Logo

पक्राउ परेका पशुपति अन्नपूर्णा आश्रमका संस्थापक जगदीश बैद्यलाई हदैसम्मको कारबाही गर्न माग (भिडिओसहित)



काठमाडौं, ३० असार । पशुपति अन्नपूर्णा आश्रम संस्थापक जगदीश वैद्यद्वारा पीडित समूहले उपचारको नाममा रोगबाट प्रभावित महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका उक्त आश्रमका संचालक तथा संस्थापक अध्यक्ष स्वघोषित प्रा.डा. जगदीश वैद्यलाई आजीवन कारवाहीसहित हदैसम्मको कानुनी कारर्वाही हुनुपर्ने माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समूहले बैद्यमाथि कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा उक्त आश्रमका पूर्व महासचिव सुरेश कुमार श्रेष्ठले आफूपनि बैद्यबाट २०७२ सालदेखि नै पीडित हुँदै आएको दुःखेसो पोेखे । आफूलाई ठूलो आर्थिक व्ययभार गराएको र अझैपनि बैद्यसँग करिब ९ लाख रकम लिनुपर्ने बाँकी रहेको उनले सुनाए । उनले बैद्यलाई हदैसम्म कारबाही गर्नुपर्ने र सरकारले यदि उनलाई उन्मुक्ति दियो भने जनस्तरबाट भएपनि अब कारबाही हुने चेतावनी दिए ।

कार्यक्रममा पूर्व बैंकर्स वेद व्यास सिंहले आफूलाई उपचारको नाममा पूजा गर्नुपर्ने भन्दै बैद्यले ठगी गरेको सुनाए । उनले भने,‘बैद्यले तिमी तीन महिनामै मर्छौं भनेर भने, उपचारको लागि मैले राखेको रकम उसले भनेबमोजिम घण्ट दिएर मलाई पूजा गर भनियो, त्यो घण्टको कर तिर्नुपर्छ भन्दै दश हजार लाने गरियो ।’ सिंहले पनि बैद्यलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरे । उनले आफ्नै साथीहरुलाई पनि बैद्यले ठग्ने प्रयास गरेको भएपनि आफूले गर्दा ती साथीहरु ठगिनबाट बचेको स्मरण गराए ।

कार्यक्रममा पशुपति अन्नपूर्णा आश्रमका सदस्य रत्नकुमार श्रेष्ठले आफूहरु मजदुरी गरेर खाने व्यक्तिलाई आश्रमको सदस्य बनेवापत प्रति व्यक्ति एघार हजार एक सय एक रुपैयाँ लिईएको र आफ्नो परिवारका ९ जना नै पैसा तिरेर आश्रमको सदस्य बनेको सुनाए । विश्वामित्रको गुफा बनाईदिने, खाँडादेवी मन्दिर पनि बनाईदिने, सत्र लाखको मुर्तिपनि दिने, एकहत्तर लाखको घण्ट र एक करोडपनि दिने भनेर आफूहरुलाई प्रलोभनमा पारिएको उनको गुनासो छ । उनले आफूहरुको रकम लुटिएको भन्दै उक्त रकम फिर्ता गरिनुपर्ने र बैद्यलाई हदैसम्मको कानूनी कारबाही गरिनुपर्ने माग राखे ।

कार्यक्रममा बैद्यबाट पीडित महिलाहरु वर्षा राजभण्डारी र शोभा राजभण्डारी दुवै जनाले आफूहरुलाई बैद्यले स्पर्श थेरापीको नाममा गलत क्रियाकलाप गर्न खोजेको आरोप लगाए । बैद्यले आफू गुरु भएकोले ‘मेरो खुट्टामा तेल लगाउ’ भन्ने गरेको र मिठो मिठो परिकार बनाएर खुवाउनुपर्ने र पैसा पनि माग्ने गरेको उनीहरुले सुनाए । उनीहरुले पनि बैद्यलाई कारबाही गरिनुपर्ने बताए । बैद्यजस्तो अर्को व्यक्ति नजन्मियोस भनेरपनि उनलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा महिला अधिकारकर्मी राज्यलक्ष्मी शाक्यले बैद्यलाई नरपिचासको संज्ञा दिईन् । बैद्य नक्कली प्रा.डा. भएको पनि उनले दाबी गरिन् । उनले भनिन्,‘यो बैद्य नक्कली प्रा.डा. हो । यो मान्छे राष्ट्रिय र अन्तर्राष्ट्रिय कुनै समाजसेवी होईन् । यो बैद्य पञ्चायतकालदेखि नै ठूलो अपराधी हो । ठगी धन्धामा पहिले पनि पक्राउ परिसकेको थियो ।’

