Logo

गुर्जोको उपयोगिता/फाईदाबारे अभियान चलाउँदै राजलवट, देशव्यापी रुपमा निःशुल्क बिरुवा वितरण (भिडिओसहित)



काठमाडौं, ६ साउन । कमल बहादुर राजलवटले गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी भईने बताउँदै आफू यो देशव्यापी अभियानमा होमिएको स्पष्ट पारेका छन् । र, आगामी तीन वर्षभित्रमा नेपालबाट विदेशमा समेत गुर्जो निर्यात गरिने उनले जनाए । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले गुर्जोको फाईदा धेरै भएकोले नेपालमा प्रत्येक घर–घरमा गुर्जोको बिरुवा राख्नुपर्ने बताए । उनले भने,‘गुर्जो प्रत्येक घरमा राख्नुपर्छ । बगैंचामा, पार्टी, पौवा, पार्क, सामूदायिक चौरहरुमा राखिनुपर्छ । यसको अत्यधिक फाईदा छ ।’

उनले यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको पनि जानकारी दिए । उनकाअनुसार यसका मुख्य तीन वटा गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारिरीक शक्ति बढाउने, शरिरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने रहेका छन् । उनले भने,‘गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पूरानोभन्दा पूरानो ज्वरोपनि निको पार्दछ ।’

गुर्जोको गुणहरु त्रिदोष नाषक (वात, पित्त, कफ), एन्टिी–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–ईन्फ्लामेटरी कुलिङ्ग, एन्टी–ट्युमर र एन्टी–एसिड लगायतका धेरै रहेका छन् ।

गुर्जोको फाईदा तथा उपयोगिताहरुमा ग्याँस्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाईटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्यको लागि पनि उपयोगी हुने राजलवटले जनाए ।
त्यस्तै, यसले पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुने उनको भनाई छ । त्यस्तै, पाईल्स, पेटसम्बन्धी समस्या, श्वाँसप्रश्वाँससम्बन्धी समस्या, आँखाको विकार तथा कमजोरी हटाउने, छालासम्बन्धी सबै समस्याहरु समाधान गर्नै पनि उनले जनाए ।

उनले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढि गुर्जोको बिरुवा/बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिए । आगामी दिनमा आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले यो बाढि/पहिरोलगायतका प्राकृतिक विपद् नआएको भए धेरै जिल्लामा हामीले यसको निःशुल्क सेवा गरिसकेका हुनेथियौं ।’ उनले आफूहरुलाई यो सेवाको लागि अति सामान्य खर्चमात्रै हुने गरेको र यसमा घरपरिवारका सदस्य, कार्यालयका कर्मचारी साथीहरुले पनि सहयोग गरिरहेको जनाए ।

राजलवट आन्तरिक राजश्व कार्यालय, लहान–सिराहामा प्रमुख कर अधिकृतको पदमा कार्यरत छन् । कार्यालय समयबाहेक बिहान र बेलुकाको समयमा उनले यो सेवामा आफू खटिने गरेको पनि स्पष्ट पारे । उनले यसको विरुवा चाहिए सम्पर्क गर्न सकिने भन्दै आफ्नो निजी नम्बर ९८५११–५४९८० उपलब्ध गराएका छन् ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले राजलवटले सुरु गरेको अभियान धेरै सकारात्मक रहेको भन्दै धन्यवाद दिए ।कोरोनाबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने औषधी निःशुल्क वितरण गर्नु खुशीको कुरा भएको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्