Logo

ओलीका खेर गएका पाँच तुरुप



काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र राजीनामा मागेपछि त्यसलाई टार्न एकपछि अर्को तुरुप फाल्दै आएका छन् । उनले अहिलेसम्म पाँचवटा तुरुप फालेका छन् । सबै तुरुप खेर गएपछि उनले अब कुन तुरुप फाल्ने हुन् भन्ने चासोको विषय बनेको छ ।

ओलीले पछिल्लो पटक मंसिरमा महाधिवेशन गरी प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरे । यसमा प्रचण्ड लचिलो भएका थिए । उनकै निकटस्थले उदारो सहमति लागु नहुने भन्दै प्रचण्डलाई सचेत गराए । लगत्तै प्रचण्ड कुनै सहमति नभएको र आफूहरुको माग यथावत् रहेको धारणा सार्वजनिक गराए ।

तर, यही प्रस्ताव माधवकुमार नेपाललाई पनि गरेका छन् । पूर्व एमाले एक हुनुपर्छ भन्दै आगामी महाधिवेशनमा अध्यक्ष बन्न सहयोग गर्ने प्रस्तावसहित राजीनामाबाट पछि हट्न भने । तर, नेपाल सहमत भएनन् । उनले पार्टी निर्णय अनुसार चल्नुपर्ने अडान राखे ।

बामदेव गौतमलाई राष्ट्रियसभामा लगेर उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिएर सरकारमा सहभागी गराउने देखि भविष्यमा नेकपा अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिए । तर, गौतम पटक पटक धोका खाइसकेकाले लचिलो भएनन् । यो तुरुप पनि खेर गयो ।

ओलीले आफ्नो राजीनामाबाट पछि हटेमा पार्टी फुट्नेसम्मको डर देखाए । उनले अध्यादेश ल्याएर ३० प्रतिशत सांसद सदस्य भएपनि पार्टी फुटाउन सकिने प्रावधान ल्याउन खोजे । तर, पार्टीभित्र आफू निटस्थ नै फुटको पक्षमा देखिएनन् । यतिसम्मकी शंकर पोखरेल नै ओलीलाई अन्तिम समयसम्म साथ दिने तर पार्टी फुटाउने पक्षमा नजाने भए । त्यसपछि ओली पछि हटे । उनको यो तुरुप पनि खेर गयो ।

ओलीले संकटकालको पनि डर देखाए । कोभिड १९ को महामारीलाई देखाएर संकटकाल लगाउनसक्ने अवस्था पनि रहेको छ । तर, ओलीलाई त्यस्तो कदम नचाल्न उनकै सहयोगीहरुले सुझाए । यसरी यो तुरुप पनि तत्कालका लागि टरेको छ ।

ओलीले कुनै हालतमा पद नछाड्ने अडान छाडेका छैनन् । बरु उनी एकपछि अर्को तुरुप फाल्दै पार्टी भित्र र बाहिरको राजनीतिलाई तरंगित बनाइरहेका छन् । उनको रणनीतिक चार्तुयताले राजीनामाको माग गरिरहेकाहरु अझै गलेका छैनन् । नेकपाभित्र ओली गल्नेछन् या उनका विरोधी पछि हट्नेछन् यो चासोको विषय बनेको छ ।

ओलीको राजीनामाको मागमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम ओलीको राजीनामामा टसमस भएका छैनन् । अहिलेसम्मको स्थितिमा सचिवालयका ९ मध्ये ६ जना ओलीको राजीनामा माग्ने पक्षधरमा छन् । जसलाई छिन्नभिन्न पार्न ओलीले धेरै प्रयास गर्दै आएका छन् ।

एकपछि अर्को राजनीतिक तुरुप खेर गएपनि ओली थाकेका छैनन् । उनले अझैपनि तुरुप फाल्ने सम्भावना छ । भदौभित्र केन्द्रीय कमिटी डाकेर भएपनि ठोस निर्णयमा पुग्ने ओलीविरोधी पक्षको तयारी छ । तर, यस अगाडि नै सहमति निकाल्ने गरी नेकपाभित्र प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्