Logo

केपी ओली सर्वेसर्वा होईन : युवराज ज्ञवाली



नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीको सर्वेसर्वा नभएको बताएका छन् । अहिलेको विवादले पार्टी नफुट्नेपनि दाबी गरेका छन् । उनले अहिले देखिएका पार्टीभित्रका विवाद पनि बैठकबाट टुंग्याउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्,‘। यो बाहिर कुरा गरेर एक्लै–एक्लै भेटेर हुँदैन । सबै कुरा पार्टी कमिटीका बैठकबाट टुँगो लगाउनुपर्छ ।’ प्रस्तुत छ ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन भएन । पार्टी फुट्ने नै भयो ?

पार्टी फुट्ने होइन । पार्टी व्यवस्थापन हुन्छ ।

कसरी हुन्छ ? नेताहरू एकै ठाउँमा बस्न सकेका छैनन् । विवाद छ नि ?

बैठक बसिसकेपछि सबै एकै ठाउँमा भईन्छ । बैठक १३ गतेलाई (पर्सि) तोकेको छ ।

उसो भए तपाईलाई स्थायी कमिटीको बैठक १३ गते बस्छ भनेर विश्वास छ ?

बैठक बस्नैपर्छ ।

बैठक बस्नैपर्छ भनेर नेताहरूले मान्नुभएको छैन ?

होइन, नेताहरूले मान्नुपर्छ । हामी पनि नेता नै त हो नि । बैठकमा हामी उपस्थित हुन्छौँ । हामी आफ्नो कुरा राख्छौँ । त्यसो हुनाले बैठकबाट टुंग्याउनुपर्छ । यो बाहिर कुरा गरेर एक्लै–एक्लै भेटेर हुँदैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नै राख्न चाहनुभएन भने के गर्ने ?

उहाँले नचाहे पनि कमिटीले चाहेपछि बैठक बस्छ । कमिटीले उहाँलाई आउनुस् भनेर बोलाउनुपर्छ । सबै कुराहरू त्यही छलफल गरेर टुंग्याइदिनुपर्छ ।

सर्वेसर्वा त प्रधानमन्त्री के.पी. शर्मा ओली हो नि तपाईको पार्टीबाट ?

सर्वेसर्वा कमिटी हो । पार्टीको विधान हो । केन्द्रिय कमिटीमा सर्वेसर्वा कोही पनि होइन ।
पार्टीभित्र पछिल्लो समय सर्वेसर्वा प्रधानमन्त्री देखिनुभएको छ ? प्रधानमन्त्रीले जे भन्नुहुन्छ, त्यही गर्नुपर्छ तपाईहरूले ।सर्वेसर्वा कुनै एक व्यक्ति हुँदैन लोकतन्त्रमा ।

उहाँ त पार्टी अध्यक्ष पनि हो, प्रधानमन्त्री पनि हो देशको ।

केन्द्रिय कमिटीले नै उहाँलाई पार्टी अध्यक्ष बनाएको हो । केन्द्रिय कमिटीले नै उहाँलाई प्रधानमन्त्री बनाएको हो । उहाँ आँफै स्वयम् केही भएको होइन ।

पछिल्लो समय प्रधानमन्त्रीले केही अडानहरू लिनुभयो । तपाईको पार्टीभित्र उहाँको व्यक्तित्व बढेको कारणले गर्दाखेरि तपाईहरूले विरोध गर्नुभयो अरे ?

हामी यो देशकै लागि लडिरहेका छौँ । लड्दै लड्दै कयौँले बलिदान दिइसके, शहीद भईसके । राष्ट्रियताको लागि लडिरहेका छौँ । उहाँ प्रधानमन्त्री भएको हुनाले स्वत : उहाँले जश पाउने छँदैछ । पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भएको हुनाले उहाँले जश पाउनुहुन्छ नै । तर पार्टीका हामी सबै राष्ट्रको लागि लड्दै आएका हौ ।

अब प्रधानमन्त्रीले एउटा प्रस्ताव अगाडि सार्नुभएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीसामु । राष्ट्रपतिले पनि भन्नुभएको छ–पार्टी मिल्नुपर्छ, नेताहरू मिल्नुपर्छ । एकल अध्यक्षको सम्पूर्ण अधिकार दिएर प्रचण्डलाई जिम्मेवारी दिन प्रधानमन्त्री तयार हुनुभएको छ । यसमा कुरा मिल्छ ?

