानमा पर्ने नै भए । पहाडबाट विभिन्न नदीहरु बढेर गएकाले तराईंका गाउँगाउँमा पसेर जनतालाई तहसनहस पारेको छ । त्यसै पनि हाम्रो तराईका जमीनहरु नदीको सतहसँग लेभल मिलेको छ । अर्कोतिर भारतले फेरि अनावश्यक रुपमा सीमाहरुमा वाध बाँधेर, विभिन्न संरचनाहरु बनाइदिएर नेपाललाई ताल बनाइदिएको छ । त्यसले पनि तराइका मानिसहरुलाई ठूलो अन्याय भएको छ । यसरी हामी माथि चौतर्फी रुपमा आपत परेको छ । यस्तो राष्ट्रिय विपत्तिको सामना गर्न सबै मिलेर लाग्नुपर्छ ।
सिन्धुपाल्चोक, संखुवासभा, म्याग्दी, जाजरकोटलगायतका ठाउँका झन्डै १७ सय मानिसहरु खान नपाएर भोकभोकै बस्नुपरेको छ, त्यतातिर तपाईंहरुको ध्यान जानुपर्दैन ?
यस्तो विपत्तिमा परेका नागरिकहरुको लागि राज्यले विशेष खालको बाढीपीडित राहत प्याकेज कार्यक्रम ल्याउनुपर्छ । यसरी पटक–पटकको विपत्तिलाई केन्द्रीय सरकार नगई स्थानीय सरकारको साधन, स्रोतले मात्रै भ्याउँदैन । त्यसकारण अहिलेको प्रकोपमा देशभरिको रिपोर्ट लिएर केन्द्रीय सरकारले विशेष राहत प्याकेज योजना ल्याउनुपर्छ । पहाडमा ठूला–ठूला बाढी पहिरो जाने भएपछि तराईमा डुवानको झन् ठूलो जोखिम छ । यसको समाधानको लागि सिंगो राज्य नै तमतयार भएर लाग्नुपर्छ ।
प्रधानमन्त्रीले त अयोध्या भारतको होइन नेपालको हो भन्नुभयो नि ?
नेपालको तराई क्षेत्रका जति भूभागहरु छन् ती एकदमै ऐतिहासिक महत्व बोकेका भू–भागहरु हुन् । तिलौराकोट शुद्धोधनको खास राजधानी थियो । अहिले भारतले तलतिर लगेर अर्को तिलौराकोट बनाइराखेको छ । यसमा हाम्रो पनि ऐतिहासिक तथ्यका आधारमा खोजअनुसन्धानमा कमी भयो । त्यसैगरी तनहुँको दमौलीमा ब्यासहरुको जन्म भएको भनिएको छ । धेरै किसिमका पुराना किंमबदन्तीहरु हामीसँग छन् । त्यसैगरी तराइका खासगरी भारतसँग सीमा जोडिएका कतिपय ठाउँहरु ऐतिहासिक महत्वका छन् । त्यसको तथ्य र प्रमाणका आधारमा हामीले खोज अनुसन्धान गर्नुपर्छ ।
प्रधानमन्त्रीले भारतले नयाँ अयोध्य खडा गर्यो भन्नुभयो, त्यसको लागि त भारतसँग वार्ता गर्नुप¥यो नि ?
तथ्य र प्रमाणका आधारमा मैत्रीपूर्ण वार्ता गर्नुपर्यो । वार्ता गर्ने क्रममा वातावरणलाई बिथोल्ने कुरा पनि आफैले गर्नुभएन । वार्ता गर्ने भनेपछि फेरि आफैले निहु खोजेर गाली गर्न थालेपछि हुन लागेको वार्ता पनि भाँडिन्छ । यो कुरा नेतृत्वले सोचेर काम गर्नुपर्यो नि । मैले सुरुदेखि भनिरहेको छु । हाम्रो देशको लागि कुटनीतिक कौशलताको आवश्यकता छ, हाम्रा भू–भाग फिर्ता गराउन, हामीमाथि भएका अतिक्रमणलाई रोक्नका लागि पनि । ठूलो राष्ट्रसँग सानो राष्ट्रले कुटनीतिक चातुर्यता कति देखाउँछौं । भारतले कसरी आफ्नो देशको लागि लागेको छ । त्यसबाट हामीले पनि राष्ट्रभावको शिक्षा लिनुपर्छ । आफ्नै रिसले अर्को ढल्किन थाल्यौं भने हाम्रो भइरहेको प्राकृतिक मित्रतामा गडबड हुन्छ । भारतसँग हाम्रो स्वाभाविक, नेचुरल र सांस्कृतिक सम्बन्ध छ त्यसलाई भत्किन दिनुहुँदैन ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सा जारी गरेर मात्रै भएन नि जमीन फिर्ता गराउनेतिर तपाईंहरुको ध्यान खोइ ?
