Logo

ओलीसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार रहेन, ओली-देउवा भेटवार्ता पारदर्शी बनाइनुपर्छ : पौडेल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदिप पौडेल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको स्पष्ट पारेका छन् । सरकार विभिन्न ठाउँमा चुकेको उनको आरोप छ । आइतबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भनेका छन्, यो सरकारले नेपालभित्रकै परिस्थिति सम्हाल्न सकेन । त्यसैले यो सरकारको अवधि जति लम्बियो, त्यति नेपालमा समस्या थपिँदै जान्छ । त्यसैले यो सरकारले अहिलेको विषम परिस्थिति सम्हाल्न सक्दैन भन्ने निष्कर्ष हामीले निकालेका हौ । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको हो ?

त्यो विषय अहिले छलफलकै क्रममा छ । त्यस्तो अहिले केही आइसकेको छैन ।

नेताहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ भनेर हिजो रिपोर्टर्स क्लब नेपालमा भन्नुभएको छ ? तपाईं के भन्नुहुन्छ ?

उहाँसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार रहेन । विभिन्न ठाउँमा यो सरकार चुक्यो । यसले नेपालभित्रकै परिस्थिति समाल्न सकेन । त्यसैले यो सरकारको अवधि जति लम्बियो, त्यति नेपालमा समस्या थपिदै जान्छ । त्यसैले यो सरकारले अहिलेको विषम परिस्थिति समाल्न सक्दैन भन्ने निष्कर्ष हामीले निकालेका हौ । तर यसको विकल्पको सन्दर्भमा हामी मात्रै लागिपरेर सम्भव हुँदैन । हामी नेपाली कांग्रेसको उद्देश्य सरकार होइन । खाली देशमा अमनचयन कायम हुनुपर्छ । विषम परिस्थितिको नेतृत्व प्रभावकारी ढंगले गरिदिनुपर्छ । त्यसका लागि यो सरकारको विकल्प खोज्नुपर्छ भन्नेसम्मको कुरा हाम्रो बीचमा भएको हो । संसद्को बैठक बोलाउने सन्दर्भमा यो छलफलकै विषय छ । अहिले परीणामको लागि अगाडि बढेको स्थिति छैन ।

देशको अवस्था हेर्दाखेरि जताततै बेथितिहरु छन् । जनताले भनेका छन्, सरकारले काम गर्नुपर्छ, हाम्रो चाहनानुसार भन्नेहरु धेरै छन् । मैले प्रत्येक दिन बहस गर्छु, जनस्तरको कुरा गर्दाखेरि । तर कांग्रेस पार्टी पनि मौन छ । सरकारसँग सहकार्य गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा त बारम्बार बालुवाटार जानुहुन्छ र भन्नुहुन्छ, तपाईले राम्रो काम गरिरहनु भएको छ, तपाईलाई मेरो समर्थन छ ।

