Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ३० असार । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । रुकुम (पश्चिम), बाफिकोट नुनई टाकुरीबाट शंकर पुरीलाई अवैध लागूऔषध अफिम ४.५ केजी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्दा प्लाष्टिकका ९ वटा झोलामा प्याकिङ गरी राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पुरीलाई पक्राउ गरेको हो ।

यस्तै पोखरा महानगरपालिका बाट करिब १ केजी अवैध लागूऔषध गाँजासहित ४ जना सोमबार राति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्रदेश २ ०–३०० प ६७२५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक दिपेन्द्र पुनले बोकेको झोलामा करिब ५ सय ग्राम गाँजाको धुलो फेला पारी मोटरसाइकलमा सवार निशान थापासमेतलाई पक्राउ गरेको बताएको छ ।

अनुसन्धान गर्ने क्रममा लक्ष्मी गुरुङको एल एक्स खाजा घरभित्र टिनको बाकसमा लुकाई छिपाई राखेको करिब ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरी लक्ष्मी गुरुङ र सोही खाजा घरमा रहेका शंकास्पद धादिङ खनियाबास घर भएका दिपक तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्