Logo

बादल र लेखराजले प्रचण्डको साथ छाडे



काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान खुमलटारस्थित निवासमा आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई बोलाए । पूर्व माओवादी स्थायी कमिटी सदस्यहरुसँग परामर्शका लागि बोलाएको भेलामा सबै सहभागी भए तर सरकारमा रहेका दुई प्रभावशाली नेता अनुपस्थित रहे ।

नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल र स्थायी कमिटी सदस्य समेत रहेका आपूर्तिमन्त्री लेखराज भट्ट अनुपस्थित रहे । दुवै नेता प्रचण्डकै पहलमा मन्त्री बनेका हुन् । भट्टले यसअघि नै गुट छाडेको सन्देश दिइसकेका थिए । उनी पछिल्लो समय अर्का अध्यक्ष केपी शर्मा ओलीको नजिक पुगेका छन् । प्रचण्ड पक्षीय भेलाहरुमा सहभागी हुन छाडेका छन् ।

बादलले अहिलेसम्म तटस्थ रहेको सन्देश दिइरहेका छन् । उनी प्रधानमन्त्री ओलीको राजीनामा माग्ने समुहको सचिवालय सदस्यको भेलामा यसअघि सहभागी हुँदै आएकामा हिजोबाट अनुपस्थित रहन थालेका छन् । आज पनि उनको अनुपस्थितिलाई अर्थपूर्ण मानिएको छ ।

नेकपाभित्र प्रचण्डले आफ्नै पक्षका केही नेताहरुले साथ छाडेपछि गम्भीरता देखाएको बुझिएको छ । उनले यसबारे निकटस्थसँग पनि गुनासो गरेको विश्वस्त स्रोतले बताएको छ ।

बादल राष्ट्रियसभा सदस्य हुन् । लेखराज भने प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका हुन् । प्रचण्ड र बादलको राजनीतिक भुगोल चितवन नै हो । लेखराजको भने सुदुरपश्चिम हो । प्रचण्डले पछिल्लो समय भीम रावललाई प्राथमिकता दिन थालेपछि भट्ट रुष्ट भएका छन् ।



प्रतिक्रिया दिनुहोस्