हाम्रो पार्टीभित्रै उठाइरहेको कुरा के हो भने हाम्रो सभापतिको भेट प्रधानमन्त्रीसँग पारदर्शी बनाइनुपर्छ । प्रधानमन्त्री कार्यालय वालुवाटारभित्र बोलाइन्छ तर भित्री कुरा भागबण्डाको कुरा सभापतिले गर्नुभयो भनेर वालुवाटारले नै सार्वजनिक गर्छ । वालुवाटारले भेटघाटको आयोजना गर्छ । हाम्रो सभापति सहज ढंगले जानुहुन्छ । प्रधानमन्त्रीसँग भेट्ने कुरा अन्यथा विषय भएन तर, गर्दै नगरेको कुरा प्रधानमन्त्रीकै सचिवालयबाट बाहिर आउँछ भने त्यो भेटघाट सजिलै हुन्छ । यसमा हाम्रो पनि प्रश्न छ । हाम्रो पार्टी सभापतिले भेटघाटको विषयलाई पारदर्शी बनाउनुपर्छ । तर हामी कुनैपनि भागबण्डाको पक्षमा छैनौँ । के.पी. ओलीको नेतृत्वमा अहिलेको यो सरकार सफल ढंगले यो विपत्तिमा अगाडि जान सक्दैन । प्रधानमन्त्रीलाई हटाउने प्राविधिक क्षमता हाम्रो नभएकाले हामीले उहाँलाई स्वीकार गरिरहेका छौँ यद्यपि ओली नेपालको प्रधानमन्त्री हुन मिल्दैन, उहाँ प्रधानमन्त्री भइराख्नुभएको छ, यो नेकपाको असफलता हो भन्ने कुरामा दृढता हामीले धेरै अगाडिबाट गरिरहेका छौँ । तर पनि सभापतिले भेटेको र भेटेर विभिन्न कुराहरु गरेको यो वैकल्पिक स्थितिमा समन्वय गरेको विभिन्न विषयहरु बाहिर आउँछन् । यसमा सत्यता छ भन्ने आशंका बढ्नुमा भेटेर पारदर्शीता नहुनुले बढेको हो । त्यसकारणले पार्टीभित्र सभापतिज्युलाई हामीले पहिलेपनि भनेका थियौँ र अब पनि के भन्छौँ भने भेटघाट पारदर्शी हुनुप¥यो । भेटघाटमा कुनै विषयको भागबण्डाको कुरा गर्नुभएन । सरकार अत्यन्तै असफल छ । सरकारले नेतृत्व गर्न सकिरहेको छैन । म अहिले पनि तनहुँमा छु । यहाँ धेरै धनजनको क्षति भएको छ । धेरै घरहरु पहिरोले पुरिएर समाप्त भएका छन् । बाढीले गर्दा ज्यान गएको छ । खेती सम्पूर्ण रुपमा बाढीले लगेको अवस्था छ । तर सरकारले के सहयोग गर्नुपर्ने हो, कस्तो राहत दिनुपर्ने हो, त्यो केही दिएको छैन । यहाँ मात्र होइन देशैभरि त्यो खालको परिस्थिति छ । यतिबेला बाढी पीडितलाई कसरी सहयोग गर्ने ? कोरोनाको संक्रमणबाट जनतालाई कसरी सुरक्षित गर्ने ? देशका तमाम समस्याहरु कसरी हल गर्ने ? भन्ने बारेमा यो सरकारलाई कुनै चासोे छैन । आफ्नो पार्टीभित्र कसरी बलियो हुने ? कसरी पार्टीभित्रको समस्याबाट मुक्त हुने ? भन्ने छ ।

तपाईको पार्टीभित्र पनि नेताहरुको व्यक्तिगत स्वार्थ होला । शेरबहादुर देउवा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई बलियो भएको देख्न चाहनुहुन्छ । उहाँले त संकेत पनि गर्नुभएको छ, सरकार ढल्यो भने अथवा पार्टी फुट्यो भने म तपाईलाई साथ दिन्छु भनेर वालुवाटारमा गएर उहाँले भन्नुभएको छ । कांग्रेसको बटमलाइन के हो ?

यदि सभापतिले त्यसो भन्नुभएको हो भने त्यो अर्कै कुरा हो । हामीले भनेका छौँ कि के.पी. ओली प्रधानमन्त्रीको लागि असफल व्यक्ति हो । उहाँले नेपालको लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ । कहिले अध्यादेश पारित गर्नुभएको छ, कहिले संसद्मा विधेयकहरु प्रस्तुत गरेर प्रहार गर्नुभएको छ । कहिले अभिव्यक्तिहरुमार्फत प्रहार गर्नुभएको छ । नेपालका आन्तरिक र बाह्य समस्याहरु छन् । ती समस्याहरु समाधान गर्नका निम्ति के.पी. ओली काबिल व्यक्ति होइन । हामीले त काबिल प्रधानमन्त्री खोजेको हो । नेकपाभित्रैबाट पनि उहाँभन्दा काबिल व्यक्ति, अहिलेको परिस्थितिलाई नभड्काउने, राम्रो मान्छे आइदिओस् भन्ने हाम्रो चाहना हो । नेपाली कांग्रेसले के.पी. ओलीलाई प्रधानमन्त्रीका रुपमा बस्ने आधार उहाँमा छैन भनेर पहिल्यै निर्णय गरिसकेको छ । विश्वास गरेर के.पी. लाई बलियो बनाउने काम सभापतिले गर्नुभएको छ भने त्यो उहाँले निजी ढंगले गर्नुभएको हो । त्यसमा कुनै पनि संस्थागत कुरा छैन । संस्थागत ढंगले कही कतै त्यो विषयलाई निर्णय गरिएको छैन ।

