Logo

फर्म सञ्चालकविरुद्ध छ अर्ब ६० करोड बिगो दाबीसहित मुद्दा



काठमाडौं, साउन १ । झुटा तथा नक्कली मूूल्य अभिवृद्धि कर बिजक लेनदेन तथा भन्सार चोरी पैठारी निकासी गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले बुधबार विभिन्न फर्म सञ्चालकविरुद्ध छ अर्ब ६० करोड रुपैयाँ बिगोको मुद्दा दायर गरेको छ ।

विभागले उच्च अदालत पाटनमा चार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । विभागले काठमाडौँको सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालकसमेत दुुई जनालाई दुई अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

विभागको अनुसन्धानमा हाइटेकले भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी चोरी पैठारी गरेको र अधिकांश मालवस्तुको लुज बिल जारी गर्ने तथा न्यून बिजकीकरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

यसैगरी यस्तै खाले अभियोगमा माँ वैष्णो ट्रेड कन्सर्नलगायत नौ विभिन्न फर्मका सञ्चालक तथा कारोबारीविरुद्ध दुई अर्ब १६ करोड ६५ लाख रुपैयाँ राजस्व चुहावट गरेको भन्दै बुधबार अर्को मुद्दा दायर गरेको हो । अभियोगपत्रमा राजाराम महतो, जयकिशोर साह, सुरेश ठाकुरलगायतले वस्तु तथा सेवा खरिद बिक्री नै नगर्ने तर झुटा तथा नक्कली मूअ कर बिजक मात्र जारी गर्ने गरेको खुलेको छ ।

विभागले अर्को मुद्दा काठमाडौँ महाबौद्धमा रहेका जेएसएस मोबाइल एन्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स, श्री श्यामबहादुर कन्सर्न प्रालि र श्री श्याम बाबा इन्टरप्राइजेजका सञ्चालकलगायत मुख्य कारोबारी चार जनालाई राजस्व चुहावट गरेको अभियोगमा एक अर्ब ३९ करोड सात लाख रुपैयाँ बिगोे असुलउपर गरी जरिवाना र कैद सजायसमेत माग गरी मुद्दा दायर गरेको हो ।

उनीहरूले पटकपटक भन्सार नतिरी अवैध रूपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिलबिजक जारी नगरी बिक्री गर्ने गरेको, कारोबार लुकाउने, छिपाउने उद्देश्यले कर प्रयोजनमा पेस गर्नेबाहेक अलग्गै किसिमको आन्तरिक लेखा तथा खाता राख्ने गरेको विभागको अनुसन्धानमा खुलेको छ ।

झुटा तथा नक्कली भ्याट बिलमार्पmत राजस्व छली गर्ने जय माताजी इन्टरप्राइजेज समेतका चारवटा विभिन्न फर्मका सञ्चालकसमेत तीन जनाले ६१ करोड ५४ लाख रुपैयाँ राजस्व चुहावट गरेकाले बिगो असुल गरी जरिवाना र कैद सजाय समेतको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्