Logo

बैंकहरूको ब्याजदर घट्दो, कुन बैंकको कति (सुचीसहित)



पछिल्लो समय वाणिज्य बैंकहरूले कर्जा र निक्षेप दुबैको ब्याजदर घटाएका छन्। धेरैजसो बैंकहरूले साउनको कर्जा र निक्षेपको ब्याजदर सार्वजानिक गरिसकेका छन् तर केहि बैंकहरुले भने साउनदेखि लागु हुने नयाँ ब्याज सार्वजानिक गरेका छैनन्। उनीहरु पनि नयाँ ब्याजदर सार्वजानिक गर्ने क्रममा छन्।

साउन लागेयता नयाँ ब्याजदर सार्वजानिक गरेका अधिकांश बैंकहरुको साधारण बचतमा तीनदेखि पाँच प्रतिशत ब्याज दिने जनाएका छन्। त्यस्तै, बैंकहरुले मुद्दती निक्षेपमा ७.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। केही बैंकले ८ प्रतिशतभन्दा धेरै र केहिले ७ प्रतिशत मात्रै ब्याजदर दिने जनाएको छ।

लकडाउन अघिसम्ममा बैंकहरुले साधारण बचतमा चारदेखि साढे छ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए भने मुद्दतीमा ९.२५ प्रतिशत ब्याजदर दिँदै आएका थिए। लकडाउनका कारण बैंकहरुको कर्जा लगानी ठप्प भएपछि बैंकहरुमा तरलता थुप्रिएको छ। यता केन्द्रीय बैंकले पनि मौद्रिक उपकरणको प्रयोग गरी बैंकहरुमा तरलता थपिदिएको छ। जसले गर्दा बैंकहरुले कर्जा लगानी बढाउन ब्याजदर घटाएका हुन्।

२७ वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकले मात्र साउनमा नयाँ ब्याजदर सार्वजानिक गरेका छैनन्। जसमा सानिमा बैंक, सेञ्चुरी बैंक, एनआइसी एशिया बैंक, प्राइम बैंक, प्रभु बैंक, नबिल बैंक, कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी बैंकहरुले गत असार र जेठ महीनामा नयाँ ब्याजदर सार्वजानिक गरेका थिए। उनीहरुले न्यून ब्याजमा कर्जा दिने नयाँ नयाँ योजना भने सार्वजानिक गरिरहेका छन्।

त्यस्तै साउनमा नयाँ ब्याजदर सार्वजानिक गर्ने अधिकांश बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरी ब्याजदर सार्वजानिक गरेका छन्। असार मसान्तसम्मको आधार दर सार्वजानिक गरेका बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकको आधारदर सबैभन्दा कम रहेको छ। असार मसान्तसम्ममा बैंकको आधार दर ६.०७ प्रतिशत रहेको छ जसमा बैंकले एक देखि ३.२५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने जनाएको छ। बैंकले सबैखाले कर्जा एकल अंकमा नै प्रवाह गर्न थालिसकेको देखिएको छ। त्यस्तै, अर्को सरकारी बैंक, नेपाल बैंकले पनि असार मसान्तसम्ममा ७.३२ प्रतिशत आधार दर कायम गरेको छ। जसमा बैंकले ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने जनाएको छ।

मेरो लगानीबाट

 



प्रतिक्रिया दिनुहोस्