नेकपा सचिवालय बैठक सम्पन्न, अध्यक्षद्धय ओली र दाहाल शितलनिवासमा


काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सवा ३ बजेबाट सुरु भएको बैठक साँढे ७ बजे सम्पन्न भएको हो । चार घण्टाभन्दा बढि चलेको बैठकमा नेताहरुबीच ठोस सहमति भएको छैन् ।

बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमतिकै आधारमा समस्याको सम्बोधन गर्ने सहमति भएको बताए । उनले भने,‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निश्कर्ष निकालिएको छ ।’ उनकाअनुसार भोलि दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बस्नेछ ।

पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिको आधारमा संबोधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गर्ने र छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने छलफल र निर्णय भएको पनि उनले जनाएका छन् । यसैबीच, सचिवालय बैठक सम्पन्न हुनेबित्तिकै अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । तस्विर : प्रधानमन्त्रीको सचिवालय