Logo

गाडी चलाउने बारे व्यवसायी विभाजित



काठमाडौं, ५ साउन । सार्वजनिक सवारी साधन संचालन गर्ने बारेमा यातायात व्यवसायीहरु नै विभाजित भएका छन् । व्यवसायीहरुको एउटा समूहले आजदेखि यातायात सेवा सूचारु गर्ने जनाएको छ भने अर्को पक्ष अझै पनि छलफलमै रहेको छ ।

सार्वजनिक यातायात व्यवसायी महासंघले आफू मातहतका यातायात व्यवसायीहरुलाई आजदेखि यातायात सेवा सूचारु गर्न आग्रह गरेको छ भने यातायात व्यवसायी राष्ट्रिय महासंघले आज पनि छलफल नै गर्न लागेको छ ।

यातायात सेवा सुचारु गर्ने निर्णय सरकारले केही दिन पहिले गरेपछि अनेक समस्याका कारण तत्काल सवारी साधन संचालन गर्न आनाकानी गर्दै अनेक सर्त राखेका व्यवसायीहरु अहिले आफै विभाजित भएका हुन् ।

यातायात सेवालाई कसरी सूचारु गर्ने भन्ने बारेमा आज पनि दिउँसो १ बजे व्यवसायीहरुका बीचमा छलफलको आयोजना गरिएको महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

उनका अनुसार मौद्रीक नीतिले व्यवसायीका धेरै मागहरुलाई सम्वोधन गरेकाले व्यवसायीहरु खुशी भएर सवारी साधन चलाउन तयार रहेका छन् । तर उनीहरुले अझै एउटा सर्त भने पुरा नभएकाले त्यसका बारेमा छलफल चलिरहेको हो ।

यातायातका साधन संचालन गर्दा स्वास्थ्य सुरक्षा छ भन्ने सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने विषय मात्रै अहिले आफुहरुको सर्त रहेको अध्यक्ष स्वारले बताए ।

उहाँका अनुसार सार्वजनिक यातायातका यात्रु र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा र सतर्कता सुनिश्चित गर्ने उपायहरुका बारेमा आजको बैठकमा छलफल हुनेछ ।

यातायात मजदुर र यात्रुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने केही मापदण्डहरु तयार पारेर यातायात सेवा सुचारु गरिने अध्यक्ष स्वारले जानकारी दिए ।-रेडियो एनआरएनबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot