कोरोनासँग अभ्यस्त नेपाली प्रतिगमन नगर्ने मनस्थितिमा


काठमाडौं, साउन २ । जुन दिनदेखि विद्यालयमा दूर पद्धतिबाट समेत पठन–पाठन बन्द भयो, सोही दिनदेखि सार्वजनिक सवारीसाधन साझा यातायातले काठमाडौं उपत्यकामा सेवा शुरू गरेको छ । साउन १ गतेको यस सन्दर्भले कोभिड–१९ का कारण सिर्जित संक्रमणकालीन मनस्थिति र त्यससँगै सहयात्रा गर्ने तत्परता देखाउँछ ।

अन्तर्राष्ट्रिय मौद्रिक कोषले जानकारी गराएअनुसार विश्वमै कोरोना भाइरसले आर्थिक गतिविधिमा ठूलो असर पारेको छ । ३० जनवरीमा कोभिडको पहिलो बिरामी भेटिएको छिमेकी भारतले करिब दुई महिनापछि २४ मार्चदेखि बन्दाबन्दी शुरु गरेर पनि २५ हजार नागरिक गुमाइसकेको छ । बन्दाबन्दीले भन्दा सतर्कताले कोरोना संक्रमण नियन्त्रण गर्नसकिने पाठ सिकेको छिमेकीले यतिखेर ‘सतर्कता अपनाऊ व्यवसाय चलाऊ’ को नीति अख्तियार गरेको देखिन्छ ।

अधिक परिमाणमा संक्रमितहरू भारत हुँदै स्वदेश प्रवेश गरेको अनुभव सँगालेको नेपालले पनि त्यस्तै नीति अख्तियार गर्दै जोर–बिजोर नम्बरका आधारमा निजी सवारी चल्न दिइरहेको छ भने केही उद्योग–व्यवसाय पनि सतर्कताको मापदण्ड अपनाउँदै खुलेका छन् । तर, आर्थिक गतिविधिमा भने निरन्तर तीव्र गिरावट देखिएको छ ।

नेपालमा भारतमा भन्दा एक साताअघि नै कोरोना भाइरसको बिरामी देखिएका थिए । बिहीबारसम्म मृतकको संख्या ३९ रहेको र संक्रमित १७ हजार भए पनि निको भएर घर फर्किनेको परिमाण १२ हजार पुगेका कारण बढी चिन्ताको अवस्था देखिँदैन । पाँच महिनाको अवधिमा देखिएको यस संख्यालाई त्रासदीय मान्नु आवश्यक पनि छैन ।

यही साउन ७ गतेसम्मको लकडाउनपछि सरकारले लिने नीतिले काममा निस्कन तयार नागरिकको मनस्थितिलाई ख्याल गर्ने र सतर्कताका साथ दैनन्दिनीमा जुट्ने र जीवन सामान्यीकरणतिर लाने अपेक्षा गरिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको प्रक्षेपणअनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय आवागमन नियन्त्रित रहेका कारण पर्यटन व्यवसाय ठप्प भएको र अन्य कारोबार पनि अवरुद्ध भएकाले आर्थिक वृद्धिदर २।३ मा सीमित हुनेछ, जबकि सामान्य अवस्थामा ७।१ को आस गरिएको थियो ।