Logo

कोरियन एयरको चार्टर्ड विमानबाट सन्दीप टोबागो जाने



काठमाडौँ, १४ साउन। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् ।अन्तर्राष्ट्रिय हवाई उडान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो । तर, नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यहाँ जाने निश्चित भएको हो ।

कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । “बिहीबार उड्ने पक्कापक्की छ, अब कुनै द्विविधा छैन”, सिवाकोटीले भने । सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि सन्दीप टोबागो जान सहज भएको उनले बताए । टोबागो उड्नुअघि उनले मङ्गलबार पिसिआर परीक्षण गराएका छन् । सन्दीपले सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षणका लागि दिएका छन् । परीक्षणको नतिजा आज आउने व्यवस्थापक शिवाकोटीले बताए ।

क्यारेबियन जानका लागि सन्दीपले लामो समयदेखि त्यसको व्यवस्था गर्न प्रयास गरिरहेका थिए । शिवाकोटीले यो काम सम्भव पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।यस्तै दोस्रोपटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले ६ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि उनलाई एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ ।-Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्