Logo

राष्ट्रपति भण्डारीद्वारा बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता, मिडियाको भूमिकाको प्रशंसा



काठमाडौं, ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता गरेकी छिन् । राष्ट्रियताको सवाल र कोरोना महामारीलगायत बाढि/पहिरोजस्ता राष्ट्रिय विपत्तिको विषयमा नेपालका मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले मिडियाको भूमिकाको प्रशंसा गरेकी थिईन् ।

उनले राष्ट्रियताको सवालमा खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित नयाँ नक्शा प्रकाशनको सवालमा नेपाली मिडियाले अभुतपूर्व योगदान पुर्याएको धारणा राखेकी थिईन् । राष्ट्रपति भण्डारीले मिडियाले खेलेको भूमिकाको बारेमा मुक्तकण्ठले प्रशंसा गरिन् ।

उनले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भैंसी चराएर आएको र आफू भकारो फालेर आएको कुरा पनि स्मरण गराएकी थिईन् । उनले पूर्व राष्ट्रपति डा. यादवले आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेको बताईन् । ‘जतिबेला उहाँ राष्ट्रपति हुनुभएको थियो, त्यतिवेला उहाँलाई धेरै अप्ठ्यारो थियो ।’–भण्डारीले भनिन् । आफूले पनि गर्व गर्नलायक काम गर्ने र राष्ट्रपति कार्यालयको गरिमा बचाउने उनको भनाई थियो ।

आफूले संविधानले दिएको अधिकारको दायराभित्र बसेर देश र जनताको पक्षमा काम गरेको पनि उनको भनाई थियो । ‘नेपाली जनजीवीकाको बारेमा मलाई राम्रोसँग थाहा छ । म गाउँबाट आएको मान्छे हुँ। म देश र जनताको समस्याबारे जानकार छु’–उनले थपिन्,‘त्यसैले जनताको हित हुनेगरि काम गर्न सरकारलाई सधैं आफ्नो तर्फबाट भनिरहेको छु।’

उनले मदन भण्डारीको धर्मपत्नीको रुपमा आफूलाई गौरव भएको र मदनले अघि सारेको विचार आजपनि उत्तिकै समयसान्दर्भिक रहेको चर्चा गरिन् । राष्ट्रपति भण्डारीले अहिले नेपाली समाजमा पितृसत्तात्मक सोच हाबी रहेको उल्लेख गर्दै यसलाई जरैदेखि उखेल्नुपर्ने धारणा राखिन् ।

रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे आफूलाई पनि चिसो पसेको तर यो अदालतको कुरा भएकोले धेरै बोल्न नचाहने उनको भनाई छ । उनले आफूसँग सत्तारूढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल र नेताहरूले भेटेकोबारे पनि चर्चा गरिन् । आफूले नेताहरुसँगको भेटमा देशको समसामयिक विषयमा चासो राख्ने गरेको उनको स्पष्टोक्ति थियो ।

राष्ट्रपति भण्डारीले भारत, चीन, अमेरिकालगायत अन्य देशसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएकी थिईन् । एमसीसी पारित नहुँदैमा अमेरिकासँगको नेपालको सम्बन्ध नबिग्रिनेपनि उनको दाबी छ । वर्तमान सरकारले राम्रो काम गरेको उनको भनाई थियो । तर, जति गर्नुपर्नेथियो त्यति नभएको हो कि भन्ने उनको बुझाई छ । उनले प्रमुख दलहरु मिलेर अघि बढ्दा मुलुक र जनताको हित हुने तर्क गरिन् । उनले विलाषी भएको भएको भनेर आफ्नोबारे आएका समाचारको पनि चासो राखेकी थिईन् । file photo



प्रतिक्रिया दिनुहोस्