त्यसको लागि गफ गरेर मात्रै हुँदैन काम गर्नुपर्यो । उपयुक्त काम गरेर आफ्नो जमीन भोगचलनमा ल्याउनुपर्छ । त्यसको लागि कुटनीतिक कौशलता देखाउनुपर्यो । नक्सा मात्रै बनाउन हामी पनि बनाइदिन सक्छौं । भारतले बनाउन सक्छ । त्यसको लागि ठोस काम गर्नुपर्यो नि । ठोस काम चाहीं गरेको छैन अनि हल्ला मात्रै गरेर हुन्छ । त्यसकारण मैले पहिलादेखि भनेको छु, ‘हामीले हल्ला मात्रै नगरौं ठोस काम गरौं’ भनेर ।
तपार्इंं त किसानहरुको पीडा बुझेको नेता हो, रोपाईं सकिन लाग्यो अहिलेसम्म उनीहरुले मल पाएका छैनन् नि ?
जब हामीले कृषि सामाग्री संस्थानलाई खत्तम पार्यौं । त्यसपछि कृषि क्षेत्रमा दलालीपन सुरु भएको छ । त्यसमा ठूलो नाफाखोर सुरु भएको छ । अनि ती नाफाखोरहरुले जति बेला आवश्यक पर्छ, जति बेला नाफा हुन्छ त्यो मात्रै पखेर बस्छन् । त्यसको लागि कृषि मन्त्रालयले आफ्नो जिम्मेवारी बहन पर्छ । नाफाखोरहरुको भरमा मात्रै छोड्नु हुँदैन । यसको लागि एक वर्ष अगाडि नै चेन बनाएको भए हुन्थ्यो । सधैंभरि ‘जब पर्यो राति अनि बूढी ताती’ गरेर हुँदैन । त्यसको तयारी गर्नुपर्छ । त्यसको लागि यति समयको लागि यति चाहिन्छ । अर्को बाली लगाउने बेलालाई यति स्टक रहन्छ भन्ने एउटा चेन बनाएर निरन्तर लागेत धेरै सुविधा हुन्छ । हाम्रो देश अहिले पनि कृषिमै निरभर छ । त्यसको लागि सरकारले बेलैमा सोचेर जिम्मेवारी लिनुपर्छ ।
चिनियाँ राजदूतले नेकपा शीर्ष नेताहरुलाई घरघरमा गएर भेटेपछि नेपालमा चिनियाँ हस्तक्षेप बढ्यो भनेर समाचारहरु आइरहेका छन् तपाईंलाई के लाग्छ अब नेकपा चीनको इसारामा चल्न लागेको हो ?
हामीले हाम्रो राष्ट्रिय एकता, अक्षुणता र अखण्डताको सोलिडारिटी प्रकट गरेर आएका छौं । आफ्नो राष्ट्रको हितमा साथीहरु सबै एकजुट भएर उभिएका छन् । अहिलेको परिस्थितिमा सबैले एकताबद्ध भएर उभिनको लागि हामीमा त्यही अनुसारको संयम, त्यही अनुसारको सन्तुलन, त्यही अनुसारको कुटनीतिक कौशलको आवश्यकता पार्ने हो । त्योभन्दा बाहेक हामीले अलिकति बढी चहलपहल गर्न मित्र राष्ट्रहरुलाई आमन्त्रण गरिरहेका छौं । एकतातिरको रिसले अर्कातिर ढल्किन खोजेजस्तो देखाउन खोजेका छौं । यो हाम्रो लागि अत्यन्त ठूलो प्रतिउत्पादक हुन सक्छ । नेपालको भूराजनीतिले पनि त्यो कुराको प्रोमोट गर्दैन । अर्को कुरा नेपालको संविधानले पनि प्रमोट गर्दैन । हामीले बहुलवादमा आधारित संसदीय प्रणाली, लोकतान्त्रिक बहुदलीय संसदीय प्रणाली अपनाएका छौं । यो बहुलवादमा विश्वास नगर्नेहरुबाट तालिम लिने । यसरी एकात्मक सिस्टमबाट हामीहरुले तालिम लिन थाल्यौं भने हाम्रो संविधान बिपरीत हुन्छ । छिमेकी राष्ट्रबीचको मित्रता अर्को कुरा हो । हामीले सबैसँग मित्रता राख्नुपर्छ । तर, हामी आफ्नो सिद्धान्त र नीति बिपरीत गयौं भने आफै विरोधाभासमा फस्छौं । त्यसले आफ्नो राष्ट्रलाई नोक्सान पुग्छ । यो कुरामा सत्ताधारीहरुले विचार गर्नुपर्छ ।
अहिलेको अवस्थामा हाम्रो देशको अर्थतन्त्र जोगाउन कृषि नै महत्वपूर्ण हो ?
