Logo

मेरो एउटा साथी छ



डा. जयराम सिंखडा:
पृथ्बीतलकै कुनै सुन्दर देशमा मेरो
एउटा साथी छ
र, थाहापाइराखौं धरतीमै उ सबैभन्दा माथि छ ॥
उचाइ उसको ​ शगरमाथा शीर​ भन्दा अग्लो
सोचाइ उसको महाशागरीय छाल भन्दा सग्लो
रफ्तार उसको कुन अन्तरिक्ष यानले भेट्न सक्छ ?
दृष्टिको त के कुरा सात समुन्द्रपारी देख्न सक्छ !॥१॥
जुन र तारा हातकै खेला, सिंगै पहाड बोक्न सक्छ
आँटे उसले दुई कोरिया पलमै जोड्न कसले रोक्छ
उ लाग्दा लिपुलेक क्षणभरमै दिलाउन सक्छ
चिरिएको नेपाली छाति बुट्टाहाली सिलाउन सक्छ ॥२॥
कार्लमाक्सको लगौंटिया, डार्बिन बच्चैमा चिनेको रे
चन्द्रमामा घडेरी त पोहोर​ साल मात्रै किनेको रे
सिजिनपिङ संग घट्टाग​ई भारी संगै पिनेको रे
ट्रम्पको बिहे त उस्ले आफैं कन्या खोजी छिनेको रे ॥३॥
यस्तो महान् भइकन ​ उ मेरो असाध्यै ख्याल गर्छ
धेरै होइन दैनिक बीसचोटी मेरो फेसबुक वाल हेर्छ
हरेक पोष्ट र कमेन्टमा उसकै नजर पहिले आउँछ
मैले उछिन्ला, हरे चिन्ता मेरै, लाउनु खवरदारी लाउँछ ॥४॥
आफू टन्न​ नअघाएसम्म कसैले खाँदै नखानु भन्छ
उस्लाई उछिनी नपुगेको ठाउँमा अरु जांदै नजानु भन्छ
उसले जाने जति कुरा अरु कसैले नजानून भन्छ
उसले बोलेको बचन सबले अक्षरस​ मानून भन्छ ॥५॥
राष्ट्रप्रमुखले निर्णय गर्दा उसैलाई पहिले सोधून् भन्छ
प्रतिपक्षले विरोध गर्दा उसैलाई पहिले खोजून् भन्छ
उसलाई नसोधि कसैले सिन्को सम्मपनि नदिनु भन्छ
उसले नभने सम्म​ अरुले स्वास पनि नलिनु भन्छ ॥६॥
बादलमुनीको सुन्दर​ देशमा मेरो एउटा​ साथी छ
थाहाभयो होला अब​ धरतीमा उ सबैभन्दा माथि छ ॥ …………………………………………………………………
(डा. जयराम सिंखडा, धुनिबेशी नगरपालीका-१, धादिङ; हाल क्यानडा)



प्रतिक्रिया दिनुहोस्