Logo

अब सरकारले गौंडा ढुक्नुपर्ने बेला आयो, परीक्षणको दायरा बढाउनुपर्छ : डा. मरासिनी



काठमाडौं, १७ साउन ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गरे । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको उनले खतरा औंल्याए । प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ अर्थात लेभल ४ मा पुगेको पनि उनले टिप्पणी गरे ।

सरकारले कोरोना समूदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महशुस गराउन नसकेको पनि उनको गुनासो छ । उनले भने,‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्नेथिए ।’
उनले कोरोनाबाट बच्ने उपायमा मुख्य कुरा भनेको मानवीय व्यवहार नै रहेको सुनाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘मानवीय व्यवहार नै मुख्य कुरा हो । अर्को भनेको सर्भेलियन्स नै हो । निगरानी बढाउने । परीक्षणको दायरा बढाउनुपर्छ ।’ सरकारले लकडाउन खुकुलो बनाएपछि परीक्षणको दायरा बढाउनुपर्नेथियो भन्ने उनको भनाई छ ।

उनले दैनिक १२ हजारदेखि १५ हजारसम्म पिसिआर परीक्षण गरिनुपर्ने बताए । उनले नेपालम अस्पतालमा बेडको कमि रहेको पनि सुनाए । उनले भने,‘सरकारले बेड बढाउनेतिर ध्यान दिनुपर्नेथियो । हरेक हेल्थपोष्टमा कम्तिमा २५ बेड थप्नुपर्छ ।’ उनले अब सरकारले गौंडा ढुक्नुपर्र्ने बेला आएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्