राष्ट्रपतिसँग कुरा मिलाएर पार्टी मिलाउने, नमिलाउने भन्ने कुरा होइन । राष्ट्रपतिको त्यो काम होइन । राष्ट्रपति यस्ता कामहरूबाट अलग बस्नुपर्छ । उहाँ देशको राष्ट्रपति हो, पार्टीको मात्र राष्ट्रपति होइन । पहिलो कुरा संवैधानिक मान्यतामा उहाँ अडिएर रहनुपर्छ । दोस्रो कुरा अब के गर्ने भन्ने कुरा एकले अर्को प्रत्यक्ष रूपम दिएर दिने कुरा पनि होइन, लिने कुरा पनि होइन । त्यो कमिटी बैठकको मामिला हो । कमिटीमा आइसकेपछि कहिले महाधिवेशन गर्ने, कसलाई अध्यक्ष बनाउने, यो सबै कमिटीको मामिला हो । कमिटीले गर्ने कुरा हो ।

प्रधानमन्त्रीले एउटा निर्णय गर्नुभयो, प्रचण्डलाई एकल अधिकार दिने । सबै अधिकार दिने हो अध्यक्षको लागि ?
त्यो त ठीकै छ । हामी त्यो बैठकमा छलफल गरौँला । के गर्ने भनेर त्यहाँबाट फैसला गर्नुप¥यो । २ जना अध्यक्षले प्रस्ताव ल्याउनुप¥यो । यसलाई कमिटीमा पास गर्नुपर्छ ।

तपाईको पार्टीभित्र फेरि पनि बहस सुरु भएको छ । प्रचण्डलाई अध्यक्ष बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादलाई लिएर जानुपर्छ । यसको विकल्प छैन । यसलाई आत्मसात् गर्नुपर्छ भनेर भन्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई अध्यक्ष बनाउने, जनवादलाई अगाडि बढाउने भन्ने कुरा होइन । उहाँ आफ्नो ठाउँमा बस्नुपर्छ । पार्टीको कमिटीले संस्थागत निर्णय गर्ने हो । महाधिवेशनमा हामी छलफल र बहस गर्छौँ । के सिद्धान्त, रणनीतिलाई अगाडि बढाउने भन्ने विषयमा महाधिवेशनमा छलफल गर्छौँ । महाधिवेशन नहुँदासम्म केन्द्रिय कमिटी छ । केन्द्रिय कमिटी सर्वेसर्वा छ । केन्द्रिय कमिटीले सबै निर्णय गर्न सक्ने अधिकार छ ।

केन्द्रिय समितिले के.पी. शर्मा ओलीलाई अध्यक्षबाट हटाउने सक्दैन । महाधिवेशनमै जानुपर्ला ?

आवश्यक प¥यो भने नहटाउन पनि सक्छ । आवश्यक प¥यो भने फेरबदल पनि गर्नसक्छ । पहिला दर्ताखेरि पार्टीमा उपाध्यक्षको व्यवस्था थिएन । अहिले केन्द्रिय कमिटीको बैठकले उपाध्यक्षको व्यवस्था गरेको छ । विधानलाई संशोधन गरिएको छ । केन्द्रिय कमिटी हाम्रो सर्वोच्च संस्था हो । त्यस संस्थामा बैठक बसेर निर्णय संस्थाले गर्छ । स्थायी समितिले प्रस्ताव अगाडि ल्याउँछ । त्यो कुरा हामीले स्थायी पबmष्तीमा उठाइरहेका छौँ । स्थायी कमिटीमा बैठकलाई सुचारु राख्नुपर्छ ।

तपाईहरूले आजको दिनमा देशलाई बन्धक बनाउँदै हुनुहुन्छ ? धेरै समस्या देशमा, जनता पीडामा छन्, नेताहरू झगडामा हुनुहुन्छ ।

यो पार्टीको आन्तरिक विषय हो । जनताको लागि गर्नुपर्ने कामहरू भईपनि रहेका छन् । ती कुरालाई पनि हामीले बैठकमा राखिरहेका छौँ । पार्टीको बैठक भनेको खाली पार्टीको आफ्नो मात्र कुरा होइन । आमजनताको कुरालाई उठाएर अब कसरी अगाडि बढ्ने भन्ने कुरामा योजना बनाएर अगाडि बढ्नुपर्छ ।

हरेक निकायमा पछिल्लो समयमा बहसको केन्द्रविन्दु बनेको छ । सर्वोच्च अदालत, नेपाली सेना कुरा गर्दा प्रधानन्यायाधीशै बेञ्चले रञ्जन कोइरालालाई रिहा गरिदियो । अहिले आएर सडकमा पनि प्रदर्शन भइरहेको छ । किन छुट गरियो, गलत गरियो भनेर ?

