नेकपा विवादः मौकामा चौका हान्न खोज्दै बामदेव


काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद पेचिलो बन्दै गर्दा आज उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई फुटबाट जोगाउने भन्दै छ बुँदे प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिए । प्रस्तावमा ओलीलाई पुरा कार्यकाल प्रधानमन्त्री बन्न दिएर अर्ली महाधिवेशनसम्म पनि अध्यक्षबाट नहटाउने बुँदा छ । जुन ओलीको पक्षमा देखिन्छ । गौतम ओलीलाई राजीनामा माग्ने प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको पक्षमा देखिदै आएको आज फरक तरिकाले प्रस्तुत भए ।

सहमतिको नयाँ प्रस्ताव प्रस्तुत गरेपनि गौतम ओली पक्षको अनुपस्थितिमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भए । उनी बायाँतर्फ सबैभन्दा छेउमा रहेको तस्बिर सार्वजनिक भएको छ । गौतमले बैठकमा एकताका लागि आफूले प्रस्तुत गरेको छ बुँदे प्रस्ताव समेत उल्लेख गरे ।

आखिर किन बामदेव ओलीलाई सरकारबाट नहटाउने प्रस्तावसहित अर्ली महाधिवेशनको पक्षमा देखिए ? यो आफैमा गम्भीर विषय हुनसक्छ ।

नेकपाको भावी अध्यक्षका दाबेदारमध्येका गौतमलाई विगतमा नेकपा एमाले फुटाएको दाग लागेको छ । यसपटक उनले पार्टी फुट्न नदिने पक्षमा आफूलाई सशक्त रुपमा प्रस्तुत गरेका छन् । पछिल्लो प्रस्ताव पनि उनी विगतमा लागेको दाग मेटाउने र आफूलाई कम्युनिस्ट एकताको पक्षधरका रुपमा प्रस्तुत गर्ने देखिन्छ । नेकपा एकीकरणमा पनि उनको महत्वपूर्ण भुमिका थियो ।

गौतम जनताको बहुदलीय जनवादको पक्षधर मानिन्छन् । नेकपाभित्र जबज पक्षधर र विपक्षीबीच वैचारिक लडाईं अगाडि बढ्ने संकेतहरु देखिदै गएको छ । उनी ओलीको समर्थनमा अगाडि बढ्ने सम्भावना समेत देखेका छन् । त्यस्तो आश्वासन ओलीले पटक पटक दिइरहेका छन् । तर, उनी ओलीबाट सबैभन्दा बढी धोका पाएको नेता हुन् ।

पार्टी विभाजन हुँदा गौतम ओलीबाट पेलिएका थिए । विगतमा कारबाहीमा पर्दा पनि ओलीनै प्रस्तावक थिए । तत्कालिन नेकपा एमालेको महाधिवेशनमा बामदेवले ओलीलाई समर्थन गरेरै अध्यक्षमा जित हासिल गरे । तर, संसदीय चुनावमा ओलीका खास मान्छेहरुबाट अन्तर्घात हुँदा पराजित भएको चर्चा अझै चल्ने गरेको छ । यति हुँदा हुँदै पनि पूर्व एमालेको नाताले गौतम ओलीबाट धेरै टाढिन सकिरहेका छैनन् ।

गौतमले आफ्नो ठानेका घनश्याम भुषाल र योगेश भट्टराईलगायतका नेताहरु मन्त्री छन् । उनीहरु ओलीविरुद्ध कडा रुपमा जान नहुने पक्षमा छन् । यसले पनि गौतममाथि दबाब सृजना भइरहेको छ ।

ओली हटिहाले आफू प्रधानमन्त्री बन्न पाउने अवस्था नभएकाले पनि गौतम गम्भीरताका साथ ओलीविरुद्ध लागेका छैनन् । बरु उनका लागि आलटाल गर्दै ओलीलाई पुरा कार्यकाल प्रधानमन्त्री बन्न दिएर उनकै समर्थन र सहयोगमा पार्टी नेतृत्व हात पार्ने अवसर बन्न सक्ने अवस्था कायमै छ । तर, ओलीबाट पटक पटक धोका पाएकाले गौतमको त्यो आशा निराशामा परिणत हुनसक्ने सम्भावना बिलयो छ ।