Logo

गरिब देशका धनी शासकहरुले स्वीस बैंकमा यसरी जम्मा गर्छन् कालो धन



काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको नाममा स्वीस बैंकमा रकम जम्मा भएको एउटा रिपोर्टले तरंग ल्याएको छ । रिपोर्टको स्वतन्त्र पुष्टि नभएपनि पछिल्लो दुई कार्यकाल उनी प्रधानमन्त्री हुँदा टेलिकम, जलस्रोतलगायतका क्षेत्रमा भएका विवादास्पद निर्णयहरु जोडेर व्याख्या गरिएको छ । दक्षिणपूर्वी एशियाको देश कम्बोडियामा लगानी देखि वार्षिक ५ लाख डलर थपिने गरेको उल्लेख छ ।

स्वीस बैंकमा खाता रहेको र त्यसमा ५५ लाख डलर जम्मा भएको दाबी गर्ने वेवसाइट ग्लोबल वाच एनालिसिस हो । रोल्यान्ड ज्याकार्डको बाइलाइनमा लेखिएको रिपोर्ट अनुसार जेनेभाको मिराबौड बैंकमा उक्त खाता रहेको उल्लेख छ । प्रधानमन्त्री ओलीको केही वर्ष यता सम्पत्ति निकै बढेको भनिएको छ । सम्पत्ति कसरी जम्मा भयो भनेर समेत लेखिएको छ ।

बौलेभार्ड जर्जस फेभन भवनमा उक्त बैंक रहेको छ । जसमा उनले चिनियाँ कम्पनिसँग गर्न लगाएको सम्झौताहरुवापत् प्राप्त भएको कमिशन भनिएको छ । यसको खण्डन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले गरिसकेका छन् । तर, जे जति ठुला आर्थिक सम्बन्धि निर्णयहरु भए र कम्पनिबारे पनि विवाद उठ्यो त्यसले आशंकाहरु मेटिएको छैन ।

कसरी जम्मा हुन्छ कालो धन
आखिर किन स्वीस बैंकहरुमा गरिब मुलुकका शासकहरुले धन लुकाएको विषय आइरहन्छ ? विगतमा एशिया र अफ्रिकाका युद्धग्रस्त र गरिब मुलुकका शासकहरुले स्वीस बैंकमा रकम लुकाएको खुलासा समेत भएको थियो । कतिपय देशहरुले निकै पहल गरेर केही धन फर्काउन पनि सफल भए । सन् २०१३ मा स्विस बैंकमा १३ नेपालीको खाताबारे खुलेको थियो ।

कालो धन संचित गर्ने स्वर्गका रूपमा बदनाम छन् स्वीस बैंक । त्यहाँ विगतमा पनि नेपाली नागरिकको रकम भएको खुलेको थियो । विकिलिक्सले यसको गम्भीर खुलासा गर्दा सनसनी मच्चिएको थियो । गोप्य सूचनाहरू पर्दाफास गरेर चर्चामा आएको विकिलिक्सले सन् २०११ मा स्विस बैंकमा रकम जम्मा गर्नेबारे खुलासा गरेपछि संसारभर तरंग आएको थियो ।

स्विस बैंकका उच्च अधिकारीबाट चुहिएको सूचना अनुसार बढी रकम जम्मा गर्नेमध्ये भारत, रूस, बेलायत, युक्रेन र चीन शिर्ष स्थानमा थिए । क्रमशः खुलाइएको रिपोर्ट अनुसार रकम जम्मा गर्नेमध्ये गरिब र विकासोन्मुख देशका व्यक्तिहरूको संख्या उल्लेख्य थियो । कालो धन लुकाउने सुरक्षित स्थानका रूपमा स्विस बैंक बदनाम भएको खुलेको थियो ।

कालो धनको स्वर्ग
कालो धन लुकाउने सवालमा स्वीस बैंक संसारमै स्वर्ग सरी छन् । धन सुरक्षित र गोप्य रहने हुँदा गरिब देशका धनाढ्यहरू त्यहाँको बैंकमा आकर्षित भएका हुन् । बैंकिङ गोपनीयता भंग गर्नुलाई स्विट्जरल्यान्डमा गम्भीर अपराध मानिन्छ । स्विस बैंकका उच्च अधिकारी रूडोल्फ एल्मरले बैंकको खाता र धनबारेको गोपनीयता खोलेकोमा कडा सजाय पाएका थिए ।

विकिलिक्सले खुलासा गरेको दुई हजार नामहरूका कारण एल्मर विवादमा आएका थिए । सन् २००२ को केही खाता र वचतकर्ताका नामहरू आफूले उपलब्ध गराएको स्वीकारे । एल्मरका अनुसार खुलेका नामहरू बैंकका वचतकर्ता मध्ये पाँच प्रतिशत मात्र हुन् ।

कालो धनको सुरक्षाका लागि स्विस बैंकहरू स्वयंले भूमिका खेलेको घटना बेलाबखत चर्चामा आउने गर्छ । स्विस बैंकले नै २० करोडको कर छल्न सहयोग गरेको खुलासा क्यालिफोनिर्याका चर्चित व्यापारीले सन् २००८ मा गरेका थिए । बैंकले नै सहयोगी भूमिका खेल्ने हुँदा स्विट्जरल्यान्ड कालो धनको स्वर्ग बन्न सक्यो । जम्मा भएको कालो धन फिर्ता गर्ने क्रममा त्यस्ता बैंकहरूले अवरोध सृजना गर्छन् ।

फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको नाममा जम्मा भएको ६८ करोड ३० लाख डलर सन् १९८६ मा स्विस बैंकले रोक्का गरेको इतिहास छ ।

गरिब र विकासोन्मुख देशहरूका व्यापारी, उच्च सरकारी अधिकारी देखि राजनीतिक दलका नेतासम्मको कालो धन विदेशमा फेला परेको तथ्य छ । मार्कोसले विदेशमा जम्मा गरेको धनमध्ये केही प्रतिशत स्विट्जरल्यान्डमा फेला प¥यो । १२ वर्ष लामो पहलपछि मात्र फिलिपिन्स सरकारले धन फिर्ता ल्याउन सक्यो । पिज्जा कनेक्सनका रूपमा चर्चित सन् १९८२–८५ को घटनामा १.६ अर्ब डलर लागूऔषधवापत्को रकम अमेरिकाबाट स्विक बैंकतर्फ पुगेको थियो । सन् १९८६ को बोफोर्स काण्डमा स्वीडेनको हतियार निर्माण कम्पनि बोफोर्सले भारतीय राजनीतिक दलका नेताहरूलाई चार करोड डलर कमिशन दिंदा स्विस बैंकको खातामा जम्मा गरिदिएको थियो ।



प्रतिक्रिया दिनुहोस्