जब यो संकट आयो त्यसबेलादेखि हामीले लेखेरै हाम्रो पार्टीले निर्णय गरेरै भनेका छौं कि, ‘अब सारामा विदेशबाट बेरोजगार भएर गाउँमा फर्किएका छन् । शहरबाट पनि गाउँमा फर्किएका छन् । त्यसको लागि अब गाउँमै बसौबसौ लाग्ने खालको योजना अगाडि ल्याउनुप¥यो र त्यही नै रोजगारीको सिर्जना गर्नुपर्यो । बजेटमा पनि त्यहीअनुसारको कार्यक्रमहरु दिनुप¥यो । त्यसको लागि उत्पादनशील कृषि योजना लिएर गाउँगाउँ जानुप¥यो । किन यहाँ त सबै मान्छे अटाउँदैनन् ।’ त्यसको लागि हाम्रा प्राकृतिक सम्पदा, खोलानाला, वनजंगल, जडीबूटी, खेत, बारी, जमीन, माटोलाई प्रयोगमा ल्याउनुप¥यो । यसको लागि उत्पादनशीलन रोजगारीको योजना बनाएर सरकारले अगाडि जानुपर्छ । अहिले गाउँगाउँमा बाटो, बिजुली, सिंचाईं, खानेपानी शिक्षा, स्वास्थ्य सबै पुगेको छ । तर, ती संरचना मात्रै भएर भएन । त्यसको लागि क्वालिटीको शिक्षा, स्वास्थ्य, बाटो, सेवा, सुविधा गाउँमा पु¥याउन सरकार लाग्नुपर्छ । गाउँमा ठाउँअनुसारको रोजगारी सिर्जना गर्नुपर्छ । रोजगारी भयो भने मानिसहरु थामिन्छन् । नत्र फेरि विस्थापित भएर बाहिर जान्छन् । त्यसकारण यस्तो प्रोग्राम बनाउनुपर्छ भनेर हामीले पहिलादेखि नै भन्दै आएको हो । यो सरकारले सुनिराखेको छैन । अहिले कम्युनिस्टको सरकार छ त्यसले पनि सुन्दैन भने देशको लागि अत्यन्त दूर्भाग्य हो ।
तपाईंंहरुले पनि केही सक्नुभएको छैन, किन भने यसविरुद्ध नेपाली कांग्रेसले आन्दोनल गर्न सकेको छैन ?
हामीले पहिलादेखि नै सरकारलाई सुझाव दिने, सचेत गराउने गर्दै आएका छौं । मैले अझ प्रधानमन्त्रीलाई भेटेरै आफ्ना सुझाव र असहमतिहरु लेखित रुपमै दिएको छु । हाम्रा साथीहरुले देशभरिबाट सुझावहरु पठाएका छन् । त्यसलाई अध्ययन गरेर कसरी चुस्त, दुरुस्त बनाएर अगाडि बढाउने भनेर हामीहरु सोच्दैछौं ।
नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुन्छ ?
हाम्रो पार्टीको विधानमा असाधारण परिस्थिति परेमा ४ वर्षे कार्यकालमा एक वर्षसम्म लम्ब्याउन सक्ने व्यवस्था कल्पना गरिएको छ । हाम्रो विधानमा त्योभन्दा अरु कुनै ठाउँ छैन । विधानअनुसार आउँदो फागुनमा महाधिवेशन गरिसक्नुपर्छ । चार वर्षे कायकाल सकिइसकेको छ । विधानले दिएको अधिकार अनुसार एक वर्ष थपिसकेका छौं । त्यसैले आउँदो फागुनमा अधिवेशन गर्नुपर्ने वाध्यता छ । हामीहरु अधिवेशनकै लागि लागिरहेका छौं, लाग्नुपर्छ । पार्टी सभापति, नेतृत्व र पार्टी सचिवालयलाई म चाहीं के भन्न चाहन्छु भने, ‘अब पुरा अधिवेशनको काममा लागौं, नयाँ नियुक्ति र मान्छेलाई आफ्नो पक्षमा बनाउनेतिर नलागौं । पदपूर्ति गर्नेपर्ने हाम्रा भातृ संस्थाको पनि अधिवेशन गरौं । अब नियुक्ति, सियुक्तितिर लाग्ने होइन । यसरी फेयर काम हुनुपर्यो, अनफेयर काम हुनुभएन । म चाहीं त्यही सोचिरहेको छु ।-File Photo



प्रतिक्रिया दिनुहोस्