सम्बन्ध राम्रो भएको छ पछिल्लो समय, भित्र शेरबहादुर देउवा नरम हुनुहुन्छ, प्रधानमन्त्रीप्रति । उहाँको कुरा एकदम सकारात्मक छ । बाहिर विरोध गरे पनि, पार्टीले अर्को निर्णय गरे पनि । तपाईको पार्टीभित्र पार्टी सभापतिले जे भन्यो त्यही हुन्छ नि, उहाँ त सभापति हो नि ।

केही समय अगाडि के.पी.ओलीले अध्यादेश ल्याउनुभयो । केही संवैधानिक परिषद्मा प्रतिपक्ष दलको नेता नभए पनि निर्णय गर्न सकिने भयो । त्यो किन ल्याउनुभयो उहाँहरुको तर्फबाट भन्दा संवैधानिक परिषद्मा शेरबहादुर देउवा रहिरहँदा हामीलाई अप्ठ्यारो भयो, हामीले मन लागेको निर्णय गर्न पाइएन । हाम्रो मान्छेलाई संवैधानिक परिषद्, संवैधानिक अंगहरुमा लिएर जान पाइएन । त्यहाँबाटै बुझ्नुपर्छ कि के.पी. ओली र शेरबहादुर देउवाबीचको सम्बन्ध कस्तो रहेछ ? अब त्योभन्दा पछाडि पनि निरन्तर भेटघाटहरु भयो । कुनै पनि साझा राजनीतिक विषयबाहेक अरु विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न जरुरी छैन । प्रधानमन्त्रीको सचिवालयले पनि त्यो भेटलाई सकारात्मक ढंगले व्याख्या नै गर्दैन । उहाँ आउनुभयो, सबै राजनीतिक अंगमा भागबण्डा खोज्नुभयो भनेर मेरो यो गर्दिनुछ र ऊ गर्दिनुछ भन्नुभयो । प्रधानमन्त्रीकै सचिवालयबाट नै यस्तो समाचार मिडियाहरुमा जाने गरेको छ । जब कि त्यो भेटघाटकै बारेमा नकारात्मक सन्देश बाहिर दिने, सभापति किन भेट्न गईरहनुहुन्छ ? पार्टीले संस्थागत रुपमा के.पी. ओलीको जे निर्णय गरेको छ, त्यो निर्णयमा अडिग रहन पनि त्यो ढंगको भेटघाट स्वाभाविक छैन । त्यो विषय के.पी. ओलीसँग जतिखेरै भेटघाट गरे पनि त्यो भेटघाटमा नै सीमित हुन्छ । त्यहाँ कुनै निर्णय हुँदैन । भएको निर्णय कार्यान्वयन हुन पनि सक्दैन । हामीले प्रष्ट रुपमा के भनेका छौँ भने प्रधानमन्त्रीलाई भेट्ने कुरा अस्वाभाविक होइन । तर बारम्बार भेटिरहने र भेटेको कुरा पारदर्शी नहुने भन्ने कुरा स्वाभाविक भएन । त्यसकारण सभापतिज्यु तपाईले भेटेको कुरा पारदर्शी हुनुपर्छ, सार्वजनिक रुपमा मिडियामा आउनुपर्छ र पार्टीलाई जानकारी गराइनुपर्छ ।

अहिलेसम्म तपाईहरुले प्रधानमन्त्री के.पी. शर्मा ओलीको राजीनामा माग्नुभएको छैन ? तपाईहरु भनिरहनु भएको ५ वर्षको प्रधानमन्त्री हो भनेर ।

त्यो एकदम गलत कुरा हो । हामीले के.पी. ओलीलाई ५ वर्षको प्रधानमन्त्री भनेका छैनौँ । नेकपालाई ५ वर्षसम्म सरकार चलाउन जनताले म्यान्डेट दिएका हुन् ।

कांग्रेसकै धेरै नेताहरुले मसँगपनि भन्नुभएको छ ?