एउटा गलत कुरा देशमा के देखा परेको छ भन्दाखेरि राष्ट्रपतिको विषयमा पनि व्यापक रूपमा चर्चा छ समाजमा, हामी देख्छौँ, सुन्छौँ । सर्वोच्च अदालतको फैसलामा पनि यत्रो जुलुस नै निक्लेको छ । सरकारकै बारेमा विवादहरू आइरहेका छन् । त्यसैले हामीले यस्ता कुराहरूलाई समाधान गर्नमा लाग्नुपर्छ । जुन स्थिति देखा पर्दैछ, त्यो एकदम नराम्रो र गम्भीर स्थिति हो । त्यसको बारेमा पनि हामीले बैठकमा छलफल गर्नुपर्छ । संविधानबाट हरेक पार्टी, व्यक्ति चल्नुपर्ने परिपाटी स्थापित गर्नुपर्छ । यो अत्यन्तै गम्भीर विषय छ । यस बारेमा पनि छलफल गरेर निष्कर्षमा पुग्न जरुरी छ ।

चितवनको राष्ट्रिय निकुञ्जको बारेमा पनि तपाईलाई थाहा छ होला, त्यहाँ एक जनालाई कुटेर हत्या गरियो ?
यी तमाम समस्याहरू आइरहेको छ । यस्ता समस्याहरूलाई कसरी हल गर्नुपर्ने हो, त्यसको लागि प्रधानमन्त्रीको तर्फबाट के भूमिका खेल्नुपर्ने हो, सरकारले के भूमिका खेल्नुपर्ने हो, पार्टीले कस्तो भूमिका खेल्नुपर्ने हो, यी जम्मै अराजकता देखा पर्दैछ, त्यसलाई लिकमा ल्याउनका लागि हामीले सोच्नुपर्छ । यी सबै समस्याको बारेमा गम्भीर रूपमा छलफल गर्नुपर्छ ।

राजकुमार चेपाङलाई जसरी मारियो नि, खोइ तपाईको प्रतिक्रिया ?

छानविन र कारबाही हुनुप¥यो । त्यसरी सेनाले पिट्न पाइन्छ, एउटा नागरिकलाई ? त्यसरी मार्ने कुरा गम्भीर विषय हो । सेनाले छानविन गरिरहेको पनि होला । त्यसलाई छिटै टुंग्याउनुपर्छ, न्याय पाउनुपर्छ । मृतकको परिवार र आफन्तहरूले न्याय पाउनुपर्छ । कसैमाथि त्यस किसिमको अन्याय हुनुहुँदैन । यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।

आज पद र शक्तिको लागि तपाईहरू लडाँइ, झगडा गरिरहनुभएको छ, पार्टीमा ?

हामीले जानेसम्म कोही पैसा र पदको लागि लडेका छैनौँ । हामीलाई पद र पैसा चाहिएको छैन । पार्टी र सरकार ठिक ढंगले चल्नुप¥यो । जनताका बीचमा सरकार लोकप्रिय हुनुप¥यो । पार्टी व्यवस्थित रूपले अगाडि बढ्नुप¥यो ।

शक्ति संघर्ष अगाडि बढ्यो नि त पार्टीभित्र ?

अहिले भद्रगोल भईरहेको छ । यसलाई सिस्टममा अगाडि बढाउनुप¥यो । अनिर्णयको बन्दी भईरहेको छ, पार्टी, यसरी हुँदैन ।
तपाईहरूले स्थायी समितिको बैठक बसेर छलफल गर्नुपथ्र्यो तर नेताहरू घरघरमा बसेर छलफल गर्छन्, खुमलटारमा, वालुवाटारमा, भैसेंपार्टीमा छलफल हुन्छ, तपाईको पार्टीभित्रको आन्तरिक द्वन्द्वको कुरा ? खोइ त स्थायी समितिको बैठकमा छलफल हुन सकेको ?
छलफल धेरै ठाउँमा धेरै भइसक्यो । अब संस्थागत् रूपमा पनि आउनुपर्छ । कमिटीको बैठक स्थगित गर्ने होइन, अब सुचारु गर्नुपर्छ । एजेण्डा तय भएको छ । त्यही विधिमा बसेर विधिवत् रूपमा बैठक गर्नुपर्छ । बैठकले एउटा निर्णय गर्नुपर्छ । केन्द्रिय कमिटीमा बहुमतको आधारमा जानुपर्छ । सबै कुराको टुंगो लगाउनुपर्छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले दुवै पद छोड्नुहुन्न भन्ने जनमत छ, पार्टीभित्र ?

