Logo

रञ्जन कोइरालाजस्तो अपराधीलाई कुनैपनि हालतमा छुट दिनुहुँदैन् : उमा रेग्मी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद तथा नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले रञ्जन कोइराला प्रकरणमा कुनैपनि हालतमा कोइरालालाई छुट दिन नहुने धारणा राखेका छिन् । कोइरालाले आवेशमा नभई योजनाअनुसार नै श्रीमतीको हत्या गरेको उनको दाबी छ । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलाले रेग्मीसँग कुरा गरेका छन् । प्रस्तुत छ रेग्मीसँगको कुराकानीको सम्पादित अंश :

रञ्जन कोइराला प्रकरणमा महिला संघको दृष्टिकोण के हो ? अदालतले एउटा निर्णय गरिसक्यो । फेरि पनि अर्को निर्णय भईसक्यो पुनरावलोकन गर्ने भनेर । तपाईहरू कता हुनुहुन्छ ?

पुनरावलोकन गर्ने पक्षमा नै हो । त्यस्तो अपराधीलाई कुनैपनि हालतमा छुट दिनुहुँदैन । नाबालकहरू छन्, त्यो आवेशमा आएकै होइन, प्लानिङअनुसार गरेको हो ।

पुनरावलोकन भएको छ । सर्वोच्चका ३ जना न्यायाधीशले हिजो महत्वपूर्ण निर्णय गरिसकेपछि उनीहरूले भनिसके ?

न्यायालयले गलत निर्णय दिन थाल्यो भने जनताले कसरी चैन पाउँछन् ? सानालाई ऐन, ठुलालाई चैन भन्ने अवस्था आएको छ । सारा न्यायालयप्रति नै प्रश्नचिह्नहरू खडा भएको छ । सही निर्णय हुनुपर्दछ र रञ्जन कोइरालालाई आजीवन कारावास हुनुपर्दछ । यो हाम्रो माग हो । तर सरकारले सुन्दै सुनेन । सरकार पनि यस्तो छ, कुनै मुद्दा आजै पुनरावलोकन हुन लागेको छ, तर निर्मलाको न्याय दिनै सकेन । रुकुममा घटना घट्यो, दलितहरूले न्याय पाउने अवस्था छैन । त्यसको न्याय हुने अवस्था छैन । सरकार ढाकछोप गर्ने अवस्थामा लागेका छन् । पैसाको गन्ध आयो भने केशलाई ढाकछोप गरिदिने, ठुलाको केश आयो भने ढाकछोप गरिदिने कुरामा सरकार लागेको छ । निर्मलाको विषयमा हामीले देशभरिबाट एकैदिनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका थियौँ । देशभरि आन्दोलन पनि गरेका थियौँ । अहिलेसम्म निर्मलाको दोषी पत्ता नलाग्ने यो कस्तो देश हो ? त्यसैले यो पनि सरकारले लुकाएको केश हो । म ठोकेर नै भन्न सक्छु, यो सरकारले लुकाएको केश हो ।



प्रतिक्रिया दिनुहोस्