Logo

नेटवर्किङ धन्दामा पूर्वएआईजी



काठमाडौं, ३० असार । विगतमा हजारौं सर्वसाधारणलाई पीडित बनाएको नेटवर्किङ व्यवसाय नेपालमा कानूनी रुपमै सुरु गर्न लागिएको छ । यसमा नाम चलेकै व्यक्तिहरु समेत संलग्न भएका छन् ।

विगतमा नेटवर्किङ धन्दामा लागेर कारबाहीमा परेकाहरु नै अहिले बैधानिकको आवरणमा यसमा लागेका छन् । सरकारले पनि उनीहरुलाई साथ दिएको छ । वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ को आडमा नेटवर्किङ व्यवसाय सुरु भएको हो ।

उद्योग मन्त्रालय अन्र्तगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेटवर्किङ व्यवसायलाई धमाधम इजाजत दिन थालेको छ । आइबोस ग्लोबल इन्टरनेसनल प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि र नेचर हब इन्टरनेसनल कम्पनीले इजाजत लिएर कारोबार सुरु गरिसकेका छन् । हालै मात्र अनुमति लिएपनि गत वर्षदेखि नै उनीहरुले नेटवर्किङको काम सुरु गरेको स्रोत बताउँछ ।

यस्ता कतिपय कम्पनीमा पूर्व प्रहरी समेत जोडिएका छन् । पूर्व एआईजी हेमन्त पाल आइबोस ग्लोबल इन्टरनेसनलमा आबद्ध छन् । सो कम्पनी विगतमा यूनिटीमा आबद्ध व्यक्तिहरुले सञ्चालन गरेका हुन् । प्रहरीको बिशिष्ट श्रेणीबाट अवकाश पाएको व्यक्ति नेटवर्किङ कम्पनीमा आबद्ध हुनुलाई धेरैले अनौठो रुपमा लिएका छन् । त्यसो अरु अवकाशप्राप्त प्रहरी अधिकारी पनि विवादास्पद व्यवसायीहरुको साझेदार बनेका छन् ।

एआईजी पाल आइबोसको नेतृत्व तहमै बसेर काम गरिरहेको स्रोत बताउँछ । हेल्दी लिभिङ, न्यू विवेक इन्टरप्राइजेज र नेचर हब पनि विगतमा कारबाहीमा परेकै व्यक्तिहरुले सञ्चालन गरेका हुन् । जसकारण यी कम्पनीको नियत ठिक छैन भन्ने प्रष्ट छ ।

प्रत्यक्ष बिक्रिसम्बन्धि व्यवसायका नाममा उनीहरुलाई इजाजत दिइएको छ । स्रोतका अनुसार यससम्बन्धि ऐन र नियमावली ल्याउन नै उनीहरुले ठूलो लगानी गरेका थिए । विदेशमा नेटवर्किङ चलाउँदै आएका कतिपय कम्पनीहरु समेत यसमा संलग्न रहेका छन् ।

यसका लागि बाणिज्यमन्त्री लेखराज भट्टलाई समेत व्यवसायीहरुले खुशी बनाएका थिए । मन्त्रीकै निर्देशनमा नेपालमा बैधानिक रुपमै नेटवर्किङ धन्दा सुरु गर्न लागिएको हो ।- दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्