Logo

धानबालीमा खोला पसेपछि बगर, किसानलाई राहतको आवश्यकता(तस्विर)



साउन १३, तनहुँ । अघिल्लो साता आएको अविरल वर्षाले देशैभर बाढी पहिरो गयो । विपत्तिमा परेर सयौँले ज्यान गुमाएका छन् भने घरबार गुमाउनेहरु अझै विचल्लिमा परेका छन् ।

त्यसैगरी कृषि क्षेत्रमा पनि बाढी पहिरोले धेरै क्षति पुर्याएको छ । खोला तथा नदीहरुमा पानीको बहाब बढ्दा छेउछाउका खेतमा बाढी पसेर खेति बगाएको छ ।
बाढी खेतमा पस्दा यतिबेला धान खेत नष्ट गरेको छ । त्यसको एक उदाहरण बनेको छ तनहुँको बन्दिपुर गाउँपालिकाभित्रका खेतहरु ।

गाउँपालिकाको वडा नम्बर १ मा पर्ने उपल्लोफाँटका खेतहरु यतिबेला बगरमा परिणत भएका छन् । त्यस क्षेत्रको करिब ६० रोपनी खेत बगरमा परिणत भएको स्थानीय कृष्ण पन्तले जानकारी दिए । खोलाले धार परिवर्तन गरेर अधिकांश खेतमा बाढी पसेको थियो ।

त्यही खेत जोगाउन युवाहरु सक्रिय भएका छन् । खेतमा खोला पस्नुका साथै सिंचाइका लागि बनाइएका कुलाहरुको बाँध भत्किएका थिए । करिब १५ वटा कुलाहरुको बाँध भत्किदा खेतहरुमा सिंचाइ हुन नसकेको अर्का युवा सुदिप पोख्रेलले जानकारी दिए ।

युवाहरुको सक्रियतामा ति बाँधहरु निर्माण गरेर सिंचाइएको व्यवस्था गरिएको पन्तले जानकारी दिए । तर खेतमा खोला पसेर बगर बनेपछि केही किसानहरु चिन्तामा छन् । “बाँध बनाएर सिंचाइको व्यवस्था त गरियो, खेत नै बगरमा परिणत भएका किसानहरु मर्कामा परेका छन् । उनीहरुलाई राहत दिनुपर्छ ।” पन्तले भने ।

यस वर्षको धान बाली नष्ट भएपछि किसानहरु पनि राहतको माग गरिरहेका छन् । खेतमा पसेका खोलालाई पुरानै स्थानमा फर्काउन सफल भए पनि धानबाली भने नस्ट भइसकेकाले किसानहरुले राहतको आश गरेको पोख्रेलले जानकारी दिए । (तस्विरहरु : कृष्ण पन्त, उपल्लोफाँट, तनहुँ)



प्रतिक्रिया दिनुहोस्