Logo

लापरवाहीले निषेधाज्ञा



वीरगन्ज, साउन ११ । सरकारले लकडाउन खोलेको केही दिनमै वीरगन्जमा निषेधाज्ञा लगाउनुमा लापरवाही देखिएको छ। भारतको बिहारसँग खुला सीमा जोडिएको र बिहारमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेका कारण पनि वीरगन्ज अझै उच्च जोखिममा परेको हो।

‘दुवै देशको नाका सिल छ तर लकडाउन खुकुलो भएसँगै लुकिछिपी मान्छेहरू वीरगन्ज छिर्न सुरु गरिसकेका थिए’, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले भने, ‘नाकामा खटिएका सुरक्षाकर्मीले ५÷५ सय रुपैयाँ लिएर मान्छेलाई उताबाट यता छिराएका छन्। यही लापरवाहीले आज वीरगन्जको यो अवस्था आएको हो।’ उनका अनुसार, वीरगन्जमा कैयन पसले रक्सौलका निवासी हुन्। उनीहरू बिहान रक्सौलबाट आएर पसल खोल्थे, साँझ घर फर्किन्थे। नाकामा कुनै किसिमको रोकटोक थिएन। बिहीबार राति वीरगन्जमा संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक रहेको तथ्यले पनि सर्राफको तर्कलाई पुष्टि गर्दछ। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक रहेको बताइन्। उनीहरू लुकिछिपी वीरगन्ज छिरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले भने स्थानीय प्रहरी प्रशासनको लापरवाहीका कारण वीरगन्जमा कोरोना समुदायस्तरमा फैलिएको आरोप लगाए। नाका बन्द रहेको भनिए पनि सुरक्षाकर्मीले नाकामा आवागमन रोक्न नसकेका कारण वीरगन्जमा संक्रमितको संख्या बढेको उनको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्