Logo

धेरै संक्रमण देखियो भने लकडाउनभन्दा पनि ‘शिल्ड’ नै गर्नुपर्ने हुन्छ : मन्त्री त्रिपाठी



संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण बढि देखिएका ठाउँमा लकडाउन गरिने र धेरै नै संक्रमण देखियो भने ती ठाउँहरु शिल्ड गरिने स्पष्ट पारेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । प्रस्तुत छ मन्त्री त्रिपाठीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको नेतृत्वमा रहेको स्वतन्त्र राजनीतिक समुहले अहिले के गर्दैछ ?

स्वतन्त्र राजनीतिक समुह नागरिकता तथा विधेयकको विषयमा, बाढी/पहिरो र किसानको समस्याको विषयमा व्यापक छलफल गर्दैछ । अहिले त सक्रियता कोरोनाले गर्दाखेरि मात्र आवातजावत बन्द भएकाले बसेका थियौँ त अहिले यसको सक्रियता बढाउनुपर्ने आवश्यकता देखियो । अहिले नेकपा र नेपाली कांग्र्ेसभित्रको जुन आन्तरिक द्वन्द्व छ, अप्राकृतिक रूपले जनता समाजवादी पार्टीको एकीकरण भएको छ, ती सबै विषयमा अब नयाँ ढंगले सोच्नुपर्छ । फेरि कोरोनाको अर्को लहर सुरु भएको हुनाले हाम्रो आन्तरिक तयारी वृहत रूपले अगाडि बढ्दैछ । भदौको पहिलो तथा दोस्रो हप्ता व्यापक छलफल गर्नेगरि एउटा वृहत भेला गर्दैछौँ ।

स्वतन्त्र राजनीतिक समुह नेपाल कम्युनिष्ट पार्टीमा विलय हुने हो कि भन्ने चर्चा पनि छ नि ? तपाई किन नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश नगरीकन अहिले राजनीतिक समुहलाई सक्रिय बनाउँदै हुनुहुन्छ ? के कारणले ?

नेपाल कम्युनिष्ट पार्टीमा विलय र सदस्यता लिने भन्ने कुराहरू बेला-बेलामा चर्चाहरू आउने र कहिलेकाही छलफल पनि हुने भएकाले वैचारिकताको अभाव छ । स्वतन्त्र राजनीतिक समुह अगाडि बढ्दै कुनै समय राजनीतिक दलको रूपमा पनि उभिन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

त्यसो भए स्वतन्त्र राजनीतिक समूह राजनीतिक दलको रूपमा पनि जानसक्छ ? तपाईहरू दल खोलेर राजनीति गर्ने तयारीमा हो ?

जबसम्म मधेशको समस्या समाधान भएको मानिदैँन तबसम्म देशको समस्या समाधान भएको मानिदैँन । त्यसैले हामी मधेशक्षेत्रीय दलको रूपमा आउन सक्छौँ । हामीले मूल्याकंन गरेर नै यसलाई अगाडि बढाउन खोजेको हो । राजनीतिक दलको सही रूपले सोच पनि अगाडि बढ्न सकेको छैन । चाहे त्यो नेपाली कांग्रेस होस्, जनता समाजवादी पार्टी, ऊ त अहिले पनि अन्यौलमा नै छ, वैचारिक, सांगठनिक धरातलमा ऊ पनि अप्ठ्यारोमा नै छ । २ नम्बर प्रदेशमा सीमित साथीहरूको बीचमा नै ऊ रमाउन खोजिरहेको छ । सबै प्रयोजनले गर्दाखेरि स्वतन्त्र राजनीतिक दल गठन भएको हो, त्यो प्रयोजनले कतातिर इन्डिकेट गर्छ भने यसको संरचनात्मक विधि अगाडि बढाउँदै आवश्यकता प¥यो भने राजनीतिक दलको रूपमा आफुलाई उपस्थित गराउन पनि सक्छ । अहिले भएका जति पनि राजनीतिक दल छन्, तिनका वैचारिक, सांगठनिक कारणले कुनै दलमा विलय हुने अवस्था छैन ।

निर्वाचनमा प्रस्ट रूपमा तपाईले सूर्य चिन्ह लिएर खडा हुनुभयो । नेपाल कम्युनिष्ट पार्टी पछि गठन भयो । त्यतिखेर तपाई एमालेसँग निकट हुनुभएको थियो नि ?

हामी एउटा वाम गठनबन्धनको हिस्साको रूपमा नेकपा माओवादीसँग २ बुँदे सम्झौता भयो । वैचारिक रूपले हाम्रो पटक–पटक कुराहरू भएका हुन्, नभएका होइनन् । तर त्यो कुरामा मात्र सीमित रह्यो । स्वतन्त्र राजनीतिक समुहले अंगीकार गरेको विचारले स्वतन्त्र राजनीतिक समुह बन्न पुग्यो । त्यो सैद्धान्तिक र वैचारिक आधारले गर्दाखेरि हामी नेकपाभित्र विलय हुने अवस्था रहेन । अहिले उहाँहरू २ जना मिलेर नै यो एकीकरण भयो । जुन एकीकरण भयो, नेकपा एमाले र नेकपा माओवादीको बीचमा, अहिले आन्तरिक प्रश्नहरू उठिरहेका छन् । यसले अहिले के देखाइरहेको छ भने उहाँहरूको वैचारिकभन्दा पनि पदीय भागबण्डामा केन्द्रित भएको छ । हामीले यसको अनुमान गरेर नै एकीकरणको पक्षमा रहेनौँ । हामी स्वतन्त्र राजनीतिक समुह स्वतन्त्र रूपले अगाडि बढ्छौँ ।

त्यसो भए कुनै पनि पोलिटिकल पार्टीमा विलय हुने सम्भावना छैन, स्वतन्त्र राजनीतिक समुहको ?

