Logo

आयल निगमलाई तेलमा घाटा, मुल्य वृद्धिको तयारी



काठमाडौं, १७ साउन । नेपाल आयल निगमले गएको १५ दिनमा पेट्रोल र डिजेलमा घाटा व्यहोरेको छ । निगमका अनुसार १५ दिनमा पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेलमा झण्डै एक रुपैयाँ घाटा व्यहोरेको छ ।

निगमले १५ दिनमा करोडौं घाटा व्यहोरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य वृद्धि भइरहँदा निगमले पुरानै मूल्यमा विक्रीवितरण गर्दा घाटा व्यहोरेको हो ।

प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको निगमले आज साँझसम्ममा मुल्य वृद्धि गर्ने बुझिएको छ । पेट्रोलमा कम्तिमा तीन रुपैयाँ र डिजेलमा कम्तिमा एक रुपैयाँ मुल्य वृद्धि हुने तयारी भएको छ ।

निगमले मट्टीतेल, एलपी ग्याँस र हवाई इन्धनमा भने नाफा गरिरहेको छ । हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ छ । डिजेल र मट्टीतेलको मुल्य समान ८८ रुपैयाँ छ

नेपाल र भारतको सीमामा पनि तेलको मूल्यमा निकै भिन्नता छ । रक्सौलमा पेट्रोल प्रति लिटर १३३.५८ नेपाली रुपैयाँ छ भने वीरगञ्जमा १००.५० रुपैयाँ छ । डिजेलको मुल्य रक्सौलमा १२४.४७ र वीरगञ्जमा ८६.५० छ । रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल ३३.०८ र डिजेल ३७.९७ रुपैयाँले सस्तो छ । यसकारण नेपालबाट भारततर्फ तेलको तस्करी समस्या बनेको छ ।



प्रतिक्रिया दिनुहोस्