Logo

नेपाल चेम्बर अफ कमर्सले गर्यो मौद्रिक नीतिको स्वागत



काठमाडौँ, ४ साउन : नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक रहेको ठहर गर्दै व्यावहारिक कार्यान्वयनका लागि आग्रह गरेको छ । चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी मौद्रिक नीतिले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै नयाँ अवसर सिर्जनाका लागि केन्द्रित भएको भन्दै खुशी व्यक्त गरेको छ ।

मौद्रिक नीति तयारीका क्रममा चेम्बरले दिइएका सुझावमध्ये करिब ७५ प्रतिशतभन्दा बढीको सम्बोधन गरिएको र विश्वव्यापी महामारीले उत्पन्न आर्थिक सङ्कटका बीच व्यवसायीबाट निकै अपेक्षा गरिएको नीतिबाट राहत प्राप्त गर्ने कुरामा आफूहरु विश्वस्त रहेकोे जनाएको छ । कोरोनाका कारण करिब तीन महिनादेखि सम्पूर्ण आर्थिक गतिविधि लकडाउन भएको अवस्थामा उद्योग व्यवसायका स्थायी खर्चका लागि तरलताको चरम अभाव सिर्जना भएको अवस्थामा चैत महिनाको चालू पूँजीमा २० प्रतिशत थप कर्जा प्रवाह गरिने व्यवस्थाले व्यवसायीलाई राहत पुगेको चेम्बरको ठहर छ ।

स्वयंसेवी शिक्षकलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले २७० स्वयंसेवक शिक्षकका लागि रु पाँच लाखका दरले सहयोग उपलब्ध गराएको छ । बैंकले ‘टिच फर नेपाल’लाई ग्रामीण क्षेत्रका समुदायिक÷सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषयको गुणस्तरीय शिक्षा प्रदान गर्न परिचालित स्वयंसेवक शिक्षकको व्यवस्था गर्न आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा बैंकले सो संस्थालाई उक्त सहायता रकम प्रदान गरेको हो । टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न सात जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकको व्यवस्था गरी ३० हजार बढी विद्यार्थीलाई विज्ञान, गणित, अङ्ग्रेजीलगायतका विषय पढाइरहेकोे छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीको उपस्थितिमा उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरे ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्