बैद्य आँफैं कार्यकारी अध्यक्ष रहेको ललितपुरमा रहेको नेश्नल मल्टिपल कलेज (सिटिईभिटिईबाट सम्बन्धन प्राप्त) कलेजका दुई जना विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा बैद्य र उनका छोरा पनि पक्राउ परेको शाक्यले स्पष्ट पारिन् । शाक्यका अनुसार बैद्य यही असार २१ गते आइतबार जवर्जस्ती करणी उद्योगमा पक्राउ परेका हुन् ।

प्रेस विज्ञप्ति
मिति : २०७७।३।३० गते मंगलबार
नमस्कार ! सम्पादक पत्रकार मित्रहरूलाई
स्वघोषित प्राध्यापक डाक्टर जगदीश वैद्यको अपराधबारे जानकारी गराउन आयोजित यस पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका सबै पत्रकार मित्रहरूलाई हार्दिक स्वागत छ ।

काठमाडौंको जयवागेश्वरी देवपत्तनस्थित दर्ता गरेर हाल दरवार मार्ग नारायणहिटी दरबार अगाडि कार्यालय रहेको अन्नपूर्णा पशुपति आश्रमका संचालक तथा संस्थापक अध्यक्ष स्वघोषित प्रा.डा. जगदीश वैद्य यही असार २१ गते आइतबार जवर्जस्ती करणी उद्योगमा पक्राउ ।
आश्रमकै एक कर्मचारी महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा वैद्यविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा असार ३ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएको थाहा पाएपछि घर छोडेर भागेका वैद्यलाई महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरले आइतबार लुकेर बसेको अवस्थामा ललितपुरबाटै पक्राउ गरेको हो ।

वैद्यले एक जटिल अवस्थामा रहेको विभिन्न रोगबाट प्रभावित महिलाहरुलाई तन्त्रमन्त्र र जडिबुटीको सहायताले पूर्णरुपमा रोग निको पारिदिन्छु भन्दै मोटो रकम (गुरु दक्षिणा) लिएर प्रसाद भनेर केहि खुवाउने अनि आश्रमको कार्यालयभित्रै कपडा खोल्न लगाई निवस्त्र उस्को शरीरसंगै जोडेमा बैधको दैवी शक्तिले पूर्णरुपमा निको हुन्छ भनेर उपचारको नाममा जवर्जस्ती करणी गरेपछि पीडित महिलाले उजुरी दर्ता गर्नुभएको थियो ।

जटिल रोगको मेडिकल उपचार गर्दागर्दै केही पार नलागेपछि राम्रै चिनजान भएका आफूलाई नेपाल सरकारले खटाएको वरिष्ठ समाजसेवी भन्ने प्राध्यापक डाक्टरजस्तो मान्छेले “यो उपचार त मेरो बायाँ हातको खेल हो तर चुपचाप मैले भनेजस्तो बिधि अपनाउनु पर्छ“ भनेपछि उनको कुरामा बिश्वास गरि आश्रममा उपचार गर्ने भनी जादा उपचारको बहानामा आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित महिलाको छ ।

