Logo

सुर्यबहादुर थापाको अपमान गर्ने कुमारबहादुरले सुर्यबहादुरकै विरासत थाम्ने दाबी गरेपछि…



काठामाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर सुनिलबहादुर थापा नेपाली काँग्रेसमा केन्द्रीय नेताहरुसहित प्रवेश गरे । गृहजिल्ला धनकुटाको कार्यसमिति नै काँग्रेसमा प्रवेश गराए । तर, राप्रपा धनकुटाको हर्ताकर्ता दाबी गर्दै एकाएक चर्चामा आए थापा खलकका कुमारबहादुर थापा । उनले पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको बिरासत थाम्ने कुरा पनि गरे । तर, केलाउँदै जाँदा उनी ढाँट छलमा माहिर रहेको तथ्य फेला परेको छ ।

कुमार थापा धनकुटाको थापा परिवारकै भएपनि उनको विवादास्पद कार्यले सुर्यबहादुर थापासँग सम्बन्ध बिग्रदा जीवनको अन्तिम समयमा पनि बोलचाल भएन । आफ्नो अपमान गरेको भन्दै सुर्यबहादुरले मन नपराएका र बोलचाल नै बन्द गरेको व्यक्तिले उनको विरासत थाप्ने कुरा गरेको सुन्दा अहिले धनकुटावासी नै आश्चर्यचकित भएका छन् । उनले सुर्यबहादुरको अपमान गर्ने विवादास्पद काम समेत गरेको पत्ता लागेको छ । त्यो विवाद सरकारी निकायसम्म समेत पुगेको छ ।

राप्रपामा भएपनि उनी पार्टी परिवर्तनको प्रयासमा लागेका थिए । हिन्दु राष्ट्र र राजसंस्थाको विरोधी थिए । उनी शुरुमा नेपाली काँग्रेस प्रवेश गर्न खोजे । तर, काँग्रेसले उनको हैसियत बुझेर वेवास्ता गरिदियो । त्यसपछि उनी नेकपामा प्रवेश गर्न खोजे । नेकपाले उनी प्रवेश गरेर कुनै फाइदा नपुग्ने देखेर बेवास्ता गरिदियो । त्यसपछि कुमार राप्रपामै मौका ढुकेर बसे ।

कुमार थापाले १० चैत्र २०७५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तमा हुँदा नै राजीनामा बुझाएका थिए । राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीको एकीकरण पश्चात् केन्द्रीय सदस्या मनोनित भएपनि काम गर्न असमर्थ भएको भन्दै राजीनामा पेश गरेका थिए । तर, कुमार थापाले अहिले धनकुटा राप्रपाको आफूलाई हर्ताकर्ता देखाएर सुर्यबहादुर थापाको विरासत थाम्ने आफू नै हुँ भनी प्रस्तुत गर्दा राप्रपाभित्रै हाँसोको विषय बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्