Logo

अख्तियारको आयुक्तमा दौडधुप



काठमाडौं, १३ साउन । केही सातायता प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट बाक्लिएको छ । नेकपाभित्र विवाद बढीरहेका बेला कतिपयले गठबन्धनका लागि यस्तो भेटघाट भएको आँकलन गरेपनि संवैधानिक निकायहरुमा भागबन्डाका लागि ओली र देउवाबीचको भेटघाट बढेको बालुवाटार स्रोत बताउँछ ।

प्रमुख प्रतिपक्षीको सहमतिबिना संवैधानिक निकायहरुमा नियुक्ति हुन नसक्ने भएकाले ओली र देउवा निरन्तर छलफलमा छन् । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा सबैको चासोमा छ । आयोगमा असोजपछि प्रमुख आयुक्त पद रिक्त हुँदैछ । जसमा पूर्व गृहसचिव प्रेम कुमार राईलाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ । तर, नेकपाकै केही नेताहरु उनलाई रोक्ने खेलमा छन् । बालुवाटार जग्गा प्रकरण बाहिर आएकाले त्यसबाट क्षति भागेको समूह उनलाई रोक्न दौडधुपमा लागेको छ ।

राईको सट्टा हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रमुख आयुक्त बनाउनुपर्ने भन्दै नेकपाकै नेताहरुले प्रधानमन्त्री ओलीलाई दबाब दिएका छन् । रेग्मीले जे भने त्यही मान्ने र देउवाको पनि विश्वासपात्र भएकाले उनलाई बनाउन चलखेल भइरहेको स्रोत बताउँछ ।

आफुलाई अख्तियारमा नियुक्त गरिए तत्काल राजिनामा दिने रेग्मीले बताएको बालुवाटार स्रोतको भनाइ छ । तर, उनी जस्ता कुनै क्षमता र अडान नभएका व्यक्तिलाई नियुक्त गरिए अख्तियार पंगु बन्ने निश्चित छ ।

उता अख्तियारको आयुक्तहरुमा पनि चर्काे चलखेल छ । नेपाली कांग्रेसले आयुक्तको एक कोटा पाउने निश्चित भएकाले आर्थिक चलखेल भइरहेको स्रोत बताउँछ । जसमा पूर्व सहसचिव गणेश कार्की, पूर्व एआईजी जयबहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मी लगायत छन् । पछिल्लो समय रेग्मीले कांग्रेस नेताहरुमाथि देउवालाई दबाब दिइरहेको स्रोत बताउँछ ।

असोजपछि थप एक पद रिक्त हुने भएकोमा नेकपाकै सिफारिसमा अख्तियारमा आयुक्त बन्न चाहनेको संख्या पनि एकदर्जन छ । जसमा पूर्व सचिवदेखि पूर्व प्रहरी प्रमुखहरुसम्म दौडधुपमा लागेका छन् ।

अन्य संवैधानिक आयोग र अख्तियारका आयुक्तको बरियता एउटै हो । अहिले यस्ता ३९ पद रिक्त छन् । तर, अख्तियारमै नियुक्तिका लागि यसरी चर्काे चलखेल हुनुले त्यहाँभित्र कति भ्रष्टाचार छ भन्ने प्रष्ट भएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्