Logo

‘ओलीको सनक’ ले पार्टी फुट्ला भनेर कदम चालेको बामदेवको जवाफ



काठमाडौं, १४ साउन ।  भैंसेपाटीस्थित निवासमा हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग बामदेव गौतम डिनरसहित बसेपछि नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ राजनीतिक माहाले तयार भएको छ । बामदेव ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट नहटाउने पक्षमा स्पष्ट उभिए । जुन ओलीको चाहना मुताबिक नै देखिन्थ्यो । तर, बामदेवको यो कदम उनी निकटस्थलाई नै मन परेन ।

आज एक हुल दोस्रो पुस्ताका नेताहरु बामदेवलाई निवासमै भेट्न पुगे । उनीहरुले गौतमलाई रयाखरयाख्ती पारे । हक्की स्वभावका गौतमलाई भन्नुसम्म भने । जतिबेला पनि ओलीले धोका दिने तर उनैलाई बोक्न सम्म भने । यसरी गौतमसँग कडा मिजासले बोल्नेमा ठाकुर गैरे, रविन कोइराला, रामकुमारी झाँक्री, डा. दिपकप्रकाश भट्ट, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायत थिए । उनीहरु गौतमलाई साथ दिदै आएकामध्येका हुन् ।

पब्लिकले के भनिरहेका छन् समेत भनिदिए नेताहरुले । हिजो राष्ट्रघात गर्नेहरु आज राष्ट्रवादी बनिरहेको भन्दै ओलीतर्फ संकेत गरे । तर, गौतमले निरन्तर राष्ट्रवादी धार समातेर बढ्दा पनि ओझेलमा पारिएको सुनाए । गौतममाथि ओलीले लोभ देखाइरहेको भन्ने सन्देश गएको सम्म भने । तर, गौतम मान्न तयार भएनन् । कोही मुर्ख त कोही महामुर्ख भइरहँदा पार्टी जोगाउन सहमति बनाउन खोजेको दाबी गरे । उनले पार्टी फुटाउने पक्षधरसँग नजाने स्पष्ट पारे । ओलीको सनकले पार्टी फुट्ला भनेर पछिल्लो कदम चालेको स्पष्ट पार्न खोजे ।

गौतमले विगतमा पटक पटक गल्ती गरेकोमा पश्चाताप भइरहेको समेत सुनाए । ओलीलाई पार्टी अध्यक्ष बनाउने देखि प्रधानमन्त्री बनाउन सम्म सहयोग गर्दा गल्ती भएको सम्म भन्न भ्याए । तर, ओलीले आफूलाई चुनाव हराएर धोका दिएको भन्न छाडेनन् । यति हुँदा हुँदै पनि पार्टी फुट्न नदिन आफूले सहमतिको प्रस्ताव तयार गरेको सुनाए ।

सम्झाउन गएका नेताहरु बामदेवको कुरा सुनेर कन्भिन्स भए न त बामदेव नै कन्भिन्स भए । युवाहरुले बामदेवलाई ढुलमुल गरेको भन्दै साथ कसरी दिने ? भनी प्रश्न गरे । बामदेवले पनि जे होला भोगौंला भनिदिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्