यो आश्रममा सदस्य बनेको खण्डमा ९२ वटा राष्ट्रमा भ्रमण गर्न पाउनुका साथै सजिलोसँग भिसा लगाई दिने र अन्तरास्ट्रिय भ्रमण गर्न जांदा कुनै शुल्क नलाग्ने र सम्पूर्ण खर्च आश्रणले नै ब्यहोर्ने भनेर लोभ लालच देखाई सिधासाधा सर्वसाधारण नागरिकहरुलाई ठगी गर्दै हिंड्ने वैधको पेशा नै रहेछ । यस कुरामा पनि छानविन गरेर सत्यतथ्य छानविन होस् ।

बैद्यले आफू नेपाल सरकारको मान्छे भन्दै गृह मन्त्रालयको कार्ड झुण्ड्याएर हिँड्ने गरेकोबारे पनि प्रहरीमा पहिले नै उजुरी परिसकेको जानकारी भएको छ । वैद्यले कुनै विश्वविद्यालयबाट औपचारीक रुपमा विद्यावारिधि नगरेका र उनले आफ्नो नामको अगाडि लेख्ने प्रा.डा. को पद र राष्ट्रिय महान समाजसेवी उपाधि ‘स्वघोषित’ भएको बारे पनि उजुरी परेको थाहा हुन आएको छ ।

२०५० सालमा दैवीप्रकोप भएको बेला नेपाल सरकारले राहत सहयोग रकम ४०५ र बैधेले ६०५ नेपाल सरकार भन्दा बढी सहयोग गरेको हुदां उस्लाई राष्ट्रिय महान समाजसेवीको पदवी सरकारबाट प्राप्त भयको भनेर ‘स्वघोषित’ प्रा.डा. वैद्यले ५० हजारदेखि ५ लाखसम्म सहयोग रकम लिएर प्रा.डा.को पद र उपाधि स्वयं अरुलाईसमेत बिक्री गर्दै आएको पनि सुनिएको छ ।

त्यस्तै स्वघोषित प्रा.डा. वैद्यविरुद्ध २१ जनाले २०७६ असोज १२ गते संस्थागत ठगी आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०७६र ६र १२ गते दर्ता भई छानबिन जि. प्र. का कार्यालय सहायक सिडिओ कार्यालयले छापा मारेर कागजपत्र बरामद गरि सोहि आधारमा प्रशासन प्रमुख जितराज दाहालले अनियमितता गरि ठगी भयको ठहर गरेर कारवाही गर्ने निर्णय सहित टेकुस्थित ठुलै फाईल खडा भईसकेको छ । महानगरीय प्रहरी परिसर टेकुमा मोटो फाईल कार्यान्वयन गर्ने क्रममै छ ।

वि.सं.०६९ साल माघ २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको पशुपती अन्नपूर्णा आश्रमको नाममा रसिद, प्याड लेटर प्याडसहितका कागजात दूरुपयोग गरी ठगी गरेको भन्दै उजुरी दर्ता भएको थियो ।

उपचारको नाममा रोगबाट प्रभावित महिलामाथि यतिसम्मको जघन्य अपराध गर्ने बैद्यलाई आजीवन काराबाससहित हदैसम्मको कानुनी कारर्वाही होस् । पैसा र पहुँचको भरमा पीडक उम्कने वातावरण नहोस् र पीडित महिलालाई क्षतिपूर्तिसहित चाडोभन्दा चाडो न्याय मिलोस भनी हामी न्यायप्रेमी नागरिक पीडितको तर्फबाट आदरणीय पत्रकार मित्रहरुमार्फत जोडदार रुपमा माग गर्दछौं ।

साथै यहाँहरूले यो घटनाको सत्य तथ्यसहित पीडितलाई न्याय पुग्ने समाचार सम्प्रेषण गर्नुहुने अपेक्षा गरेका छौँ । कोरोना कहरको यस् विषम परिस्थितिमा पनि पत्रकार मित्रहरू आईदिनु भएकोमा मुरिमुरि धन्यवाद प्रकट गर्दछौं ।

(पशुपति अन्नपूर्णा आश्रम संस्थापकद्वारा पीडित समूह )



प्रतिक्रिया दिनुहोस्