मौद्रिक नीतिलाई लिएर हामी आशावादी छौं : चन्द्र ढकाल


काठमाडौं, २ साउन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई लिएर आफू आशावादी भएको प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिबारे रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै ढकालले उक्त नीतिलाई लिएर आफूहरु आशावादी नै रहेको बताए ।

उनले बैंकको व्याज तिर्ने भाका पछि सारिनु सुखद् पक्ष भएको बताए । उनले भने,‘साना तथा मझौला उद्योगहरुलाई सपोर्ट गर्नुपर्छ भन्ने हाम्रा मागहरु थिए, ती लगभग यो नीतिमा कभर भएको देखिन्छ ।’ मौद्रिक नीति सरसर्ती हेर्दा राम्रो लागेको र पोजेटिभ नै देखिाएको उनको भनाई छ । यद्धपी उनले नीति आफूले विस्तृतमा हेर्न नपाएकोले सबै अध्ययन गरेपछि यसबारेमा थप टिप्पणी गर्ने जनाए ।

बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताएका छन् । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ । यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जनाए । file photo