Logo

काठमाडौंमा संक्रमणको जोखिम बढ्यो, अलिक समय नाकाहरु बन्दै गर्नुपर्छ : डा. पाण्डे



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौंमा पर्सा, बाराका मानिसहरुबाट कोरोनाको संक्रमण फैलिएकोजस्तो आफूहरुको विश्लेषण रहेको सुनाउँदै अलिक समयसम्म काठमाडौं उपत्यका भित्रिने नाकाहरु बन्दै गर्नुपर्ने बताएका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कोरोना संक्रमणको जोखिम बढेकोले सबैले सतर्कता अपनाउनुपर्ने पनि बताएका छन् । प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौँमा कोरोना संक्रमणको महामारी फैलिएको हो ?

एकदमै स्थिति त जटिलतातिर उन्मुख हुँदैछ । सुरक्षित तरिकाले आफ्नो ठाउँमा राख्ने कामहरू भएको छ । तर यसमा मन्त्रालय, स्थानीय सरकार, नागरिक समाज सबै सचेत हुनुपर्छ । अहिले आएको हाम्रो रिपोर्ट अनुसार काठमाडौँमा पर्सा, बाराका मानिसहरूबाट संक्रमण फैलिएको देखिन्छ । अलि समयसम्म नाकाहरूलाई बन्दै गर्नुपर्छ ।

अब मुख्य शहरहरूमा फेरि लकडाउनको आवश्यकता छ भनेर भनेका छन् । तपाईको के भन्नुहुन्छ ?

लकडाउन गर्ने/नगर्ने भन्ने हाम्रो जिम्मेवारीमा पर्दैन । हाम्रो काम त काठमाडौँको अवस्था के छ, भन्ने हाम्रो कुरा हो । काठमाडौँ आफैंमा संक्रमण भएर व्यापक भएको होइन । हाम्रो मन्त्रालय र अरू मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँग हाम्रो समन्वय हुन्छ । अलिक समय बन्द पनि गर्नुपर्ने अवस्था हुनसक्छ, संक्रमण बढ्दै गयो भने ।

अब अभावहरू देखिन थाल्यो, हरेक ठाउँमा अस्पतालहरू, डाक्टरहरूको अभाव ? वीरगञ्जमा महामारी फैलिएको कुरा आएको छ ?

समस्या त संसारभरि छ । समस्यालाई मिलाउँदै जानुपर्छ । वीरगञ्जमा धेरै केशहरू छन् । त्यहाँ अस्पताल, बेडहरूको अलिकति कमी भएको हो । त्यसलाई मिलाउन अर्को अस्पताल वैकल्पिक रूपमा व्यवस्थित गरिएको छ । हाम्रो संघीय अस्पताल नारायणी अस्पताल मात्र हो भने अरू अस्पतालहरूलाई मिलाएर पनि हुन्छ । अरू ठाउँमा कहाँ कति विरामीहरू हुनसक्छ, हाम्रो तथ्यांकअनुसार लगभग ३९००० व्यक्तिहरू हुन सक्छन् । तीमध्ये ५ प्रतिशतलाई अलि गम्भीर खालको हुनसक्छ । आई.सी.यु. मा राख्नुपर्ने हुनसक्छ भन्ने हिसाब गरेर त्यही अनुसारको बेडहरू हामीसँग छ । संक्रमण मात्र छ, तर लक्षण छैन भने त स्वास्थ्यकर्मीको कडा निगरानीमा उहाँहरूलाई घरमा राखेर पनि हामीले सेवा पु¥याउनुपर्ने हुनसक्छ ।

वीरगञ्ज महानगरपालिकाको मेयर विजयकुमार सरवागीलाई पनि कोरोना भएको हो ? संक्रमणको सम्भावना बढेको हो ?

मैले पनि त्यो कुरा सुनेको छु । हामी कन्फर्म गर्छौँ । उहाँ सामाजिक कार्यकर्ता हो । उहाँ क्वारेन्टाइनमा जानुभयो होला । संक्रमणको जोखिम त छ । त्यो भयो भन्ने मैले पनि सुनेको छु । अब लकडाउन खुल्यो, समस्या छैन भन्ने हिसाबले जुन व्यक्तिहरूले लिनुभएको छ, त्यसरी लिनुभएन । यसले ठुलो व्यक्ति मेयरदेखि लिएर हाई–रेन्जको व्यक्तिदेखि लिएर सानो व्यक्तिसम्म कसैलाई पनि छोड्दैन । तराइ, पहाड, हिमाल यो ठाउँ यस्तो उस्तो भन्ने छैन । यो जहाँसुकै पनि पुग्न सक्छ । त्यसकारण सर्तकता बढाउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्