Logo

भारतले कहाँ खडा गरेको रहेछ अयोध्या ? प्रधानमन्त्रीले प्रमाण ल्याउनुहोला नि- डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, ३० असार । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिक क्षमतामाथि प्रश्न गरेका छन् । ओली भारतलाई गाली गर्नमै मात्र केन्द्रित रहेको भन्दै आलोचना गरेका छन् । यसै सेरोफेरोमा नेता डा. लोहनीसँग ऋषि धमलाले गरेको कुराकानीः
देश राष्ट्रिय संकटमा सरकारले चालेका कदम कति सफल छन् ?
सरकार त अहिले आन्तरिक लडाईँमै व्यस्त छ । प्रचण्डजी र सम्माननीय प्रधानमन्त्रीजीको जुन झगडा छ त्यो टेलिभिजनको कार्यक्रम जस्तो छ । सधैं त्यही रहेर बस्ने त हो नि । त्यस्तो नयाँ योजनाहरु केही पनि छैन ।
यो सरकारले जनताको लागि केही गर्न सकेन ?
सरकारले जनताको लागि आफूहरुबीचमा झगडा गरिराखेको छ ।
त्यो झगडाको बीऊ प्रधानमन्त्री पद नै हो ?
झगडाको मुख्य बीऊ उहाँहरुबीच पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा एकतर्फी भयो शक्तिको प्रयोगको विषय देखिन्छ । यो शक्तिमा बसेर दोहन गर्ने जुन मौका थियो, अहिलेको सरकारको जुन लक्ष्य थियो, त्यो लक्ष्य एउटा पक्षले मात्रै उपयोग गर्न पायो । अर्को पक्ष चाहीं खाली समर्थन मात्रै गर्ने अवस्थामा पुग्यो । त्यसकारण यो शक्ति सन्तुलन भएन । त्यो शक्ति सन्तुलन अर्को चाहियो । त्यो एउटाले अध्यक्ष र अर्को प्रधानमन्त्री चलाएर सन्तुलन हुन्छ । यो खाली शक्ति सन्तुलनको लडाईं हो । यो नेपाली जनताको हितभन्दा पनि शक्ति सन्तुलनमा पुगेर आफ्नो मान्छे कहाँ राख्ने, दलीय रुपमा कसको भागबन्डा कति हुने भन्ने लक्ष्यका साथ भएको लडाईं हो ।
प्रधानमन्त्रीले त अयोध्या भारतको होइन, नेपालको हो भन्नुभयो नि ?
मैंले त त्यस्तो सुनेको छैन, आज तपाईंबाट सुनेँ । प्रधानमन्त्रीले भन्नुभएको भए उहाँसँग त्यसको केही प्रमाण त होला खोइ हामीलाई थाहा छैन ।
प्रधानमन्त्रीले त प्रष्ट रुपमा भारतले विवादित अयोध्या खडा गर्यो भन्नुभयो नि ?
कहाँ खडा गरेको रहेछ अयोध्या ?
वीरगन्जभन्दा अलि पर ?
अहिले भएको अयोध्या कि अर्को अयोध्या ?
प्रधानमन्त्रीले त भारतले विवादित नयाँ अयोध्या खडा गर्यो भन्नुभयो ?
यो त प्रधानमन्त्रीले इतिहासको नयाँ कुरा ल्याउनुभयो । हामीलाई त्यो थाहा थिएन । आपूmलाई थाहा नभएको कुरामा के प्रक्रिया दिने । अब प्रधानमन्त्रीजी पुरानो कुरा अध्ययन गर्ने निकै विद्धान हुनुभएछ क्यार । उहाँले त्यसका प्रमाणहरु ल्याउनुहोला नि मलाई त केही पनि थाहा भएन ।
हामीले भारतका राजकुमार रामलाई दिए भन्यौं, तर भारतले राजकुमारलाई होइन सीता अयोध्या चाहीं रामलाई दिएको हो भन्नुभएकोे छ ?
खोइ अब यसमा हाम्रो पुरातत्वविद्, इतिहासविद् के भन्नुहुन्छ । हाम्रा प्रधानमन्त्रीले यो संसारमा नजानेको कुरा केही पनि छैन । इतिहास, रसायन शास्त्रदेखि लिएर कोरोनासम्मको उहाँमा विशेषज्ञता छ । धेरै विषयमा डाक्टर हुनुहुन्छ । तर, यो विषय मैंले सुनेकै छैन । अब नसुनेको र नबुझेको कुरामा के टिप्पणी गर्नु ।
प्रधानमन्त्रीले भनेको है अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमको गाउँपर्छ जुन नेपालमै पर्छ सही हो ?