पार्टीभित्र पनि योग्य मान्छे रहेनछन्, त्यसैले पार्टीले उहाँको विकल्प ल्याउन सक्नुभएन । हामी सरकारमा जाँदैनौँ तर के.पी. ओलीलाई प्रधानमन्त्रीका रुपमा हामीले समर्थन गरिरहेका छैनौँ । नेकपाले नै समर्थन गरेर उहाँ रहिरहनुभएको हो । संसद्मा जसको गणित ज्यादा छ, त्यसैलाई प्रधानमन्त्री बनाउने हो । नेपालको प्रधानमन्त्रीले के भन्नुभयो भने भारतले प्रधानमन्त्री बनाउँछ, मलाई हटाउनका निम्ति भारतले चलखेल गरेको छ, त्यो उहाँले पार्टीभित्र भारतका एजेन्टहरु छन् भनेर भन्नुभयो । के.पी. गैर–जिम्मेवार भाषा बोल्ने प्रधानमन्त्रीभन्दा ज्यादा केही कुरा छैन । तर हामीले परिस्थितिलाई असल ढंगबाट विश्लेषण गर्न सक्छौँ । तर प्रधानमन्त्री बनाउने र हटाउने काम हामीले गर्न सक्दैनौँ । आजको दिनमा यो विपद्मा सरकार चलाउने काबिलियत प्रधानमन्त्रीसँग भएन । त्यो उहाँको विकल्प खोज्नुपर्छ भनेर हामीले भनेका छौँ ।

नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व पनि व्यवस्थापन भएको छैन, मनमुटाव छ । गोविन्दराज जोशीसहित ३ जना नेता पार्टीबाट निष्कासित भए । पुष्पनाथ ओझा पनि कारबाहीमा पर्नुभयो । किन ? के कारणले तपाईहरुले उहाँहरुलाई निष्कासित गर्नुभयो ?

यो अब अनुशासन समितिले किन गरेको हो, उहाँहरुले तथ्य प्रमाण के के ल्याउनुभएको छ, के कारणले उहाँहरुलाई निष्कासन गरेको छ, त्यो मलाई जानकारी छैन । त्यसकारण त्यो केन्द्रिय समितिमा आउँछ र केन्द्रिय समितिमा छलफल हुन्छ ।

उहाँ त पूर्वसहायक महामन्त्री पनि हो । पटकपटक मन्त्री भएको नेता हो, गोविन्दराज जोशी ? अहिले कारबाही गर्नुपर्ने बाध्यता किन प¥यो कांग्रेसलाई ?

निर्वाचनका सम्बन्धमा भएका गतिविधिसँग जोडिएका केही विषयहरु थिए । त्यसमा दुईमत भएन । उहाँले तनहुँकै संगठन निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । केन्द्रिय पदाधिकारीसरह भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँ पनि इमान्दार पुरानो मान्छे हुनुहुन्छ । तर कारबाही गर्ने कारण के हुनसक्छ, निर्वाचनका सम्बन्धमा तथ्य प्रमाण जुटाएर अनुशासन समितिले गरेको हुन सक्छ । हामीले त्यही आधारमा निर्णय गरेका हौ भनेर त्यो विषयमा अगाडि आउँछ । केन्द्रिय समितिमा त्यस विषयमा छलफल हुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापासहित ३१ जना कांग्रेसमा प्रवेश गर्ने तयारीसहित प्रतिबद्धता गरेका छन् भन्ने कुरा बाहिर आएको छ,

तपाईहरु कांग्रेसमा भिœयाउँदै हो उहाँहरुलाई ?

यसबारेमा संस्थागत छलफल भएको छैन । पार्टीभित्र छलफल भईरहेको, कसलाई ल्याउने भन्नेसम्म कुराकानी भएको हामीले सुनेको हो । त्यसलाई केन्द्रिय समितिमा ल्याएर छलफल गर्नुपर्छ । उहाँहरुलाई कस्तो पोजिसन दिने, त्यसबाट पार्टीलाई कस्तो फाइदा हुन्छ ? भन्ने कुराको बृहत व्याख्या गर्नुपर्छ । उहाँहरुले रोज्नुभयो, आउने भन्नुभयो त्यो एउटा विषय भयो तर कांग्रेसमा कसरी आउने ? भन्ने प्रक्रिया हुन्छ ।

उहाँलाई त महामन्त्री पद दिने हो ?

त्यसबारेमा संस्थागत छलफल भईसकेको अवस्था छैन ।

FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot