केपी ओली अधम र मुर्ख शासक हुन् : डा. बाबुराम भट्टराई


मुकुन्द कालिकोटे :  काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहमवादी र मुर्ख शासक भएको आरोप लगाएका छन्। राजधानीको हात्तिसारमा गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको कोरोना डिफेन्स अवार्ड तथा स्वास्थ सामग्री वितरण कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई राजनीतिक मुर्खको आरोप लगाएका हुन् ।

उनले भने,‘भनिन्छ, समाजमा तीन प्रकारका मानिस हुन्छन्, सचेत मानिसले आफै कुरा बुझ्छ, मध्यम मानिसले अरुको सुझावलाई ग्रहरण गर्छ तर, अधम, मूर्ख मानिसले न आफै जान्दछ, न त कसैको कुरा सुन्छ। अहिले अधमवादी र मुर्ख साशकले देश चलाई रहेका छन्। सचेत मानिसले चलाएको देश त राम्रोसँग अगाडि बढ्न सक्दैन। यस्ता मुर्खहरुले चलाएको देश बन्छ उल्टै दुर्घटनामा पर्छ।’

डा. भट्टराईले कोरोनाबाट जोगिनका लागि विश्व स्वास्थ्य सङ्गठनले दिएका निर्देशनहरुको पूर्ण पालना गर्न अनुरोध गरेका छन्। उनले भने, ‘हाम्रो देश कोरोनाको उच्च जोखिम मै छ। सबैले सामाजिक दूरी कायम गर्नुपर्छ। तर, बिडम्बना कोरोनाबाट बच्न अपनाइने नियम पालना गरौं भोकले मर्ने, नगरौं रोगले मर्ने अवस्था छ। हाम्रो देशको दुःखद पक्ष यहि हो। तर, हामीले कोरोनाबाट आतंकित हुने र लापरबाही गर्ने काम गर्नुहुँदैन।’

डा. भट्टराईले भने, ‘कोरोनाले हाम्रो देशलाई मात्रै होईन, विश्वलाई नै आर्थिक, सामाजिक र राजनीतिक रुपमा असर पारेको छ। हाम्रो देश भरखरै आर्थिक क्रान्तिको बाटोमा हिड्दै थियो। यहिबेलामा कोरोना जस्तो महामारी आयो। हाम्रो जीवन कालकै सबैभन्दा कठोर र विनासकालका रुपमा आएको कोरोनाबाट आतंकित नभएर सचेत भएर यसबाट बच्नुपर्छ। सबैलाई यहि आग्रह गर्दछु।’

त्यस्तै डा. भट्टराईले मृत प्रायः बनेको पर्यटन क्षेत्रलाई सरकारले ध्यानमा राखेर उपयुक्त कार्यक्रम ल्याउन सुझाव दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो पर्यटन क्षेत्र मृत प्रायः बनेको अवस्थामा छ। यसलाई जीवन्त पार्न सरकारले उपयुक्त कदम चाल्नुपर्छ। आन्तरिकत तथा बाह्य उडानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकियो भने देशलाई केही राहत पुग्छ।’ सरकारले व्यवसायी क्षेत्र र मजदूहरुका बारेमा उपयुक्त कार्यक्रम तय गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।  उनले भने, सरकार  कोरोनाको नाममा कमिसन र भ्रष्टाचार अनि लुटतन्त्रमा लागेको छ।’