यो कुरा मलाई थाहा छैन । पहिलो त नसुनेको, नजानेको कुरामा ठीक, बेठिक के भन्नु । उहाँ देशको प्रधानमन्त्री उहाँले धेरै अध्ययन गरेर भन्नुभएको होला । विराटनगरमा चाहीं विराट राजा भएको भनेर हामीले महाभारतमा पढेको हो । अब अहिले प्रधानमन्त्रीजीले ल्याउनुभएको कुरामा हाम्रा संस्कृतिविद्हरुले भन्लान् । आपूmलाई थाहै नभएको कुरामा मैले टिप्पणी गर्न मिलेन ।
अहिले हाम्रो परराष्ट्र नीति भारततिर कि चीनतिर ढल्किएको छ ?
अहिलेको हाम्रो परराष्ट्र नीति भनेको मुख्यतः प्रधानमन्त्रीजी भारतलाई गाली गर्नमै केन्द्रित देखिनुभएको छ । यसबारेमा परराष्ट्र मन्त्रीले केही बोल्नुभएको छैन । तर, नेपालको परराष्ट्र नीति जुन रुपमा सञ्चालित हुनुपर्छ हो । जसरी नेपाल र नेपालीको हितमा सन्तुलित हुनुपर्ने हो । त्यो चाहीं गालीगलौजमा उत्रिएर नेपालको हित हुन्छ जस्तो मलाई लाग्दैन । यद्यपि लिपुलेक, लिम्पियाधुराको विषयमा प्रमाणले पुष्टि गर्छ त्यसमा अडान राख्नु एकदमै ठीक छ । यी सबै कुरा गरिरहँदा अरुलाई गाली नै गरेर हाम्रा परराष्ट्रलाई गाली नै गर्नुपर्छ भन्ने पक्षमा म छैन । यो उहाँको व्यक्तिगत विचार हो ।
अब नेपाल–भारतको सम्बन्धको कुरा गर्दा तराई क्षेत्रका जनता डुवानको समस्यामा पनि पर्न थाले कसरी समाधान गर्ने होला ?
यो डुवानको समस्या भारतकै कारण बढ्दै गएको हो । बीसौं वर्षदेखि नेपालको जमीन डुवानमा परेको छ । एक त नेपालको समथर जग्गा पनि थोरै छ । त्यो समथर जमीनको सीमानामै भारतले जुन बाँध बनाएको छ । त्यो अन्तर्राष्ट्रि कानुनको विपरीत हो । त्यस्ता वाधहरु सीमानाभन्दा ८ किलोमिटर पर मात्रै बनाउन पाइन्छ । अर्काको देशको सीमानामै वाध बनाउन पाइँदैन । त्यो बाँध बनाउँदा नेपालको जमीन डुब्ने जुन यथार्थता छ । त्यो नेपालप्रति बक्रदृष्टि हो । यसको बारेमा बीसौं वर्षदेखि नेपालले आवाज उठाएको छ । अहिलेसम्म यसको समाधान भएको छैन । यो बडो दुःखको कुरा हो । एउटा ठूलो राष्ट्रले सानो राष्ट्रपति गर्ने व्यवहार । अहिलेदेखि होइन बीसऔं वर्षदेखि भएको छ । जसको कारण आफ्नो छिमेकीको जमीन, घर, जग्गा डुवानमा पुरेको छ । त्यो मित्रतापूर्ण व्यवहार होइन ।
नेपालको राजनीतिमा चिनियाँ राजदूतको सक्रियतालाई कसरी लिनुभएको छ ?
भारतीय राजदूतको सक्रियता हुँदा नेपालको आन्तरिक मामलामा हस्तक्षप भयो भनेर हामी आलोचना गर्दथ्यौं । अब राजदूतहरुले मन्त्री, प्रधानमन्त्री, नेताहरुलाई भेट्न नपाउने होइन । विकासको कुरामा अरु कुरामा हामीले मन्त्री हुँदा पनि भेट्थ्यौं । तर, भेट्दाखेरी हामीले के भन्थ्यौं भने परराष्ट्र मन्त्रालयको मान्छेलाई पनि राखेर के कुरा हुन्थ्यो त्यसको रेकर्ड चाहींं राख्थ्यौं । तर, अहिले राजनीति संकट परेको बेला एउटा पक्षलाई लगेर, गएर अर्को पक्षलाई समर्थन गर भन्ने कुरा मिडियामा जुन आएको त्यो चाहीं चाहे भारतले गरोस् चाहे चीनले गरोस् त्यो गलत हो । हाम्रो दुवै मित्र राष्ट्रका राजदूतहरुले आन्तरिम मामलामा चासो राखेर घर–घर धाउन थाल्नुभएको छ । त्यो गलत परम्परा हो त्यसलाई नेपालीहरुले राम्रो मान्दैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्