स्थायी समितिको बैठकमा सारा कार्यकर्ताको जनमत के छ, ती सबै कुरा त हामी त्यहाँ छलफल गर्छौँ । पार्टीले टुंगो लगाएपछि सबैले मान्नुपर्छ । यो पार्टीको आन्तरिक कुरा हो, यो कसैले भनेर हुने कुरा पनि होइन ।

प्रधानमन्त्रीले भनिसक्नुभएको छ, मैले अहिलेको अवस्थामा कुनै पद छोड्दिन ।

उहाँले आफ्नो कुरा र हामीले हाम्रो कुरा बैठकमा राख्छौँ, त्यसपछि के कुरा उचित हुन्छ, हामी त्यो गर्र्छौँँ ।

प्रचण्डले भन्नुभयो–पार्टी फुटाउन प्रधानमन्त्री लाग्नुभएको छ ? नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचनमा कसले दर्ता गरायो भनेर ?

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको कुरा दुनियाँलाई थाहा छ । त्यसमा प्रधानमन्त्रीको हात छ, छैन, सबै छलफल गर्नुपर्छ । स्थायी समितिको बैठकमा यसबारेमा छलफल चल्दाखेरि एउटा प्रमाण छ, छानविन कमिटीको बैठकमा केहीले भन्नुभएको छ । प्रमाणको बारेमा पनि बैठकले टुंगाले लगाउनुप¥यो । यदि हो भने उहाँप्रति गम्भीर प्रश्न उठ्छ । उहाँ आफै दुईतिहाइ बहुमतको प्रधानमन्त्री हुनुहुन्छ अनि आफै एमालेको दर्ता गराउन लागेको हो कि होइन भन्ने कुरा गम्भीर विषय हो ।

जनविश्वास तपाईहरू गुमाउँदै हुनुहुन्छ । जनताले भन्न थालिसके नि ? किन यस्तो अवस्था आयो त ?

यस्तै गरिरहने हो भने जनमत गुम्छ । यही तरिकाले रडाँको मच्चाउँदै जाने, पार्टी सञ्चालन ठीकसँग नगर्ने भयो भनेदेखि जनमत गुम्छ । त्यही भएर यस सन्दर्भमा आत्मसमीक्षा गर्न जरुरी छ । हामीले कहाँनिर के त्रुटि भएको छ, त्यसबारे छलफल गर्नुपर्छ ।

तपाईहरूले रणनीति बनाउनुस्, नेपाल कम्युनिष्ट पार्टी कसरी अगाडि बढ्छ ? जनतालाई आश्वस्त पार्नुस्, पार्टी फुट्दैन भनेर ?

कुनैपनि पार्टी संस्थागत रूपमा चल्नुप¥यो । संस्थागत रूपमा नचलेर व्यक्तिगत रूपमा सञ्चालन गर्दाखेरि यो सबै समस्या सिर्जना भएको हो । मूल जरो भनेको मैले एक्लै देश चलाउन सक्छु, एक्लै पार्टी हाँक्न सक्छु, मलाई कमिटी र बैठक नै चाहिन्न भन्ने खालको जुन सोच विकास भएको छ, त्यो असाध्यै खतरनाक कुरा हो । त्यसकारण संस्थागत निर्णय अनुसार जानुप¥यो । त्यसपछि पार्टी ठिक ठाउँमा आउँछ ।

त्यसोभए अब १३ गते स्थायी समितिको बैठक बस्छ ?

कुनै पनि हालतमा बस्नुपर्छ । त्यसरी बैठक सारिरहने हुँदैन ।

१ महिना भईसक्यो स्थायी कमिटी बैठक सुरु भएको, तर बैठक सरेको सरैछ ?

अब बैठक सार्ने काम नगर्नुस्, एजेण्डा तय भएको छ । एजेण्डाबाट टुंग्याइदिऊँ । एउटा निर्णय गरौँ । केन्द्रिय कमिटीको बैठक कहिले बस्ने हो, त्यो पनि स्थायी कमिटीबाट निर्णय गरौँ । केन्द्रिय कमिटीले निर्णय गरेपछि सबै कुरा टुंगो लाग्छ । सबैले त्यो कुरालाई स्वीकारेर अगाडि जानुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्