Logo

ओलीले टारे सत्ता संकट, नेकपा स्थायी कमिटी बस्नेमा अन्यौल



काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकप्रति अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरेका छन् । उनले स्थायी कमिटीमा आफ्ना विरोधीहरुलाई व्यङ्ग्य समेत गर्दै आएका छन् । यसअघिको बसेको बैठकमा ओली अनुपस्थित भए ।

स्थायी कमिटीबाट भन्दा सचिवालयबाट विवादको समाधान खोज्ने ओलीको तयारी छ । उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूप्रति लचिलो बनेपछि ओली उत्साही छन् । दुईजना आफ्नो पक्षमा थपिएपछि उनको पल्लाभारी हुनेछ ।

ओलीले स्थायी कमिटी बेवास्ता गरेपछि केन्द्रीय कमिटीमा रहेकाहरुले बैठक डाक्न हस्ताक्षर संकलन गरी निवेदन दिएका छन् । बैठक बोलाउन माग गर्ने केन्द्रीय सदस्यहरुमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर छन् । विधान अनुसार २५ प्रतिशतभन्दा बढीले बैठक डाक्न निवेदन दिए एक महिनाभित्र डाक्नुपर्नेछ । अबको २५ दिनमा बैठक डाक्नुपर्ने हुन्छ । बरु केन्द्रीय कमिटि बैठक भदौको आधा आधीमा बस्ने अवस्था बन्न सक्छ । तर, स्थायी कमिटी बैठक नबस्ने निश्चितप्रायः छ ।

स्थायी कमिटीमा बहुमत सदस्य ओलीको राजीनामाका पक्षधर छन् । त्यसैले पनि ओलीले त्यसलाई टार्दै आएका छन् । बामदेवले छ बुँदे सहमतिको प्रस्ताव राखेपछि ओली उत्साही भएका हुन् । उक्त बुँदामा बामदेको यु टर्न स्पष्ट देखिन्छ । गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा ओलीलाई यथावगत राख्ने विषय उल्लेख गरेका छन् । प्रचण्डलाई सम्पूर्ण अधिकारसहितको कार्यकारी अध्यक्षको विषय राखेका छन् ।

यसरी ओलीले तत्काल संकट टारेर विरोधीलाई गलाएको विश्लेषण भइरहेको छ । ओलीको यो चलाखीले प्रचण्ड भने गम्भीर भएका छन् । आफ्नो पक्षका स्थायी कमिटी सदस्यहरुले गुट छाडेकोमा प्रचण्ड चिन्तित भएका छन् । माधव नेपाल समुहका केही स्थायी कमिटी सदस्यहरुले पनि गुट छाडेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्