Logo

जर्ज बनार्ड साले भोजमा पुगी आफ्नै लुगामा खानाको परिकार दलेपछि…



प्रसिद्ध लेखक जर्ज बनार्ड सालाई एक महिलाले रात्रिभोजमा निम्तो गरिन् । उनी प्रायः लेखनमा निकै व्यस्त हुन्थे । व्यस्तताका बाबजुद उनले ती महिलाको अनुरोध अस्वीकार गर्न सकेनन् । भोजको दिन हतार हतार काम सिध्याएर महिलाकहाँ पुगे । सा आएको देखेर ती महिला निकै खुशी भइन् । उनले साको स्वागत पनि गरिन् । तर, एकैछिनमा खिन्न भइन् । कारण थियो साले लगाएको निकै सामान्य कपडा ।

सा कपडामा खासै ध्यान दिदैनथिए । उनको काममा ध्यान जान्थ्यो । कपडा फेर्न पनि भ्याएका थिएनन् । उनको समान्य पहिरन देखेपछि ती महिलाले सालाई घर गएर राम्रो कपडा लगाएर आउन अनुरोध गरिन् । साले पनि घर गए । एकैछिनमा उनी निकै महँगा पोसाकमा भोज स्थलमा आए । महिला निकै खुशी भइन् । एकैछिनमा भोज सुरु भयो । मानिसहरु स्वादिष्ठ व्यञ्जनको स्वाद लिन थाले । सा भने भोजको परिकार जम्मा गरेर आफ्ना महंगा पोसाकमा दल्न थाले । उनी भन्दै थिए, ‘ल आज मनग्गे खाओ मेरा लुगा हो । आजको यो निम्तो मलाई र तिमीहरुलाई आएका हो ।संकोच नमानी पेटभरी खाओ । ’

उनी लुगामा खाना, तरकारी, अचार, मासु, आइसक्रिम, दहि सबै दल्न थाले । उनको यस्तो हर्कत देख्दा भोजमा निम्तालु अचम्ममा परे । सबैले एक स्वरमा उनलाई प्रश्न गरे, ‘तपाई यो सब किन गरिरहनुभएको छ रु’ उनले गम्भीर हुँदै उत्तर दिए, ‘आज यहाँ मलाई होइन, मेरा लुगालाई निमन्त्रणा गरिएको हो । त्यसैले म आफ्ना यी महँगा कपडालाई भोज खुवाईरहेको छु ।

साको कुरा सुनेपछि भोजस्थलमा उपस्थित मानिसहरुले केहि बोल्न सकेनन् । उनलाई भोजमा बोलाउने महिला लज्जित भइन् । उनको अनुहार न्याउरो भयो । उनले जीवनमा आफुले निकै ठुलो गल्ती गरेको महसुस गरिन् । साथै, व्यक्तिको मुल्यांकन कपडाले होइन, उसको क्षमताले गर्नुपर्दो रहेछ भन्ने पनि बुझिन् । त्यसैले मानिस पोशाकले होइन विचारले महान हुन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्