स्वतन्त्र राजनीतिक समुह एकीकरणसम्म सम्भावनाको विषय हो । तर अहिले कुनैपनि राजनीतिक दलसँग एकीकरण गर्नेमा स्वतन्त्र राजनीतिक समुह तयार छैन ।

अहिले नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीमा विवाद छ । विवादको जड के होला ?

मलाई के लाग्यो भन्दा वैयक्तिक विवाद नै हो, सैद्धान्तिक विवाद त होइन । सैद्धान्तिक विवाद धेरै कममा हुन्छ । कुनै मोडमा सैद्धान्तिक विवाद पनि गर्छन् तर अहिले देखिएको मोडमा सबै वैयक्तिक विवादहरू नै देखिएका छन् । नेकपाभित्र पनि कसको वर्चस्वमा जाने, प्रधानमन्त्री, पार्टी अध्यक्षको विषयलाई लिएर बढि विवाद देखिन्छ । त्यो पदकै कुरामा बढी आफुलाई सीमित गराएको छ । अरू पार्टीको मैले बढी विश्लेषण किन गरेको छैन भने मलाई परिसकेपछि विश्लेषण गरौँला । आफ्नै पार्टीको बाढीपहिरोमा सबै राजनीतिक दल र नेतारु लिप्त छन् । त्यसैले स्वतन्त्र राजनीतिक समुहले यी सबै विषयमा छलफल गर्न सक्नुपर्छ । नेपाली कांग्रेस पनि आफै विवादको संघारमा फसेको छ । नेता कार्यकर्तालाई कारबाही गरेकोबाट त्यहाँ पनि एक किसिमको कम्पन आएको छ ।

कोरोना महामारीको रूपमा जाँदैछ । समुदायमा गयो कोरोना भन्ने छ नि ? अब सरकारले कसरी नियन्त्रण गर्छ ?

सरकारले पहिलेदेखि नै गम्भीर भएर नै लकडाउन गरेको हो । हामीसँग जम्मा एउटा ल्याब थियो, त्यो ल्याब अहिले २२÷२३ ओटा पुगिसक्यो । सरकारले मास्क लगाएर हिँड्न जनतालाई भनेको छ । कोरोनामा समाज नै सचेत भएर लड्न सक्छ । कोरोनामाथि विजय नै प्राप्त गरिसक्यौँ भनेर हामी हिडिरहेका छौँ । तर कोरोना अज्ञात छ र अहिले पनि विश्व नै आक्रान्त छ । अहिले पनि यसको सही उपचार नभएको अवस्थामा सरकारले टेस्टहरू बढाएको छ । जम्मा एउटा प्रयोगशाला रहेछ, कोरोनाको बेलामा सरकारकै पहलमा धेरै प्रयोगशालाहरू बनेका छन् ।

पछिल्लो समय के भनेका छन् भने जनतालाई मास्क नलगाए जरिवाना गर्ने, शुक्रबार मात्रै १००० जनालाई कारबाही गरियो । तर ठुलाबडाहरूले पनि र नेताहरूले नै मास्क नलगाएको धेरै उदाहरण देखियो नि ?

मास्क त सबैले लगाएको पाउँछु म । सबै बैठकहरूमा सबै नेताहरूले मास्क लगाएका छन् । जे सर्तकता, सचेतता अपनाउनुपर्ने हो, त्यो अपनाएको अवस्था छ । कोरोनामा सचेत भएर फेरि यही बीचमा बाढीपहिरोले आक्रान्त बनाएको हुँदा त्यसले गर्दा सुरक्षाकर्मीमा पनि यो देखियो । कतिपय जनप्रतिनिधिहरू आफै पनि शिकार भए, कोरोनाको । पछिल्लो समयमा भन्ने हो भने वीरगञ्जका मेयरमा पनि कोरोना पोजिटिभ देखियो । असाध्यै खट्ने, दौडिने काम उहाँले पनि गर्नुभयो । कतिपय जनप्रतिनिधिहरू सुदूरपश्चिमका त धेरै संक्रमित नै भएको अवस्था हो । त्यसैले जनप्रतिनिधिहरूले पनि आफ्नो दायित्वहरू पूरा गरे । तर अवस्था के छ भने अहिले पनि हामीले सचेतता अपनाएनौँ भने अप्ठ्यारो अवस्थामा यसले पु¥याउन सक्छ भन्ने सरकारले निर्णय गरेर क्याबिनेट, सि.सि.एम.सि. ले पनि सचेतताको लागि भनिरहेका छन् ।

काठमाडौँमा लकडाउनको निरन्तरता, लकडाउन लगाउने सम्भावना कति छ ?

लकडाउन सरकारको इच्छाभन्दा पनि आवश्यकता परेको खण्डमा जहाँ बढी संक्रमित देखिन्छ, त्यहाँ शिल्ड नै गर्नेसम्म पनि सरकारको सोच पहिलेदेखि नै हो । धेरै संक्रमण देखियो भने लकडाउनभन्दा पनि शिल्ड नै गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्