Logo

१५ किलो सुनकाण्डः प्रहरीको अप्रेशन टोलीमाथि नै अनुसन्धान



काठमाडौं, १६ साउन । कमलादीमा भनी बरामद सुन वास्तवमा अन्तै भेटिएको रहेछ । खोज्दै जाँदा सुनकाण्डले नयाँ तथ्यहरु उजागर गर्दै लगेको छ । यसले १५ किलो सुनकाण्डको अप्रेसनमा खटिएको टोलीमाथि नै अनुसन्धान सोज्जिएको छ । अप्रेसन टोलीले माथिको कुन कुन निकायलाई यसबारे ब्रिफिङ गरेर आदेश लिएको थियो त्यसबारे पनि अनुसन्धान केन्द्रित हुने बुझिएको छ ।

१५ किलो सुन त बरामद भयो तर साँढे १४ किलो नक्कली भेटियो । आधा किलो मात्र सक्कली भेटियो । सुन अभियुक्तहरुले फालेर भागेको भनियो । सुनकाण्डमा प्रयोग भएको स्कर्पियो गाडी नखिपोटमा बन्दै गरेको घरमा फेला पर्यो । अभियुक्तहरु चाहिं हिजो नवलपरासीमा भेटिए । घटनाले नाटकीय मोड लिदै जाँदा सुन बरामद गर्न खटिएका प्रहरी जवान प्रसन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नारायणस्थानस्थित उनको डेराबाट उक्त सुन बरामद गरेको हो । सुन अप्रेसनका कमाण्डर डिएसपी रञ्जन दाहाल थिए । उनीहरुको माथिल्लो निकायमा काठमाडौं प्रहरी परिसरका एसएसपी श्याम ज्ञवाली थिए ।

अहिले सुनकाण्डको अनुसन्धान अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ । एसएसपी दिपक थापा महाशाखाका कमाण्डर छन् । घटनालगत्तै दरबारमार्गका डिएसपी दाहाल तानिएका छन् । अप्रेसनमा खटिएका जवान श्रेष्ठमाथि अनुसन्धान शुरु भएको छ ।

सुनकाण्डमा संलग्न भनिएको देवानसिंह पटेल, मिदेश सकिया र सञ्जल पटेल माथि अनुसन्धान भइरहेको छ । चेकजाँचका क्रममा रोक्दा अभियुक्तहरुले मंगलबार गाडी कुदाएको भनिएको छ । अभियुक्तले सुन, दुई थान पेस्तोल फालेर भागेको विषय बाहिर आएको थियो । तर, यसले आशंकाहरु बढाइदिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्