चल्न थाले सार्वजनिक यातायात


काठमाडौं, असार ३१ । सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये तीनवटा चक्रपथमा र एउटा सूर्यविनायक–रत्नपार्क सञ्चालन गरिएको छ ।

बन्दाबन्दीका बेला सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत भाडा वृद्धि गरे पनि सुन्दर यातायातले भने पुरानै भाडामा यात्रुलाई सेवा दिएको छ । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, बन्दाबन्दीले सबैलाई समस्या पारेको बेला हामी भाडा बढाउँदैनौँ, पुरानै भाडामा यात्रुलाई सेवा दिन्छौँ । कोरानाबाट बच्ने सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरेका छौँ ।

मयुर यातायातले पनि सेवा सञ्चालन गरेको छ । सरकारले छोटो दूरीका सवारी खुला गरेपछि मयुरले सेवा सञ्चालन गरेको हो । साझा यातायातले साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको कार्यकारी निर्देशक भूषण तुलाधरले जानकारी दिए तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने विभिन्न माग राखेर बस सञ्चालन गरेको छैन ।

सरकारले खुला गरे पनि महासङ्घले बन्दाबन्दी अवधिको ब्याज मिनाहा, किस्ता तिर्ने अवधि थप, मर्मत सम्भारका लागि पुनर्कर्जा, मजदुरको कोरोना बिमालगायत राहत प्याकेजको माग राखी यातायात सञ्चालन नगरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।