Logo

अन्तर्राष्ट्रिय उडान नखुल्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल



काठमाडौं, ११ साउन । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सिपिएल खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले बताउनुभयो । “ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन”, उहाँले भन्नुभयो, “सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्ने हुन्छ”, सिवाकोटी नेपाली क्रिकेट टोलीको भिडियो एनालिस्ट पनि हुनुहुन्छ ।

सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो । “सन्दीप टोबागो कसरी पुग्ने भन्नेबारे विभिन्न निकायसित सल्लाह गरिरहेका छौँ”, व्यवस्थापक सिवाकोटीले भन्नुभयो ।

सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सिपिएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँहुन्छ । “सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “ त्यहाँ पुग्ने सरकारको सहयोगबाहेक अरु कुनै उपाय छैन”, सन्दीपको टोबागो यात्राबारे आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायत सरकारी निकायसित आवश्यक सहयोगका लागि अनुरोध गर्ने सिवाकोटीले बताउनुभयो । सरकारको सहयोगले एउटा नेपाली खेलाडी विदेशमा खेल्न सक्ने र खेलका माध्यमले विदेशमा नेपालको इज्जत र प्रतिष्ठा बढ्ने उहाँेको बुझाइ छ ।

एक साताभित्र सन्दीप टोबागो पुग्न नसके उहाँले सिपिएल गुमाउनुपर्ने अवस्था आउनेछ । “ उता पुगिसके पछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, सिवाकोटीले भन्नुभयो, “हामीसित समय निकै कम छ, सरकारले आजभोलिमै पहल गरिदिए सन्दीपले सिपिएल खेल्ने सम्भावना रहन्छ ।” सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसक्नुभएको छ । उहाँलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर ९रु एक करोड ५६ लाख० मा अनुबन्ध गरेको हो । उहाँ उक्त टिमको मार्की खेलाडी हुनुहुन्छ । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसक्नुभएको छ ।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने समाचार आजको वीनेपालीले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्