Logo

नेपालमा कम्युनिस्टहरु जनताबाट अस्वीकृत हुनेछन्- भाजपा प्रवक्ता डा. शास्त्री



एजेन्सी, ३० असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय शंकर शास्त्रीले नेपालमा कम्युनिस्टहरु जनताबाट अस्वीकृत हुने टिप्प्णी गरेका छन् । उनले कुनैबेला भारतमा कम्युनिस्टहरु प्रभावशाली रहेको र जनताको विश्वासमाथि खेलवाड गर्दा अस्वीकृत भएको स्मरण गराउँदै नेपालमा कम्युनिस्टहरुको हालत भारतका कम्युनिस्टहरुको जस्तै हुने टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई नेपालमा भनी दिएको अभिव्यक्तिबारे प्रतिक्रिया दिदै शास्त्रीले समाचार एजेन्सी पीटीआईसँग आज यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनको भनाई उदृत गर्दै पीटीआईले भनेको छ, ‘भारतमा पनि वामपन्थीले जनताको विश्वासमाथि खेलवाड गरे र नेपालका कम्युनिस्टहरु भारतमा कम्युनिस्टहरु अस्वीकृत भएजसरी जनताबाट अस्वीकृत हुनेछन् ।’

शास्त्रीले भगवान राम विश्वासको विषय हुन् भन्दै जनताले कसैलाई पनि यस्तो विश्वासमाथि खेलवाड गर्न छुट नदिने बताए । उनको भनाई उदृत गर्दै पीटीआइले लेखेको छ, ‘भगवान राम विश्वासको विषय हुन् र चाहे नेपालका प्रधानमन्त्री हुन् या अरु कोही जनताले यस्तो विषयमा खेलवाड गर्न छुट दिनेछैनन् ।’

प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अयोध्या नेपालमा रहेको र राम नेपालकै ठोरीतिरको राजकुमार भएको टिप्पणी गरेपछि भारतभित्र चासो बढिरहँदा भाजपा प्रवक्ताको भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्